१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०
लुम्बिनीको सामर्थ्य

होटल हब

लुम्बिनी, आध्यात्मिक धाम, वन, नदी र हिमालको संगमस्थल छानेर मुख्य सहरमा आधुनिक सुविधायुक्त होटल निर्माणको लहर

काठमाडौँ — प्रकृतिले लुम्बिनी प्रदेशलाई नै एउटा ‘अतिथि गृह’ बनाएको छ । यहाँ समथर ६ र पहाडी ६ जिल्ला छन् । तराईमा बुद्ध र वनको संगम छ । पहाडमा आध्यात्मिक धाम र रुकुम पूर्वमा सिस्ने हिमाल छ । सीमावर्ती जिल्लामा विदेशी पर्यटक भित्रिने स्थल नाका छन् । यहाँबाट मुलुकका ठूला सहर हवाई माध्यमबाट जोडिएका छन् । घुमफिर र अध्ययनका लागि ठूला निकुञ्ज र पहाडमा हिल स्टेसन छन् ।

होटल हब

संघीय राजधानीबाहिर भैरहवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि यहाँका सहरको सम्पर्क विदेशमा कायम हुनेछ । यहाँको लुम्बिनीमा प्रत्येक वर्ष १७/१८ लाख पाहुना आउँछन् । पछिल्लो समय संख्या बढ्दै गएको छ । बर्दिया निकुञ्ज सफारी पर्यटनका लागि स्थापित छ । तराईमा गर्मी हुँदा पहाडका ‘हिल स्टेसन’ चम्किन्छन् । यिनै सम्भावनाका कारण प्रदेशका सीमावर्ती जिल्लामा तारे होटल सञ्चालनको होड चलेको छ । पहाडमा रैथाने विशेषता समेटिएका रिसोर्टमा लगानी गर्ने बढेका छन् । बुद्ध जन्मस्थल लुम्बिनी, आध्यात्मिक धाम, वन, नदी र हिमालको संगम स्थल छनोट गरेर आकर्षक होटल निर्माणको लहर चलेको छ । साविकमा होटल तथा रिसोर्टले प्रदान गरेको सेवाभन्दा फरक सुविधा थपेर लगानी गर्ने बढेका छन् । बुद्ध जन्मस्थल लुम्बिनी, वन्यजन्तु सफारीको ‘भर्जिन’ गन्तव्य बर्दिया र बाँके निकुञ्ज यहाँका प्रमुख आकर्षण हुन् ।

प्रदेशका पहाडी आधा दर्जन जिल्लामा आध्यात्मिक साथै साहसिक पर्यटनको सम्भावना प्रशस्त छ । पाल्पा र गुल्मीको सिमानामा रहेको रिडी, अर्घाखाँचीको सुपादेउराली र प्यूठानको स्वर्गद्वारीमा भारतीय पर्यटक ओइरिने गरेका छन् । तराईमा अत्यधिक गर्मीका बेला पाल्पा, अर्घाखाँची र दाङका ‘हिल स्टेसन’ मा रमाउनेको घुइँचो लाग्ने गरेको छ । बाँकेको नेपालगन्ज मानसरोवर र रारा यात्राको ‘ट्रान्जिट’ बनेको छ । प्रदेश सरकारले बुद्ध जन्मस्थल लुम्बिनीलाई केन्द्र मानेर आसपासका गन्तव्यको प्रवर्द्धन थालेसँगै होटलमा लगानीकर्ता बढेका हुन् ।

स्थानीय र प्रदेश सरकार सञ्चालनमा आएपछि गाउँ–गाउँमा व्यापारिक केन्द्र निर्माण भएका छन् । कर्मचारी र सेवाग्राहीले चहलपहल बढेको छ । विभिन्न कार्यक्रम सञ्चालन हुने गरेका छन्, जसले गर्दा ग्रामीण क्षेत्रमा समेत पर्यटक बढेका छन् । बुद्धस्थल लुम्बिनीमा आउने पाहुनालाई लक्ष्य गरेर तारे होटल सञ्चालनको होडबाजी छ । यहाँ रहेको अन्तर्राष्ट्रिय विमानस्थलमा विभिन्न बौद्ध धर्मावलम्बी मुलुकका पर्यटक ओइरिने विश्वासले लगानी बढेको व्यवसायी बताउँछन् । प्रदेश स्थायी राजधानी दाङको भालुबाङमा कायम भएपछि कपिलवस्तुको चन्द्रौटा, दाङको भालुबाङ र लमही, बाँकेका नेपालगन्ज र कोहलपुर, बर्दियाको ठाकुरद्वारामा स्तरीय होटल सञ्चालन भइरहेका छन् ।

बर्दियाको ठाकुरद्वारामा आधुनिक सुविधायुक्त होटल सञ्चालन भइरहेका छन् । पहिले प्रकृतिसित मेल खाने होटल खुलेका थिए । अहिले आन्तरिक पर्यटक र कार्यक्रम लक्ष्य गरेर आधुनिक सुविधा थप्ने क्रम बढेको छ । त्यहाँ स्विमिङ पुलसहितका होटल खुलिरहेका छन् । अहिले ठाकुरद्वारामा तीन दर्जनभन्दा बढी पर्यटकीय होटल छन् । पर्यटक आकर्षित गर्न सीमावर्ती होटलले आकर्षणका कार्यक्रम सार्वजनिक गर्दै आएका छन् । सीमा नजिकका होटलमा क्यासिनो सञ्चालन गरिनु र विभिन्न समयमा हुने सांस्कृतिक कार्यक्रमले समेत होटलप्रतिको आकर्षण थपेको छ । खुला नाकाले भारतीय पर्यटक आउने र यहाँका क्यासिनोमा पैसा खर्च गर्दा सरकारलाई आम्दानी तथा होटल सञ्चालन सहज हुने गरेको छ । होटलले समेत रेस्टुराँसरह सांगीतिक माहोल बनाई आएका पाहुनालाई रमाइलो वातावरण सिर्जना गरेका छन् । जसले गर्दा खाना, आवास र मनोरञ्जनको प्याकेज पाएको महसुस पाहुनाले गर्छन् ।

पर्यटन क्षेत्रमै पर्ने ट्राभल एन्ड टुरिजम सेन्टरले सञ्चालन गरिरहेको टुर अपरेट प्याकेजले होटल चलाउन थप सहयोग पुगेको छ । विदेशी हुन् या आन्तरिक पर्यटक, विभिन्न दररेटमा भ्रमण र होटल बसाइको प्याकेज मिलाएको ट्राभल एन्ड टुरिजम व्यवसायी सञ्जय बजिमयले बताए । विद्यार्थी पर्यटकलाई एक हजारदेखि अन्य पर्यटकको हकमा १५ हजारसम्मका प्याकेज राखिएको उनको भनाइ छ । प्याकेज सिस्टमले होटलमा, सरकारको आम्दानीमा र ट्राभल एन्ड टुरिजमजस्ता क्षेत्रमा सघाएको उनले बताए ।

रूपन्देहीको भैरहवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको तयारीमा छ । विमानस्थल निर्माणले पर्यटक आगमन बढ्ने विश्वासले होटल व्यवसायमा लगानी गर्ने धेरै छन् । पछिल्ला वर्ष कोरोना भाइरस महामारीले उत्पादन र औद्योगिक लगानीका क्षेत्र प्रभावित भए । यही अवधिमा सेवामूलक होटल व्यवसायमा लगानी ओइरिरहेको थियो । नयाँ होटल खुलिरहेका थिए । पुरानाले भौतिक पूर्वाधार सुधार गरेर सेवा विस्तार र स्तरोन्नति गरेका थिए । बुद्ध जन्मस्थल लुम्बिनी र यहाँ निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका कारण रूपन्देहीका विभिन्न स्थानमा स्तरीय तारे होटल सञ्चालनमा आएका छन् । कोरोनाका कारण लगानीमा ढिलाइ गरिरहेका व्यवसायी अहिले होटल निर्माणमा अग्रसर देखिएका छन् । रूपन्देहीको बेलहिया स्थलमार्ग हुँदै मुलुकमै धेरै पर्यटक भित्रिने नाका हो । यो नाका खुलेपछि यहाँका पर्यटन व्यवसायी हौसिएका छन् । सीमावर्ती भारतीय आउन थालेपछि होटलले सेवा थप गरिरहेका छन् । लुम्बिनीमा अहिलेसम्म साना–ठूला गरी झन्डै ११ हजार होटल सञ्चालनमा छन् । अहिलेको पुस्ता घुमफिर गर्न जिल्लाबाहिर जाने भएकाले होटल व्यवसाय फस्टाएको होटल व्यवसायी संघ लुम्बिनीका अध्यक्ष भास्कर काफ्लेले बताए ।

सफारीको ‘भर्जिन’ गन्तव्य

वन र वन्यजन्तु सफारी पर्यटनका लागि बर्दिया निकुञ्जमा पर्यटकको आकर्षण बढेको छ । संघीय राजधानी काठमाडौंबाट भौगोलिक दूरी टाढा भएकाले टुर र ट्राभल कम्पनीको आँखामा नपरेको निकुञ्जमा अहिले आन्तरिक पर्यटकको चहलपहल छ । लुम्बिनी र आसपास प्रदेशका सहरबाट यहाँ घुम्न आउने धेरै छन् । सहजै वन्यजन्तु र प्राकृतिक सम्पदा अवलोकन गर्न सकिने भएकाले आकर्षण बढ्दै गएको निकुञ्ज अधिकारी र पर्यटन व्यवसायी बताउँछन् । पछिल्लो समय हवाई उडानको संख्या थप, सस्तो भाडादर र घुम्ने संस्कृतिले यहाँ पाहुना बढिरहेका छन् । यहाँका निकुञ्जमा मानवीय चाप छैन । जसले गर्दा वन्यजन्तु अवलोकनका लागि दुःख हुँदैन । व्यवसायी यसलाई सफारीको ‘भर्जिन’ गन्तव्यका रूपमा प्रचार गरिरहेका छन् ।

अहिले बर्दियामा दुर्लभ पाटेबाघ अवलोकनका लागि स्वदेशी र विदेशी पर्यटक धेरै आइरहेका छन् । बुद्ध जन्मस्थल लुम्बिनीसँगै निकुञ्ज प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य हो । अहिले प्रदेश र स्थानीय सरकारले आफ्ना कार्यक्रम यहाँको प्रमुख पर्यटकीय केन्द्र ठाकुरद्वारामा आयोजना गर्न थालेपछि होटल व्यवसायी उत्साहित छन् । सहजै बाघ हेर्न सक्ने भएकाले गन्तव्यमा भीडभाड छ । निकुञ्ज, खाता जैविक मार्ग र मध्यवर्ती क्षेत्रमा बाघ हेर्न पाइने भएकाले पर्यटक ओइरिन थालेको पर्यटन व्यवसायी रामजीबाबु थापाले बताए । २० प्रतिशत छुट व्यवस्था गरिएकाले पर्यटक आवागमन बढ्ने उनले बताए । निकुञ्जमा चार वर्षअघि गरिएको गणनाअनुसार ८७ बाघ थिए । अहिले बाघको संख्या १ सय नाघ्ने अनुमान निकुञ्ज कार्यालयको छ । बर्दिया निकुञ्जमा ३८ गैंडा छन् । पर्यटक बढेसँगै ठूला होटलमा व्यवसायीले लगानी गर्दै गएका छन् । बबई रिसोर्ट, बर्दिया टाइगर रिसोर्ट, टाइगर टप, जंगल सेन्टर प्लाजा, थारू होम रिसोर्ट, गैंडा क्याम्पलगायत ठूला, मझौला र साना गरी २९ होटल सञ्चालनमा छन् । तराईको ठूलो निकुञ्ज, शान्त वातावरण, प्रशस्त जैविक विविधता र सहजै बाघ हेर्न सकिने भएकाले पर्यटकको आकर्षण बढ्दै गएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताए । ‘वन्यजन्तु सफारीमा आकर्षण बढेको छ,’ उनले भने, ‘बर्दिया निकुञ्ज सामाजिक, आर्थिक तथा वातावरणीय हिसाबले उपयुक्त छ ।’ यस वर्ष निकुञ्जले बाघ संरक्षणमा महत्त्वपूर्ण योगदान पुर्‍याएको भन्दै अन्तर्राष्ट्रिय पुरस्कार पाएको उनको भनाइ छ । यसबाट पनि बर्दिया निकुञ्जको विश्वभर चर्चा भइरहेकाले स्वदेशी र विदेशी पर्यटक आउने श्रेष्ठले बताए ।

काठमाडौंबाट बर्दिया आउन ५ सय किलोमिटरको दूरी पार गर्नुपर्छ । बर्दिया निकुञ्ज आउने माध्यम सडक र हवाई मार्ग हो । हवाई मार्ग नेपालगन्जसम्म छ । सडक यातायातले निकुञ्जको मुख्यालय ठाकुरद्वारालाई छोएको छ । कोभिडपछि यहाँ आन्तरिक पर्यटक बढी आउने गरेका छन् । विदेशी पर्यटक पनि क्रमशः बढ्दै छन् । गत कात्तिकयता प्रतिदिन नेपाली सयदेखि डेढ सय र विदेशी करिब १५ देखि २० जना पर्यटक भित्रिएको निकुञ्जले जनाएको छ । चालु आर्थिक वर्षको फागुन तेस्रो सातासम्म १० हजार बढी नेपाली पर्यटक भित्रिएका छन् । यसैगरी सार्क मुलुकबाट सय बढी र विदेशी ३ सय पर्यटक भित्रिएको निकुञ्जले जनाएको छ ।

धमाधम तारे होटल

बाँकेको नेपालगन्जमा ३० वर्षअघि भेरी र स्नेहा होटल स्थापना गरिएको थियो । तारे होटलको सुविधा दिएर दुवैले ग्राहक तान्ने प्रयास गरेका थिए । लामो अवधि यस क्षेत्रका ठूला होटलमा यी दुईको नाम आउँथ्यो । अहिले सेवा, सुविधा र गुणस्तरमा साधारण होटलले समेत तारे स्तरकालाई चुनौती दिन थालेका छन् । व्यावसायिक चुनौतीको सामना गर्न अधिकांशले भौतिक पूर्वाधार थप गर्न थालेका छन् । जिल्लामा एक दर्जन तारे होटल खुलेका छन् । ‘नेपालगन्जका तारे होटलको दररेट अन्य ठाउँको भन्दा सामान्य छ,’ सिद्धार्थ ग्रुप अफ हस्पिटालिटिजका निर्देशक केशव न्यौपानेले भने, ‘धराशायी हुने स्थितिमा पुगेको व्यवसाय क्रमशः तंग्रिँदै छ ।’

यहाँ सञ्चालित क्यासिनोका कारण भारतीय पर्यटक आउँछन् । नेपालगन्जमा होटल सोल्टीदेखि कोहलपुरको सेन्ट्रल प्लाजासम्मले क्षमता विस्तार गर्दै सम्भाव्यता अध्ययन गर्न थालेका छन् । धमाधम स्तरीय होटल खुलिरहँदा कसरी चल्ने र स्थायित्व ग्रहण गर्ने भन्नेबारे लगानीकर्ता गम्भीर नभएको सेन्ट्रल प्लाजाका सञ्चालक देवानन्द अर्यालले बताए । ‘प्रतिस्पर्धा गरौं तर व्यवसाय बढ्ने गरी,’ उनले भने । सस्तो दिने प्रतिस्पर्धामा रहेका यहाँका होटलहरू सेवा भने कसले स्तरीय दिन सक्छ भन्ने होडबाजीमा छन् । बजार प्रवर्द्धनका लागि अन्तर्राष्ट्रिय ट्राभल एजेन्ट कन्फ्रेन्सजस्ता कार्यक्रम हुन थालेका छन् ।

होटल सोल्टीका जनरल म्यानेजर प्रवीन्द्र सिंहका अनुसार अहिले पाहुना आउने क्रम बढेको छ । सरकारी तथा गैसरकारी संस्था र कर्पोरेटका पाहुनाले भरिने सोल्टीले इको फेन्डली सेवा प्रदान गरिरहेको उनले बताए । बाँकेमा ८ वटा क्यासिनो सञ्चालित छन् । सोल्टी र सेन्टर प्लाजा दुईवटा पाँचतारे हुन् । २०७२ सालदेखि मानसरोवर ट्रान्जिट प्वाइन्ट भनेको नेपालगन्जमा पर्यटकका कारण भारतीय पैसा नेपाल भित्रिएका छन् ।

प्रकाशित : चैत्र ७, २०७८ १२:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?