१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

आपसमै जुधेर बाघ मर्दै

कमल पन्थी

बर्दिया — मधुवन नगरपालिका–६ स्थित जनजागृति र ग्रामीण महिला सामुदायिक वन शनिबार निकै अशान्त थियो । पाटे बाघ कराएको आवाज नजिकै गाउँमा समेत सुनिएको थियो । बबई नदीसँग जोडिएको सामुदायिक वनमा बाघ कराएको सुनेपछि सर्वसाधारण त्रासले गन्तव्यसम्म पुग्न हस्याङफस्याङमा थिए ।

आपसमै जुधेर बाघ मर्दै

मधुवन हुँदै बारबर्दिया नगरपालिकासम्म पुग्ने सडक खण्ड यसै सामुदायिक वनभित्र पर्छ । वयस्क बाघ आपसमा निकै समय जुधेको अनुमान वनका कर्मचारीको छ । सामुदायिक वनको करिब एक किमि क्षेत्र बाघ लड्दा झाडी पूरै मडारिएको थियो । एउटा बाघ मारिएको थाहा पाउनासाथ जिल्ला वनका प्रतिनिधि र सुरक्षाकर्मीको टोली पुगेका थिए । घटनास्थल रगताम्य भएकाले निकै समयसम्म बाघ आपसमा लडेको जिल्ला वन अधिकृत प्रवीण बिडारीले बताए । उनले भने, ‘बाघको संख्या बढ्दै जानु र क्षेत्रफल कम हुँदै गएकाले पनि यस्ता घटना हुन सक्छन् ।’

बर्दियामा एक सातायता दुईवटा बाघ आपसमा लडेर मरेका छन् । दुईवटै बाघ बर्दिया राष्ट्रिय निकुञ्जबाहिर सामुदायिक वनभित्र लडेर मरेका हुन् । मरेका बाघको मुख, पेटमा पन्जाले हिर्काएका खत भेटिएका छन् । आन्द्रासमेत क्षतविच्छत भएको छ । निकुञ्जनजिकको सामुदायिक वनमा बस्दै आएको बाघ र अन्यत्रबाट आएको नयाँ बाघबीच भिडन्त भएको हुन सक्ने अनुमान छ । निकुञ्जका पूर्वप्रमुख संरक्षण अधिकृत रमेशकुमार थापाले स्थायी रूपमा बस्दै आएको बाघले नयाँ बाघ देख्नासाथ आक्रमण गर्ने गरेको बताउँछन् । ‘बूढो वा कमजोर भएको बाघ आक्रमणमा मारिने गर्छ,’ उनले भने । निकुञ्ज र आसपासका सामुदायिक वनमा बाघको संख्या बढ्दै गएको छ । बढ्दै गएका बाघ नयाँ ठाउँ खोज्दै विभिन्न सामुदायिक वनमा प्रवेश गर्न थालेका छन् । बाघ विशेषज्ञ एवं राष्ट्रिय प्रकृति संरक्षण कोष कार्यक्रम व्यवस्थापनका प्रमुख डा. चिरञ्जीवी पोखरेलले बाघले आफ्नो क्षेत्रमा अरु बाघलाई प्रवेश गर्न नदिने र पसेको पाएमा आक्रमण गर्ने बताए । ‘बासस्थान साँघुरो र आहाराका कारण पनि बाघ आपसमा जुध्ने गर्छन्,’ उनले भने ।

निकुञ्जसँग जोडिएको सामुदायिक वनमा अहिले प्रशस्त बाघ देखिन थालेका छन् । विशेष गरी खाता जैविक मार्ग, गेरुवा गाउँपालिकाको सामुदायिक वन बाघको बासस्थान बन्दै आएको छ । केही समयअघि मधुवन नगरपालिका–२ स्थित जनजागृति सामुदायिक वनमा मृत अवस्थामा पाटे बाघ फेला परेको थियो । उक्त बाघ पनि आपसमा लडेर मरेको अनुमान वनका कर्मचारीको छ । उक्त बाघ भाले हो वा पोथी पहिचान हुन सकेको छैन । यस क्षेत्रमा बाघसहित डमरु भएको खाता रेन्जपोस्टका सहायक वन अधिकृत सन्तोष चौधरीले बताए । स्थानीय संरक्षणकर्मीका अनुसार बच्चा हुर्काउन थालेको पोथी बाघले असुरक्षा महसुस गरी उक्त बाघलाई मारेको आशंका गरिएको छ ।

खाता जैविक मार्गमा करिब दुई दर्जन बाघ बर्दिया निकुञ्ज र भारतीय सीमा कतरनियाघाट वन्यजन्तु संरक्षण केन्द्रमा आउजाउ गर्ने गरेको सहायक वन अधिकृत चौधरी बताउँछन् । बाघको विचरण गर्ने क्षेत्रफल औसत २५ वर्ग किमि रहेको छ । बर्दिया निकुञ्जमा बाघ डुल्ने र घुम्ने क्षेत्रफल कम भएका कारण बेलाबेलामा बाहिर निस्कने गरेको राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रमुख डा. रविन कडरियाले बताए । बाहिर निस्केर सामुदायिक वनमा पस्ने बाघ र रैथाने बाघ आपसमा जुध्ने गरेको उनले जनाए ।

चार वर्षअघि बाघ गणना हुँदा बर्दिया राष्ट्रिय निकुञ्जमा ८७ वटा बाघ रहेका थिए । हालै भएको गणनामा यसको संख्या सय नाघेको छ । तीन वर्षयता बाघले २२ जना सर्वसाधारणको ज्यान लिइसकेको छ । यी घटना ९८ प्रतिशत निकुञ्जबाहिर भएका छन् । खाता जैविक मार्गमा मात्रै यस अवधिमा सात जनाको बाघको आक्रमणमा ज्यान गइसकेको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ । डिभिजन वन कार्यालयले सामुदायिक वनमा जाँदा सावधानी अपनाएर जान आग्रह गरेको छ ।

दुई वर्षको अवधिमा तीनवटा बाघ आपसमा लडेर मरेको पाइएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले सामुदायिक वनमा यस वर्ष मात्रै २ र गत वर्ष निकुञ्जभित्र १ बाघको आपसमा लडेर मृत्यु भएको बताए । ‘बाघ जुध्ने क्रममा जो बलियो हुन्छ, उसैले पहिले आक्रमण गर्ने गरेको पाइएको छ,’ उनले भने ।

प्रकाशित : चैत्र १५, २०७८ १०:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?