बबईको मूल नहर निर्माण तीव्र

कान्तिपुर संवाददाता

बर्दिया — तीन दशकअघिबाट निर्माण सुरु गरिएको बबई सिंचाइ आयोजनाको काम अघि बढेको छ । समयभित्रै सम्पन्न गर्ने गरी राष्ट्रिय गौरवको बबई सिंचाइ आयोजनाअन्तर्गत पश्चिम मूल नहरको कामले गति लिएको हो । गुलरिया नगरपालिका–१ को खैरापुरसम्म नहर निर्माण सुरु भएको छ । ३४ किलोमिटरको पूर्वी मूल नहर २८ वर्षपछि गत वर्ष सम्पन्न भएको थियो ।

डेढ दशकदेखि सुरु भएको पश्चिम मूलनहरको २८ किमि सम्पन्न भएको छ । बाँकी काम अहिले अघि बढेको हो । आयोजनाको भौतिक प्रगति करिब ५७ प्रतिशत मात्र छ । निर्माण सुरु भएको आयोजना करिब ३३ वर्ष पुगे पनि कामले तीव्रता पाएको थिएन ।

बबई मूल नहरको हेडबक्स परेवा ओडारदेखि पश्चिम मूल नहर गुलरिया रत्नापुरसम्मको लम्बाइ ४२ किमि छ । आर्थिक वर्ष ०८१/०८२ सम्म पश्चिमी मूल नहर सम्पन्न गर्न जग्गाधनीलाई मुआब्जा दिन थालिएको आयोजनाले जनाएको छ । नहर निर्माण हुन थालेपछि सिंचाइ सुविधाको आशामा किसान खुसी भएको गुलरिया नगरपालिकाको मथुराहरिद्वारका किसान दीपक चौधरीले बताए ।

‘नहर आउने भन्दै किसान खुसी छन्,’ उनले भने, ‘वर्षौंदेखि आकाशे पानीको भरमा रहेका किसान नहर बन्ने भएपछि अन्नबाली बढी उत्पादन हुनेमा विश्वस्त बनेका हुन् ।’ प्रथम चरणमा पूर्वतर्फको २१ हजार हेक्टर र पश्चिमतर्फ १५ हजार हेक्टर जमिनमा सिंचाइ पुर्‍याउने योजनाको लक्ष्य छ ।

प्रकाशित : चैत्र १६, २०७८ १३:४८
प्रतिक्रिया
पठाउनुहोस्

कांग्रेसको चुनाव परिचालन समितिले काम थाल्यो

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिले आगामी निर्वाचनलाई लक्षित गर्दै काम सुरु गरेको छ । मंगलबार सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले स्थानीय चुनावका लागि उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा केन्द्रीय चुनाव परिचालन समिति गठन गरेको थियो ।

समितिका संयोजक एवम् पार्टी उपसभापति खड्काले बुधबार नै सो समितिको बैठक बोलाएका छन् । एक नेताका अनुसार अहिले उपसभापति खड्काले सभापतिबाहेक केन्द्रीय कार्यसमितिका पदाधिकारीहरू र पार्टीका प्रदेश सभापतिहरूसँग छलफल गर्दैछन् ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलले उपसभापति खड्काले केन्द्रीय समितिका पदाधिकारी र प्रदेश सभापतिका सभापतिहरुसँग चुनावकै तयारीका विषयमा छलफल गर्न बैठक बोलाएको जानकारी दिए ।

‘आसन्न चुनावमा पार्टीलाई कसरी परिचालित गर्ने भन्नेबारे छलफल गर्न बैठक बोलाइएको हो । पार्टीका सभापतिबाहेक पदाधिकारीज्यूहरू र प्रदेश सभापतिहरू सहभागी हुनुहुन्छ,’ उनले भने । कांग्रेसले देशव्यापी रुपमा एकमहिने चुनावी अभियान सञ्चालन गरिरहेको छ भने ७५३ वटै स्थानीय तहमा चुनावी गतिविधिलाई तीव्र बनाएको छ ।

कांग्रेस केन्द्रीय समिति बैठकमा ७७ वटै जिल्लामा खटिएका केन्द्रीय प्रतिनिधिहरूले धारणा राखेका थिए । कांग्रेसले आसन्न निर्वाचनमा स्थानीय आवश्यकता र अवस्थाका आधारमा चुनावी तालमेल गर्ने निर्णय गरेको छ ।

प्रकाशित : चैत्र १६, २०७८ १३:४१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×