१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८
लुम्बिनीको सामर्थ्य

विमानस्थल : उन्नतिको उडान

होटल, रेस्टुराँ, ट्राभल, हाउजिङ र सरोकारका क्षेत्रमा ह्वात्तै लगानी बढेको छ । यहाँ तारे होटल थपिने क्रम जारी छ । ठूला होटल सञ्चालनका लागि जग्गा खरिद गर्ने बढेका छन् ।
अन्तर्राष्ट्रिय उडान सुरू गर्ने गरी भइरहेको तयारी देखेर रुपन्देही र आसपासका बासिन्दा उत्साहित छन्, लामो समय विमानस्थल सञ्चालनमा नआएपछि निराश लगानीकर्ता फेरि जुर्मुराएका छन्
माधव ढुंगाना

रुपन्देहीको भैरहवास्थित बुद्धचोकबाट ६ किलोमिटर पश्चिम गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा अहिले चौबीसै घण्टा चहलपहल छ । विमानस्थल सञ्चालनको अन्तिम तयारीका लागि कर्मचारी दौडधुपमा छन् । अहिले अत्यावश्यक निर्माणको काम चलिरहेको छ ।

विमानस्थल : उन्नतिको उडान

अन्तर्राष्ट्रिय टर्मिनल भवनमा यात्रुका लागि आवश्यक जानकारीमूलक बोर्ड र सुरक्षा जाँचका उपकरण जडान भइसकेका छन् । विमानस्थलको टावर सञ्चालनमा आइसकेको छ । फागुन दोस्रो साता विमानस्थलको यान्त्रिक परीक्षण पूरा भएको छ । त्यससँगै अन्तर्राष्ट्रिय उडानका लागि तयारी थालिएको हो ।

विमानस्थल परिसरमा पानीका रंगीन फोहोराअगाडि उभिएर ‘सेल्फी’ खिच्न सर्वसाधारण झुम्मिन थालेका छन् । यहाँ आउने पाहुना लक्षित गरेर विमानस्थलबाहिर आकर्षक रेस्टुराँ र मार्ट सञ्चालन गरिएका छन् । कोही साविकका घर भत्काएर नयाँ साजसज्जामा जुटेका छन् । भैरहवा–लुम्बिनी सडक खण्डसित जोडिएकाले धेरै यात्रु आफ्ना सवारीसाधन रोकेर विमानस्थलको फोटो खिच्छन् ।

विमानस्थल सञ्चालनलाई लक्ष्य गरेर विभिन्न व्यवसाय थालेका लगानीकर्ता पछिल्लो पटक सरकारले तोकेको मितिमा अन्तर्राष्ट्रिय उडान सम्भव छ/छैन भनेर चासो र चिन्ता व्यक्त गरिरहेका छन् । आगामी जेठ २ मा बुद्ध पूर्णिमाका दिन अन्तर्राष्ट्रिय उडान सुरु गर्ने गरी भइरहेको तयारी देखेर रूपन्देही र आसपासका बासिन्दा उत्साहित छन् । लामो समय विमानस्थल सञ्चालनमा नआएपछि निराश भएका लगानीकर्ता अहिले जुर्मुराएका छन् । उनीहरूको निराशा फेरि आशामा परिणत हुन थालेको छ । बुद्ध जन्मस्थल लुम्बिनीलाई लक्षित गरेर विमानस्थल निर्माण गरिएको हो । यहाँका लगानीकर्तालाई बौद्ध धर्मावलम्बी मुलुकबाट श्रद्धालु सिधै भैरहवा विमानस्थलमा उत्रिने विश्वास छ । त्यसैले होटल, रेस्टुराँ, ट्राभल, हाउजिङ र सरोकारका क्षेत्रमा ह्वात्तै लगानी बढेको छ । यहाँ तारे होटल थपिने क्रम जारी छ । ठूला होटल सञ्चालनका लागि जग्गा खरिद गर्ने बढेका छन् ।

लुम्बिनी क्षेत्रका बासिन्दा र हजारौं लगानीकर्ता आउँदो जेठ २ गतेको व्यग्र प्रतीक्षामा छन् । त्यस दिन विमानस्थलमा व्यावसायिक अन्तर्राष्ट्रिय उडान गर्ने सरकारी घोषणा छ । अहिले यो विमानस्थल लुम्बिनी क्षेत्रमा उद्योग, पर्यटन, कृषि, पशुपालनलगायतका क्षेत्रमा लगानी गर्ने लगानीकर्ता र स्थानीय समुदायको आर्थिक समृद्धिका लागि आशा र भरोसाको आधार बनेको छ । आठ वर्षअघि भैरहवामा विमानस्थलको शिलान्यास भएपछि लगानीकर्ताले घरखेत बिक्री गरेर वा बैंकमा धितो राखेर चर्को ब्याजमा ऋण लिँदै विभिन्न क्षेत्रमा लगानी गरेका थिए । अहिले पर्यटक लक्षित पूर्वाधार तयार गरेका छन् । विमानस्थल सञ्चालनमा ढिलाइ भयो । विभिन्न कारणले गौरवको यो परियोजना पूरा हुने/नहुने अन्योल हुँदा आफूहरू ‘मर्नु न बाँच्नु’ को अवस्थामा पुगेको उनीहरूले बताएका थिए । कुन–कुन क्षेत्रमा कति लगानी वृद्धि भएको छ, त्यसको यकिन तथ्यांक उपलब्ध हुन सकेको छैन । करिब तीन वर्ष कोरोना भाइरस महामारीले थला पारेपछि लगानीकर्ता झन् निराश भए । यस अवधिमा सामान्य चियानास्ता पसलका लागि भाडामा सटर खोज्नेदेखि अर्बौं रुपैयाँ ऋण लिँदै पाँचतारे होटल र हाउजिङमा लगानी गर्ने धेरै भए । स्तरीय रेस्टुराँ, सुविधायुक्त यातायातका साधन, जमिन भाडामा लिएर आधुनिक कृषि, पशुपालन, उद्योगमा लगानी गर्ने सयौं छन् ।

भैरहवा र लुम्बिनीको सेरोफेरोमा मात्रै होइन, विमानस्थललाई लक्षित गरेर नवलपरासी, बुटवल, कपिलवस्तु क्षेत्रमा समेत लगानी बढ्दै गएको छ । यस्तै एउटा उदाहरण भैरहवाको प्रसिद्ध मिठाई पसल ‘पवन मिष्ठान्न’ का सञ्चालक पवन हलुवाई हुन् । आमा कलावतीको मिर्गौला रोगबाट निधन भएपछि उनकै स्मृतिमा १६ कट्ठा जमिन खरिद गरेर भैरहवामा अस्पताल सञ्चालन गर्ने तयारीमा थिए । तर, २०७१ माघ १ गते अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यास गर्न आएका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको भनाइले आफ्नो बाटो नै फेरिदिएको उनले सुनाए । ‘कोइरालाले यस क्षेत्रको पर्यटन व्यवसाय फस्टाउन विमानस्थल बनाएर मात्र हुँदैन, स्तरीय ठूला होटलहरूको खाँचो पनि उत्तिकै भएकाले तपाईंहरू लगानी गर्नुस् भन्नुभयो,’ उनले भने, ‘कोइरालाको यो भनाइपछि अस्पताल निर्माणको कामा थाँती राखेर होटल निर्माणतर्फ तम्सिएँ ।’

अहिले उनले तीन अर्ब रुपैयाँभन्दा धेरै लगानी गरी पाँचतारे होटल ‘पवन प्यालेस’ निर्माण गरेर सञ्चालनमा ल्याएका छन् । यति धेरै लगानी गरे पनि उनले गरेको लगानीको प्रतिफल सन्तोषजनक रूपमा आउन सकेको छैन । तीन वर्षमा सम्पन्न हुनुपर्ने विमानस्थल विभिन्न कारणले आठ वर्ष लाग्यो । दुई वर्षभन्दा धेरै कोरोना संक्रमणले पर्यटकको आवागमन शून्य भयो । पर्यटन व्यवसाय शिथिल हुन पुग्यो । ‘विमानस्थल चाँडो सञ्चालन होला र स्वदेशी/विदेशी पर्यटकको आवागमनले होटल भरिभराउ होला भन्ने आशाले होटलमा लगानी गरें,’ पवनले भने, ‘कोरोनाले पर्यटन व्यवसाय थलिएका बेला र विमानस्थल निर्माणको समय लम्बिँदा पनि सरकारीस्तरबाट व्यवसायीलाई कुनै किसिमको सहयोग भएन ।’ यस्तो बेलामा सरकारले व्यवसायीलाई राहतको प्याकेज कार्यक्रम ल्याउनुपर्ने उनको भनाइ छ । कोरोना बढी संक्रमण भएका बेला कम्तीमा बैंकको ब्याजसम्म मिनाहा र सहुलियतको व्यवस्था सरकारले गर्नुपर्नेमा उनको जोड छ । ‘यति धेरै लगानी गरियो, अबको आशा र भरोसा सबै यही विमानस्थल हो,’ पवनले भने, ‘विमानस्थल राम्ररी सञ्चालनका लागि सरकारले विभिन्न राष्ट्रसँग कूटनीतिक पहल गरेर सफल बनाउन सक्नुपर्छ । विमानस्थल राम्ररी सञ्चालन हुन नसके लगानी त डुब्छ नै, व्यवसायी सडकमा आइपुग्छन् ।’

पवनको अवस्था र भनाइले विमानस्थललाई लक्ष्य गर्दै लुम्बिनी क्षेत्रमा लगानी गर्ने आमलगानीकर्तालाई प्रतिबिम्बित गर्छ । लुम्बिनी क्षेत्रमा पछिल्लो समयमा विमानस्थललाई पछ्याउँदै सबैभन्दा धेरै होटलमा लगानी बढेको छ । लुम्बिनी/भैरहवा क्षेत्रमा मात्रै सात वटा पाँचतारे होटल निर्माण भएका छन्, जसमध्ये पवन प्यालेससहित २ वटा सञ्चालनमा आइसकेका छन् । अन्य सञ्चालनको तयारी नजिक छन् । बुटवल, शंकरनगर, मणिग्राम, भलवारी, नवलपरासी, कपिलवस्तुमा पनि होटल निर्माणको कार्य तीव्र गतिमा छ । जता हेर्‍यो उतै होटलका अग्ला संरचना देखिन्छ । १ सयभन्दा धेरै चार तारे होटल बनेका छन् । साना होटल पनि उत्तिकै निर्माण भइरहेका छन् । कसैले नयाँ पूरै संरचना बनाएका छन् । कतिपयले पहिलाको संरचनामा स्तरोन्नति गरेका छन् । सँगसँगै हाउजिङ व्यवसाय पनि सञ्चालनमा छ । लुम्बिनी क्षेत्रमा हाउजिङको निर्माण र लगानी नयाँ हो ।

अर्गानिक तरकारी र फलफूल खेती, व्यावसायिक माछापालन, पशुपालनका लागि पनि बैंकको ऋण लिँदै भाडामा जमिन लिएर व्यवसाय सञ्चालनमा छन् । विमानस्थलमा पर्यटकको आवतजावतका लागि पर्यटकीय बस, ट्याक्सी, रेस्टुराँमा पनि उत्तिकै लगानी बढेको छ ।

सरकारका तर्फबाट गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण र यसका लागि जग्गा अधिग्रहणको मुआब्जालाई समेत गरेर ३० अर्ब रुपैयाँ हाराहारीमा लगानी गरेको भए पनि त्यसको दस गुणा बढी विमानस्थललाई लक्ष्य गरेर निजी क्षेत्रको लगानी पुगेको भैरहवाका पर्यटन व्यवसायी एवं सोसाइटी अफ ट्राभल्स एन्ड टुर अपरेटर नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष सञ्जय बजिमय बताउँछन् । विमानस्थललाई लक्ष्य गरेर पर्यटन, कृषि, यातायात सबैमा गरेर तीन खर्ब रुपैयाँभन्दा धेरैको लगानी पुगेको उनको भनाइ छ । ‘यो लगानीलाई चलायमान बनाउने सबै भरोसा र आशा भनेकै विमानस्थलको सफल ढंगले सञ्चालन हो,’ बजिमयले भने, ‘यस विमानस्थलबाट धेरै आशा र अपेक्षा गरिएको छ ।’

विमानस्थलको मौसम, जहाजको दिशा पत्ता लगाउने र सञ्चारसम्बन्धी जडित सबै उपकरणको जाँचका लागि परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) भइसकेको छ । आउँदो वैशाख १ मा नेपाल वायुसेवा निगमको विमानबाट टेस्ट ल्यान्डिङ फ्लाइट गर्ने योजना छ । परीक्षण उडानपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले अन्तर्राष्ट्रियस्तरमा प्रस्ताव आह्वान गर्नेछ । र, अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) सँग समन्वय गरी उडानका लागि स्वीकृति लिनेछ । उक्त समयभित्र विभिन्न राष्ट्रका विभिन्न एयरलाइन्सले सेड्युअल र चार्टर फ्लाइटका लागि प्रस्ताव पेस गर्ने र उनीहरूको प्रस्तावलाई प्राधिकरण र अन्तर्राष्ट्रिय संस्थाहरूले स्वीकृत गरेपछि व्यावसायिक उडान गर्न सकिने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महानिर्देशक गोविन्द दाहाल बताउँछन् । सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र प्राधिकरणले २०७९ जेठ २ बुद्ध जयन्तीका दिन अन्तर्राष्ट्रिय व्यावसायिक उडान गर्ने जनाएको छ ।

सञ्चालनको सुरुमा प्रतिदिन १० र सन् २०३३ सम्म दैनिक ६० वटा अन्तर्राष्ट्रिय उडान गर्ने लक्ष्य रहेको दाहालले जानकारी दिए । ‘बुद्ध जन्मस्थल लुम्बिनीका कारण बुद्धिस्टलगायत अन्य विकसित मुलुक र खाडी मुलुकमा वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकलाई लक्ष्य गरेर विदेशी एयरलाइन्सले यहाँ हवाई उडान सञ्चालन गर्न चाहेको देखिन्छ,’ दाहाल भन्छन् । विमानस्थल सञ्चालनमा आएपछि गुणस्तरीय पर्यटकको आगमन र लुम्बिनीको बसाइ अवधि लम्ब्याउने खालका गतिविधि सञ्चालन गर्नुपर्ने पर्यटन व्यवसायी बताउँछन् । हालसम्म लुम्बिनी आउने ९० प्रतिशत विदेशी पर्यटक भारतीय ट्राभल्स एजेन्सीले नै बनाएको प्याकेजमा आउँछन् । गौतमबुद्ध विमानस्थलबाट सीधै बुद्धिस्ट मुलुकसँग हवाई उडान सम्बन्ध स्थापित भएपछि भारतीय ट्राभल्स एजेन्सीसँग निर्भर रहनुपर्ने नेपाली पर्यटन व्यवसायीको बाध्यता हट्ने बताइएको छ ।

विमानस्थल सञ्चालनमा आएपछि पर्यटन र औद्योगिक क्षेत्रमा यस प्रदेशले अर्को छलाङ मार्ने व्यवसायीको आशा छ । विमानस्थल सञ्चालनमा आएपछि पर्यटकको आवागमन बढ्दै जाने र बसाइ अवधि पनि लम्बिने भएकाले होटल, विद्यालय, कलेज, अस्पताल, हाउजिङजस्ता सेवामूलक उद्योगमा वृद्धि हुनेमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा भैरहवाका व्यवसायी राजेश अग्रवालको विश्वास छ । ‘विभिन्न विदेशी मुलुकसँगको सिधा उडानले नेपाली उत्पादन सिधै निर्यात गर्न सजिलो हुनेछ,’ अग्रवालले भने, ‘नेपालको अर्गानिक कृषि उत्पादन, प्रशोधित पानी, प्रशोधित माछा मासु, जडीबुटी विदेश निर्यात गर्न सहज हुनेछ ।’ हरियो तरकारी र सागसब्जी ती देशसँगको सिधा हवाई उडानबाट निर्यात गर्न सहज र सरल हुने उनको भनाइ छ ।

प्रकाशित : चैत्र ७, २०७८ १०:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?