लुम्बिनीको सामर्थ्य

हाउजिङको लहर

हाउजिङ र कोलोनीमा रुपन्देही र बाहिरी जिल्लाका बासिन्दाको आकर्षण बढेपछि विभिन्न कम्पनीले ठूलो लगानी लगाइरहेका छन्
सन्जु पौडेल

लुम्बिनी — रुपन्देही र आसपास जिल्लामा सहरीकरण तीव्र छ । उद्योग, पर्यटन, कृषि र खाद्यान्नलगायत उद्योगमा लगानी आइरहेको छ । व्यावसायिक प्रतिष्ठानका कर्पोरेट कार्यालय रूपन्देहीका बुटवल र भैरहवामा केन्द्रित छन् ।

हाउजिङको लहर

शिक्षा र स्वास्थ्यका क्षेत्रमा लगानी बढ्दै छ । परम्परागत सहर साँघुरा भइरहेका छन् । नयाँ र खुला स्थानमा बसाइँ सर्ने धेरै छन् । यस्तै परिवार लक्षित गरेर रूपन्देहीमा आधुनिक घर निर्माणमा हाउजिङ कम्पनी आकर्षित भएका छन् । आरामदायी जीवनयापनका लागि आवश्यक सुविधा दृष्टिगत गरी कम्पनीले व्यावसायिक घर निर्माण गरिरहेका छन् । रूपन्देही र बाहिरी जिल्लाका बासिन्दाको आकर्षण हाउजिङ र कोलोनीमा बढेपछि विभिन्न कम्पनीले ठूलो लगानी गरेका हुन् ।

यहाँस्थित अष्टदीप मल्टिनेसनल प्रालिले गत वर्षदेखि सुरु गरेको परियोजना तिलोत्तमा होम्सको आवास क्षेत्र अवलोकन तथा बुकिङका लागि खुला गरिएको छ । तिलोत्तमा–७ भलवारीमा निर्माण भइरहेको तिलोत्तमा होम्स सिद्धार्थ राजमार्गदेखि पूर्व ६ बिघा क्षेत्रफलमा अवस्थित छ । व्यवस्थित सहरीकरणको उद्देश्यसहित १ सय ९ वटा घर बन्ने परियोजनाअन्तर्गत ५५ घर बन्दै छन्, जसअन्तर्गत २० वटाको ढलानको काम र ३५ वटाको जगको काम सकिएको कम्पनीका सेल्स एन्ड मार्केटिङ हेड सुदीप ढकालले बताए । निर्माणाधीन आवास क्षेत्रमा कम्पाउन्डभित्र सबै घरपरिवारले उपयोग गर्न मिल्ने गरी अत्याधुनिक कमर्सियल कम्प्लेक्स, सामुदायिक भवन, ब्याडमिन्टन कभर्ड हल, बास्केटबल कोर्ट, स्विमिङ पुल, चिल्ड्रेन्स पार्क, जिमखाना, मन्दिर, हेल्थ क्लब, रेस्टुराँ, सैलुन, ब्युटिपार्लर, ग्रिनजोन रहने कम्पनीका अध्यक्ष नेत्र वनको भनाइ छ । यस्तै परियोजना स्थलभित्र मूल बाटो २६ फुट र सहायक बाटा २४ फुटका रहनेछन् । परियोजनाको निर्माण कार्य सर्वश्रेष्ठ बिल्डर्सले गरिरहेको कम्पनीले जनाएको छ ।

परियोजनाअन्तर्गत बन्ने घर तथा अन्य भौतिक पूर्वाधार निर्माणमा प्रयोग हुने सामग्री सरकारले तोकेको मापदण्डअनुसारका हुने र निर्माण कार्य पूर्णतः इन्जिनियरको सुपरिवेक्षणमा भइरहेको कम्पनीका सीईओ प्रकाश भण्डारीले बताए । परियोजना निर्माण स्थलको माटो परीक्षण गरी त्यसका आधारमा नक्सा डिजाइन गरिएको र घरहरू भूकम्प प्रतिरोधात्मक हुने प्रोजेक्ट म्यानेजर यदु बरालले जानकारी दिए । ‘परियोजना स्थलमा ढल निकास, खानेपानी व्यवस्थापन, टेलिफोन, विद्युत्जस्ता पूर्वाधार विकासको काम कम्पनी आफैंले गरिरहेको छ,’ उनले भने, ‘परियोजनाअन्तर्गत बन्ने घरहरूको निर्माण कार्य सकिएर सम्पूर्ण घर बिक्री भएपछि त्यहाँ रहने सार्वजनिक स्थान तथा पूर्वाधारको सञ्चालन र व्यवस्थापनको जिम्मा त्यहाँ रहने सोसाइटी आफैंले गर्नेछ ।’ सरकारले निर्धारण गरेका मापदण्डलाई पालना गरी सम्पूर्ण सुविधा एकै ठाउँमा प्राप्त हुने गरी सुरक्षित र स्मार्ट आवास क्षेत्र निर्माण गर्ने सरकारी नीतिअनुरूप निजी क्षेत्रबाट यो परियोजना कार्यान्वयन गर्न थालिएको आवास क्षेत्रमा दुई समूहमा घर विभाजन गरिएको प्रोजेक्ट इन्जिनियर वासुदेव नेपालले जानकारी दिए । समूह ‘ए’ का घरको सूचीकृत मूल्य २ करोड ५० लाख र समूह ‘बी’ का घरको सूचीकृत मूल्य १ करोड ७५ लाख निर्धारण गरिएको कम्पनीका सेल्स एन्ड मार्केटिङ हेड सुदीप ढकालले बताए । मध्यम वर्गको आर्थिक अवस्था भएकाहरूलाई लक्षित गरी सञ्चालन गरिएको परियोजनामा जग्गा र घरको क्षेत्रफलका आधारमा पहिलो समूहमा १५ धुर जग्गामा २ हजार ९ सय २० स्क्वायर फिटको घर निर्माण गरिनेछ । दोस्रो समूहमा १० धुर क्षेत्रफलमा २ हजार १ सय ८१ स्क्वायर फिटका घर निर्माण गरिने कम्पनी प्रचेज डिपार्टमेन्ट प्रमुख षडानन्द पोखरेलको भनाइ छ ।

एन्ट्रास्पेस टेक्निकलद्वारा डीपीआर तयार पारी काम भइरहेको एकीकृत बस्तीमा घर लिन चाहनेहरूलाई अधिकतम २५ वर्षसम्मको फाइनान्स सुविधा उपलब्ध गराउने उनले बताए । कम्पनीले यसका लागि सेन्चुरी कमर्सियल बैंकसँग सहकार्य गरेको छ । कर्मचारी र विदेशमा रहेका नागरिक परियोजनाका आवासप्रति विशेष आकर्षित रहेको वनको भनाइ छ । परियोजनामा नेत्र वन, तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरे र उद्योगी विष्णुप्रसाद भुसालसमेतको लगानी छ । नेपाल सरकारको सहरी विकास मापदण्डअनुसार साढे दुई तलाका भूकम्परहित घर निर्माण गरिने वनले जानकारी दिए । तीन वर्षभित्रमा परियोजना सम्पन्न गर्ने गरी काम गरिरहेको कम्पनीले कुनै पनि ग्राहकले घर बुकिङ गरेको कम्तीमा ९ महिनाभित्रमा उपलब्ध गराउने बताएको छ ।

रूपन्देहीको ओमसतिया–४ स्थित बोधी होल्डिङ प्रालिअन्तर्गत बोधी होम्स हाउजिङ परियोजनाले सुविधासम्पन्न आवास निर्माण गरिरहेको छ । उक्त होम्सअन्तर्गत पहिलो चरणमा विभिन्न किसिमका १ सय ४ वटा घर निर्माण हुने भएका छन् । बोधी होम्समा दुई चरण गरी साढे चार अर्ब रुपैयाँ लगानी रहेको छ । होम्समा जलेश्वर पाण्डे, प्रमोद यादव, दीपक पाण्डे, रवीन्द्र कुँवर, छविलाल कुँवर र दीनबन्धु पोखरेलको लगानी छ ।

रूपन्देहीको विकास, अन्तर्राष्ट्रिय विमानस्थल, बुद्ध जन्मस्थल लुम्बिनी र विकासको क्रम हेरेर हाउजिङको आवश्यकता महसुस गरी लगानी गरिएको परियोजनाका प्रबन्ध निर्देशक दीनबन्धु पोखरेलले बताए । एकीकृत बस्तीको अवधारणाअनुसार बोधी होम्सको सुरुवात गरिएको उनको भनाइ छ । यस प्रालिमा पोखरा, काठमाडौं, भैरहवा र एनआरएनएका लगानीकर्ता संलग्न छन् । परियोजनाले काठमाडौं र पोखराको झल्को दिने गरी आवास निर्माण गरेको जनाएको छ । रूपन्देहीका स्थानीय र बसाइँ सरेर आएका ग्राहकलक्षित गरी आवास निर्माण गरिएको उनले बताए । ‘परियोजनाले डाक्टर, उद्योगी/व्यवसायी, वित्तीय क्षेत्रका कर्मचारी तथा विदेशमा बसोबास गरिरहेका व्यक्ति स्वदेश फर्किएर बस्न सकून् भनेर हाउजिङ लक्षित गरिएको छ,’ उनले भने, ‘अहिलेसम्म २७ वटा घर बुक भइसकेका छन् ।’

जिल्लाबाहिरबाट बुद्ध जन्मस्थल लुम्बिनीलाई रोजेर अवकाश जीवन बिताउन धेरै व्यक्ति आउनेमा शंका नरहेको परियोजनाका प्रबन्ध निर्देशक पोखरेलको भनाइ छ । तराई क्षेत्रमा भैरहवाको आधुनिक सहरीकरण तीव्र रूपमा भइरहेको छ । यहाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको तयारीमा छ । विमानस्थलको वरपर तारे होटल निर्माण भइरहेका छन् । यी सबै कुराले हाउजिङ परियोजना यस क्षेत्रमा ल्याउन प्रेरित गरेको उनले बताए । आफूहरू यसअघि नै व्यावसायिक प्रतिष्ठानसँग जोडिएकाले विभिन्न स्थानको व्यावसायिकता र चहलपहल बुझ्न गाह्रो नहुने पोखरेलको भनाइ छ । परियोजनाअन्तर्गत निर्माण भइरहेका पहिलो २० वटा घर बुकिङ गर्ने ग्राहकलाई आकर्षक अफर उपलब्ध गराइएको उनले सुनाए । हाउजिङ निर्माण सकिएपछि भैरहवा आसपास तारे होटल सञ्चालनको योजना रहेको उनले सुनाए । निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन किलोमिटर पूर्वमा परियोजनाअन्तर्गतका घर निर्माण भइरहेका छन् । स्विमिङ पुल, साउनाबाथ सेन्टर, डिपार्टमेन्टल स्टोर, पार्किङ एरिया, सामुदायिक हल, रेस्टुराँ, ब्याडमिन्टन कोर्ट, ग्रिनरी पार्कसमेत बनाइनेछ । चार बेडरुमसहितका घरलाई २ करोड र ५ बेडरुमसहितका घरको २ करोड ३० लाख रुपैयाँ मूल्य तोकिएको छ । प्रत्येक घरमा २/२ वटा रूख रोपी हाउजिङ कोलोनीलाई नै हरियालीयुक्त बनाउन ५ सय बिरुवा रोपिने पोखरेलले जनाए । २० वटा घरको पूर्ण निर्माण सकिन लागेको छ । ३० वटाको जग निर्माणको काम सकिएको उनले बताए । आवास परिसरको मुख्य बाटो ८ मिटर र सहायक बाटो ७ मिटरको हुनेछ । पूर्वाधार निर्माणका सबै सामग्रीमा मूल्यदर बढ्दै गएकाले यही दररेट कायम रहिरहन नसक्ने भएकाले निकट भविष्यमा घरको मूल्य परिवर्तन गरिने उनको भनाइ छ । काठमाडौंको तत्त्व कन्सल्टेन्सीले स्ट्रक्चरल डिजाइन गरिरहेको होम्सको बोधी डेभलपर्सले निर्माण ठेक्का लिएको छ । अहिले ५० घर निर्माणाधीन छन् । तीमध्ये २७ घरको बुकिङ भइसकेको छ । दुई वर्षभित्र पहिलो चरण पूरा गर्ने लक्ष्य रहेको उनले बताए ।

रूपन्देहीकै तिलोत्तमा–१६, मधवलिया चोकदेखि डेढ किलोमिटर पूर्वमा ४८ वटा घरसहितको माया रेसिडेन्सी तयार भइरहेको छ । सीई कन्स्ट्रक्सन प्रालिअन्तर्गत माया डेभलपर्सले आवास, अपार्टमेन्ट र कम्प्लेक्स निर्माण गर्ने गरी हाउजिङ परियोजना अगाडि बढाएको उक्त कन्स्ट्रक्सनका बजार व्यवस्थापक दीपेन्द्र केसीले बताए । उनका अनुसार तीन बिघा जमिनमा पहिलो चरणमा ४८ घर निर्माण भइरहेका छन् । ती घरलाई ‘ए’, ‘बी’ र ‘सी’ गरी छुट्याइएको उनले बताए । विजय भण्डारी अध्यक्ष रहेको उक्त प्रालिको परियोजनामा गोपाल मानन्धर अपरेसन निर्देशक छन् । श्याम मिलन श्रेष्ठ यसका वित्तीय निर्देशक हुन् । बजार व्यवस्थापक केसीले निर्माणाधीन आवासमध्ये २९ वटा बिक्री भइसकेको जानकारी दिए ।

हाउजिङको चहलपहलले पेसागत मानिसलाई सहजता प्रदान गर्ने बालरोग विशेषज्ञ डा. सन्तोष पोखरेल बताउँछन् । विदेशमा पेसा व्यवसाय गर्ने मानिस घर बनाएर बस्ने काममा व्यस्त हुनुहुँदैन भन्ने सोच रहेको भन्दै नेपालमा पनि यो ट्रेन्ड सुरु हुनु राम्रो भएको उनको भनाइ छ । ‘घर बनाउने समयमा उसले अन्य धेरै काम गर्न सक्छ,’ उनले भने, ‘यो सुविधा पेसागत सबैका लागि उपयक्त हुन सक्छ ।’ हाउजिङले ओगट्ने जमिन पनि खेर जान सक्ने भन्दै उनले फ्ल्याट सिस्टम गरे झनै सहज हुने बताए । हाउजिङ मानिसको चाहना भएको उद्योग वाणिज्य संघ बुटवलका अध्यक्ष उज्ज्वल कसजूको भनाइ छ । मानिसको व्यस्तता, बढ्दो जनघनत्व र जग्गा अभावले हाउजिङमा बस्ने इच्छा जगाइरहेको महसुस गरेको उनको धारणा छ । ‘मानिस दुःख गरेर पैसा कमाउँछ, भनेजस्तो जमिन र बस्ती भेट्दैन,’ उनले भने, ‘पैसा भएपछि शान्त र रमाइलो वातावरणमा बस्न कम्प्लेक्स क्षेत्र राम्रो रोजाइ बन्न सक्छ ।’ बस्ती विकासका क्रममा खेर जाने खालको जमिनको उचित प्रयोग गर्न सकिने कसजूको भनाइ छ ।

प्रकाशित : चैत्र ७, २०७८ १०:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?