भएन हात्तीपाइले नियन्त्रण

ठाकुरसिंह थारू

नेपालगन्ज — बाँकेमा हात्तीपाइले रोगविरुद्धको अभियान चलिरहँदा नेपालगन्ज उपमहानगरपालिकामा निकै कम संख्याले त्यस रोगविरुद्धको औषधि प्रयोग गरेका छन् । जसका कारण हात्तीपाइले रोग नियन्त्रणमा चुनौती थपिदै गएको छ । तर, बाँकेबासी भने उक्त रोगको उच्च जोखिममा रहेका छन् । स्वास्थ्य कार्यालयको अभिलेख अनुसार बाँकेका ५ मध्ये १ व्यक्तिमा हात्तीपाइलेका जीवाणु पाइएको छ । हाल जारी रहेको अभियानका क्रममा नेपालगन्ज उपमहानगरपालिकामा २० प्रतिशतले मात्रै औषधि सेवन गरेका छन् । अन्य पालिकामा भने ६० प्रतिशत बढीले औषधि लिएका छन् ।

हात्तीपाइले रोग नियन्त्रणका लागि वर्षमा एकपल्ट र लगातार ६ वर्षसम्म सेवन गरे रोग नियन्त्रणमा सहज हुने विश्वास गरिएको थियो । तर, मुलुकमै हात्तीपाइले रोग संक्रमणको पाँचौं उच्च जोखिममा रहेको बाँकेमा सन् २०११ बाट रोग नियन्त्रणका लागि औषधि खुवाउने अभियान सुरु गरिएको थियो । सन् २०१६ सम्म उक्त रोगको संक्रमण एक प्रतिशतभन्दा कममा झार्ने लक्ष्य थियो । तर, औषधि प्रयोग निकै कमले गरेपछि हात्तीपाइलेविरुद्धको अभियान सफल हुन सकेको छैन । बाँकेमा २ हजार बढी हात्तीपाइलेको संक्रमणमा छन् । जिल्लाको कुल जनसंख्याको ठूलो हिस्सा उक्त रोगको जोखिम छ ।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेकी कीटजन्य रोग निरीक्षक दुर्गा गौतमले नेपालगन्ज उपमहानगरपालिकामा निकै कमले औषधि सेवन गरेका कारण अभियान सफल हुन नसकेको बताइन् । ‘यस वर्ष पनि औषधि प्रयोग गर्नेको संख्या बढ्न सकेको छैन । तर, अभियानलाई निरन्तरता दिइरहेका छौं,’ उनले भनिन् ।

हात्तीपाइले रोगविरुद्वको औषधि खाएपछि देखिने सामान्य नकारात्मक प्रभावबारे बढी प्रचार हुँदा कम व्यक्तिले औषधि प्रयोग गरेको बताइन्छ । सन् २०१२ मा गर्मी महिनामा सञ्चालन गरिएको औषधि सेवन अभियानमा केही व्यक्तिको मृत्यु र डेढ सय बढी बिरामी परेको समाचारका कारण धेरैले औषधि प्रयोग गर्न नमानेका हुन् । तर, गत वर्ष चिसो महिनामा उक्त अभियान सञ्चालन गर्दा नकारात्मक प्रभाव नदेखिएपछि औषधि प्रयोग गर्नेको संख्या बढेको थियो । स्वास्थ्य कार्यालयले फागुन २८ बाट हात्तीपाइले रोगविरुद्धको औषधि सेवन गराउने अभियान सञ्चालन गरेको छ ।

पहिले नै अरू रोगबाट प्रभावित भएका व्यक्तिले हात्तीपाइलेविरुद्धको औषधि सेवन गर्दा स्वास्थ्यमा समस्या देखिँदा सबै दोष त्यसैलाई दिने गरेको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धीरजंग शाहले बताए । उनका अनुसार दीर्घरोगी, छारेरोगी, क्यान्सर, मुटु, कलेजो, मिर्गौला, फोक्सोका रोगी, दुई वर्षमुनि र कडा कुपोषण भएका पाँच वर्षमुनिका बालबालिकालाई यो औषधि सेवन गराउन हुँदैन । त्यस्तै, केही व्यक्तिलाई औषधि सेवन गरेपछि बान्ता हुने, रिंगटा लाग्ने र ज्वरो आउनेजस्ता समस्या देखिनु सामान्य रहेको स्वास्थ्यकर्मी बताउँछन् । जिल्लाका साढे पाँच लाख बढीलाई हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने लक्ष्य छ ।

लामखुट्टेबाट सर्ने हात्तीपाइले रोग नियन्त्रणका लागि शतप्रतिशतले औषधि प्रयोग गर्नुपर्छ । एक प्रतिशतभन्दा कम व्यक्तिमा उक्त रोगको संक्रमण पाइए अभियान सफल मानिन्छ र विश्व स्वास्थ्य संगठनले हात्तीपाइले मुक्त जिल्ला घोषणा गर्छ । तर, जिल्लामा औषधि प्रयोग गर्न नमान्दा अभियान प्रभावित हुँदै आएको छ ।

प्रकाशित : चैत्र १०, २०७८ १०:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?