लुम्बिनीको सामर्थ्य

सबैलाई सघाउँदै मध्यपहाडी लोकमार्ग

सर्वसाधारणको दैनिकी थप सजिलो भएको छ, लोकमार्गसँग जोडिएका बजार विस्तार भएका छन् भने गाउँ बजारमा परिणत हुँदै छन्
हरि गौतम

सिस्ने गाउँपालिका–५, रुकुमकोट टाकुराका केशव थापा अहिले बागलुङ, पोखरा हुँदै संघीय राजधानी काठमाडौं आउजाउ गर्छन् । केही समयअघिसम्म सल्यान, दाङ, कपिलवस्तु, रूपन्देही, नवलपरासी, चितवन हुँदै काठमाडौं ओहोरदोहोर गर्नुपर्थ्यो । मध्यपहाडी लोकमार्ग निर्माण भएपछि नयाँ रुट रुकुम पूर्वबाट बागलुङ, पोखरा हुँदै काठमाडौं पुग्न सजिलो भएको छ ।

सबैलाई सघाउँदै मध्यपहाडी लोकमार्ग

थापा मात्रै होइन, रुकुम पूर्व र रुकुम पश्चिमलगायत पहाडी जिल्लाका सर्वसाधारण, प्रशासकदेखि जनप्रतिनिधि मध्यपहाडी लोकमार्ग भएरै ओहोरदोहोर गरिरहेका छन् । ‘मध्यपहाडी लोकमार्गले रुकुम पूर्व र बागलुङ जोडेपछि हामीलाई लामो बाटो भएर काठमाडौं जान अपायकजस्तै छ,’ थापाले भने, ‘यताको बाटो छोटो त छ नै, सजिलो र रमाइलो पनि उत्तिकै छ ।’

मध्यपहाडी लोकमार्गका कारण रुकुम पूर्व र बागलुङ जोडिएपछि रुकुमकोट–काठमाडौं जोडिएको मात्रै छैन, लोकमार्गकै कारण सर्वसाधारणको अरू दैनिकी थप सजिलो भएको छ । मध्यपहाडी लोकमार्गसँग जोडिएका बजार थप विस्तार भएका छन् भने गाउँ बजारमा परिणत भएका छन् । मध्यपहाडी लोकमार्गकै कारण आर्थिक गतिविधि बढेका छन् । मध्यपहाडी लोकमार्गमा सवारीसाधन चल्न थालेपछि सिसाघारीको आर्थिक चहलपहल बढेको भूमे गाउँपालिका–२, काँक्रीका नन्दवीर बुढाले बताए । ‘दैनिक आवश्यक पर्ने खाद्यान्न सामग्री ढुवानीका साथै भौतिक निर्माणका सामग्री ढुवानीमा पनि छरितो र सस्तो पर्न गएको छ,’ बुढाले भने, ‘फराकिलो सडकका कारण सवारी सञ्चालन, आवतजावतदेखि अरू धेरै कामकुरामा सहज भएको छ ।’

सडक विकास र समृद्धिको अनिवार्य सर्त मानिन्छ । ‘राम्रो सडक भएपछि त विकास निर्माणले त्यसै गति लिइहाल्छ,’ भूमे गाउँपालिका–१ को सिद्धचौर मावि लुकुमका प्रधानाध्यापक रामबहादुर पुन भन्छन्, ‘मध्यपहाडी लोकमार्गबाट सर्वसाधारण र सरोकारवालालाई त्यसरी नै सहयोग भइरहेको छ । यसको स्तरोन्नतिसँगै यसले अझ गति लिनेमा शंका गर्ने ठाउँ छैन ।’ यसअघिको रुटभन्दा मध्यपहाडी लोकमार्ग भएर संघीय राजधानी पुग्न यस जिल्लाका लागि झन्डै १ सय किलोमिटरको दूरी कम भएको छ ।

मध्यपहाडी लोकमार्गले रुकुम पूर्व र रुकुम पश्चिमको १ सय ३० किलोमिटर भूभाग ओगटेको छ । यो मार्ग दुवै जिल्लाको पश्चिमदेखि पूर्वसम्म फैलिएको छ । रुकुम पूर्व भूमे गाउँपालिकाबाट सुरु भएको मध्यपहाडी लोकमार्ग रुकुम पश्चिमको चौरजहारी नगरपालिकाबाट छिमेकी जिल्ला जाजरकोट जोडिएको छ । मध्यपहाडी लोकमार्गले रुकुम पूर्व र बागलुङ, रुकुम पश्चिम र जाजरकोट मात्रै जोड्दैन, रुकुम पूर्व र पश्चिमका १६ बजारलाई पनि सिधै केन्द्रीय बजारसँग जोडेको छ । रुकुम पूर्वको भूमे गाउँपालिकाका पञ्चासे, लकुम, काँक्री, खावाङबगर, सिसाघारी र सिस्ने गाउँपालिकाको रुकुमकोट बजार मध्यपहाडी लोकमार्गको दायाँबायाँ अवस्थित छन् । रुकुम पश्चिमको मुसीकोट नगरपालिकाको किटेनी, साँख, शीतलपोखरी, सेरीगाउँ, पीपलनेटा, माछिमी, छिवाङ, सानीभेरी गाउँपालिकाको सिम्ली, चाइनाबगर, चौरजहारी नगरपालिकाको चौरजहारी बजार पनि मध्यपहाडी लोकमार्गसँगै जोडिएका बजार हुन् । यीमध्ये धेरैजसो बजार मध्यपहाडी लोकमार्ग सञ्चालनमा आएपछि बनेका हुन् । यसमध्ये रुकुमको बजार अब सहरोन्मुख छ । यो बजार सहरोन्मुख हुनुमा मध्यपहाडी लोकमार्गकै मुख्य भूमिका छ । रुकुमकोटलाई साइडमा पारेर मध्यपहाडी लोकमार्ग अघि बढेको छ ।

रुकुमकोटलाई सहर बनाउन मध्यपहाडी लोकमार्गको मुख्य भूमिका रहेको रुकुमकोट उद्योग वाणिज्य संघका सचिव केवेन्द्र गौतमले बताए । ‘रुकुमकोट यसअघि पनि सम्भावना बोकेको बजार त हो नै,’ उनले भने, ‘यी बजारसँग मध्यपहाडी लोकमार्ग जोडिएपछि यसले सहरको आकार ग्रहण गरिरहेको छ ।’ सडकसँग सहर, बजार र गाउँ जोडिनु भनेको त्यस ठाउँको विकासले गति पकड्नु भएको उनको भनाइ छ । मध्यपहाडी लोकमार्ग बन्न थालेदेखि नै रुकुमकोटमा भौतिक संरचना बन्न थालेका थिए । हाल पनि रुकुमकोटमा तीव्र रूपमा भौतिक निर्माणका काम भइरहेका छन् । रुकुमकोटबाट मध्यपहाडी लोकमार्ग भएर पूर्व, पश्चिम हुँदै जता जान पनि सजिलो भएपछि रुकुमकोटमा आर्थिक गतिविधि बढेका छन् । बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएका छन् । सुरुमा रुकुमकोटलाई मध्यपहाडी लोकमार्गमा पर्ने उत्कृष्ट १० सहरमा राखिएको थियो । पछि त्यसलाई हटाइयो । उत्कृष्ट सहरबाट हटाइए पनि रुकुमकोट सहर हुने क्रममै छ । यसमा मुख्य देन भनेकै मध्यपहाडी लोकमार्गको भएको बुझाइ जिल्लावासीको छ ।

मध्यपहाडी लोकमार्गसँगै बजार मात्रै छैनन्, जिल्लाका दुई स्थानीय तहका केन्द्र पनि जोडिएका छन् । सिस्नेको ५ र ६ नम्बर वडा रुकुमकोट गाउँपालिकाको केन्द्र हो । मध्यपहाडी लोकमार्गको तलमाथि केन्द्र कायम छन् । भूमे गाउँपालिकाको केन्द्र पनि यससँगै जोडिएको छ । सडकमुनि नै गाउँ कार्यपालिका छ । भूमेका धेरैजसो जनता मध्यपहाडी लोकमार्ग भएरै सेवा लिन आउजाउ गर्छन् । गाउँ वा नगरपालिकाको केन्द्रसँग मध्यपहाडी लोकमार्ग जोडिनु समृद्धिको अर्को आयाम भएको सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बरालले बताइन् । ‘विकास निर्माणका साथै स्थानीयलाई आवतजावतमा असाध्यै सजिलो छ,’ उनले भनिन्, ‘गाउँपालिकाको केन्द्रसँगै रहेको मध्यपहाडी लोकमार्गले सर्वसाधारणलाई आवतजावत सहज बनाएको छ नै, गाउँघरमा उत्पादित तरकारी बजार पुर्‍याउन तथा बजारिया सामान घरसम्म पुर्‍याउन पनि सजिलो भएको छ ।’ गाउँपालिकाको विकासमा मध्यपहाडी लोकमार्गले ठूलो भूमिका निर्वाह गरिरहेको महसुस कार्यपालिकाले नै गरिरहेको बरालको भनाइ छ ।

जडीबुटी तथा अन्नपातको खरिदबिक्री गर्ने लालबहादुर खत्री मध्यपहाडी लोकमार्गले जनजीवन सजिलो बनाएको बताउँछन् । मध्यपहाडी लोकमार्गमा गाडी चल्न थालेपछि आफूजस्ता व्यवसायीलाई सजिलो भएको उनले सुनाए । ‘मध्यपहाडी लोकमार्ग यस्तो मुटुमा छ, जहाँबाट सबैतिर पुगेर फेरि मध्यपहाडी भएरै सरसामग्री खरिदबिक्री गर्न सजिलो भएको छ,’ उनले भने, ‘जुनसुकै गाउँमा माल खरिद गरिए पनि मध्यपहाडी लोकमार्गमार्फत बजारमा पुर्‍याउन सजिलो छ ।’ गाउँको उत्पादन बजार पुर्‍याउन मध्यपहाडी लोकमार्ग सहायक भएको खत्रीको भनाइ छ । मध्यपहाडी लोकमार्गले किसान र बजारलाई जोडेको उनले बताए ।

‘स्थानीय बजारदेखि सहरसम्म किसान जोडिएका छन् । यो सबै मध्यपहाडी लोकमार्गकै कारण सम्भव भएको हो,’ उनले भने । यसअघि किसानको पहुँच बजारसम्म थिएन । भए पनि घुमाउरो, झन्झटिलो र उत्तिकै महँगो थियो । रुकुम पूर्वको सिमी, भाङो, अल्लो, आलु, स्याउ, ओखर र त्यसको घाँजी मध्यपहाडी लोकमार्ग भएरै बजार पुगिरहेको छ । बाहिरबाट आउने खाद्यान्न तथा अरू निर्माणका सामग्री पनि सजिलो र सस्तोमा गाउँ भित्रिइरहेको छ । स्थानीय उत्पादन खरिदका लागि व्यवसायीहरू आँगनमा पुग्ने गरेका छन् । ‘कतिपय ग्राहक पोखरा, बागलुङ भएर घरमै उत्पादन खोज्न आउँछन्,’ सिस्ने गाउँपालिका–४ का शान्तबहादुर बुढाले भने, ‘दुवैतिरबाट ग्राहक आउनाले हाम्रो मकै, सिमी, घिउ, ओखर सजिलै बिक्री हुन थालेको छ । यो सबै मध्यपहाडी लोकमार्गको देन हो ।’ मध्यपहाडी लोकमार्ग पूर्ण स्तरोन्नतिसहित पक्की बनेको छ । रुकुम पूर्वमा पर्ने मध्यपहाडी लोकमार्गको ६४ किलोमिटरमध्ये केहीबाहेक सबै क्षेत्र कालोपत्र भइसकेको छ ।

‘सडक विकासको मेरुदण्ड नै हो । मध्यपहाडी लोकमार्ग हाम्रो गाउँपालिकाको विकासमा त्यही साबित भयो,’ भूमे गाउँपालिका अध्यक्ष रामसुर बुढा मगरले भने, ‘यो मार्गलाई मुख्य मार्ग मानेर हामीले सबै खाले विकासका कार्य गरिरहेका छौं ।’ संघीयदेखि प्रदेश राजधानी जोड्न तथा स्थानीय सडक जोड्नमा मध्यपहाडी लोकमार्ग महत्त्वपूर्ण भएको उनको भनाइ छ । किसानका उत्पादन बजार पुर्‍याउन पनि मध्यपहाडी लोकमार्गले ठूलो सहयोग पुगिरहेको उनले बताए । स्थानीय सरकारबाट निर्मित सहायक सडकबाट मध्यपहाडी लोकमार्गसम्म आइपुग्ने कृषि उपज मध्यपहाडी लोकमार्ग भएरै बजारसम्म पुगिरहेको अध्यक्ष बुढाको भनाइ छ । समग्रमा आर्थिक विकासमा यसले टेवा पुर्‍याइरहेको उनको बुझाइ छ । कृषि उपज बजार जाने तथा पर्यटकहरू आउन सजिलो माध्यम मध्यपहाडी लोकमार्ग भएकाले समग्रमा आर्थिक विकासको ढोका खुलेको रूपमा लिइएको उनले बताए । भूमे गाउँपालिकाले मध्यपहाडी लोकमार्गलाई आधार मानेर रिङ र लिंक रोड निर्माण गरेको छ । यसैबाट सर्वसाधारणले आवतजावत गर्ने र कृषि उपज बजार पठाउने तथा आवश्यक सामग्री ढुवानी गर्न सहयोग पुगिरहेको छ ।

मध्यपहाडी लोकमार्गले जिल्लाको तीनवटै गाउँपालिकालाई जोडेको छ । मध्यपहाडी लोकमार्ग पुथाउत्तरगंगा गाउँपालिका छिचोल्दै अघि बढेको छ । ‘हामी गाउँपालिका छाडेपछि मध्यपहाडी भएर राजधानी पुग्ने हो,’ पुथाउत्तरगंगा गाउँपालिका–१ का सत्य सिर्पालीले भने, ‘जिल्लाको अस्थायी सदरमुकाम पुग्न होस् या प्रदेश राजधानी या संघीय राजधानी– हामीलाई मध्यपहाडी लोकमार्गले नै सजिलो बनाएको छ ।’ मध्यपहाडी लोकमार्गबाट सहिद मार्ग हुँदै निर्माण सामग्रीहरू पुथाउत्तरगंगा पुगिरहेका छन् । पुथाउत्तरगंगाको उत्पादन सोही सडक भएर बजार पुगिरहेको प्रति स्थानीय दंग छन् । यस गाउँपालिकाका केही क्षेत्र अझै सडक सञ्जालमा जोडिएका छैनन् । तर, जोडिएका जति छन् ती सबै मध्यपहाडी लोकमार्ग भएर ओहोरदोहोर गर्दै छन् । यही मार्गका कारण सर्वसाधारण समृद्धिको अभियानमा जुट्न सम्भव भएको छ । ‘सडक बनेपछि अरू विकास सजिलै हुनेरहेछ,’ कोलका अमरसिं पुनले भने, ‘सडक बनेपछि स्वतः गाउँ/ठाउँ जागेका छन् ।’

प्रकाशित : चैत्र ७, २०७८ १०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?