प्रमुख पदमा महिलालाई अवसरकै कमी

‘पुरूषप्रधान सोच भएकाले महिलाको नेतृत्व स्विकार्दैनन्, त्यसैले प्रमुख पद पाइँदैन’
वीरेन्द्र केसी

अर्घाखाँची — अर्घाखाँचीका तीन नगरपालिकामा प्रमुख/उपप्रमुख दुवै पदमा पुरुष छन् । गाउँपालिका उपाध्यक्षमा भने महिला छन् । २०७४ को स्थानीय तह निर्वाचनमा कांग्रेस–माओवादी गठबन्धन भएकाले यहाँ महिला नेतृको उपप्रमुखमा चुनाव लड्ने अवसर पनि गुमेको हो । 

प्रमुख पदमा महिलालाई अवसरकै कमी

कांग्रेसका तर्फबाट सन्धिखर्क नगरपालिका उपप्रमुख उम्मेदवार भएर नेतृ कमला आचार्यले करिब एक साता मतदातासित भोट माग्दै हिँडिन् । चुनावी एजेण्डासहित गाउँ–गाउँमा मत माग्दामाग्दै कांग्रेस–माओवादीबीच चुनावी गठबन्धन भयो । त्यसपछि उनको उम्मेदवारी नै खोसियो । उनको ठाउँमा माओवादीका ठाकुरकुमार विक उम्मेदवार बनाइए । एमालेबाट उपप्रमुखमा उम्मेदवार बनेकी ईश्वरा पोखरेल पराजित भइन् । प्रमुखमा कांग्रेसका कमलप्रसाद भुसाल र उपप्रमुखमा विक विजयी भए ।

शितगंगामा एमालेबाट उपप्रमुखकी उम्मेदवार गीता भाट ५५ मतान्तरले कांग्रेस–माओवादी गठबन्धनका टीका रेश्मीसँग पराजित भइन् । कांग्रेसबाट उपप्रमुख उम्मेदवार भएर महिना दिनसम्म प्रचार गरेकी नेतृ मीना पौडेलले गठबन्धनकै कारण चुनाव लड्ने अवसर गुमाएकी थिइन् ।

मालारानी गाउँपालिकामा गठबन्धन र एमालेले उपाध्यक्षमा महिला उठाएका थिए । गठबन्धनलाई परास्त गर्दै उपाध्यक्षमा प्रमिला क्षत्री विजयी भइन् । छत्रदेवमा कांग्रेस नेतृ तुल्सादेवी श्रेष्ठ र पाणिनिमा एमालेबाट लक्ष्मी गौतम विजयी भए । शितगंगामा पराजित एमाले जिल्ला सदस्य भाटले अहिले उम्मेदवारका लागि पार्टीभित्र लबिइङ, कार्यकर्ता भेटघाट गरिहेकी छन् । ‘पार्टीले उम्मेदवार बनाए चुनाव लड्ने इच्छा छ,’ उनले भनिन्, ‘उम्मेदवार बन्ने अझै टुंगो छैन । मेरो व्यक्तिगत इच्छा भएर हुँदैन, पार्टीले अघि सार्छ कि सार्दैन, हेरौं ।’

संविधानमा प्रावधान भएकोले बाध्यतावश दोस्रो पदमा महिलालाई थन्क्याउने गरेको उनले बताइन् । ‘महिलाले अवसर पाए जस्तोसुकै नेतृत्व पनि इमानदारीपूर्वक हाँक्न सक्छन्,’ भाटले भनिन्, ‘पुरुषवादी सोच अझै कायम छ । भरसक महिलालाई अघि सार्न खोजिंदैन ।’ शितगंगामा कांग्रेस–माओवादी गठबन्धन र एमाले उम्मेदवारबीच प्रतिस्पर्धा थियो । महिलाले महिलालाई मत नदिनुको कारणमा भाटले पार्टीबाट प्रशिक्षित नहुनु, दबाबमा पर्नु, महिलालाई स्वतन्त्र रूपमा निर्णय गर्न नदिनु र महिलाहरू पनि आफ्नो निर्णय क्षमतामा कमजोरी देखिनु भएको बताइन् ।

एमालेबाट पाणिनि गाउँपालिका उपाध्यक्षमा निर्वाचित लक्ष्मी गौतम केही महिलाअघि कांग्रेसमा प्रवेश गरिन् । ‘उपाध्यक्षमा काम गरिसकें, मैले अध्यक्ष ढुक्कले चलाउन सक्छु,’ उनले भनिन्, ‘पुरुषप्रधान सोच भएकाले महिलाको नेतृत्व पुरुषले स्वीकार्दैनन्, त्यसैले प्रमुख पद पाइँदैन ।’ संविधानमै व्यवस्था नभएको भए स्थानीय सरकारमा महिला उपस्थिति हुन नसक्ने उनको तर्क छ । वडा सदस्यमा पनि अनिवार्य महिला भएकाले उपस्थिति छ । तर, वडाध्यक्षमा प्रतिस्पर्धी दलले महिला उम्मेदवार बनाउँदैनन् ।

छत्रदेव उपाध्यक्ष तुल्सीदेवी श्रेष्ठ र मालारानी उपाध्यक्ष प्रमिला क्षत्री अध्यक्षका लागि तयारीमा छैनन् । ०७४ मा निर्वाचित, पराजित र उम्मेदवार भएर पनि गठबन्धनका कारण अवसर खोसिएका महिला दोस्रो पदमै आकांक्षी देखिए पनि पार्टीले अवसर आफूलाई दिन्छ कि अरूलाई भनेर पर्खेका छन् । कांग्रेस लुम्बिनी प्रदेश कार्यसमिति सदस्य शान्ता भण्डारी आफूले सन्धिखर्क नगरपालिका प्रमुख भएर नगर हाँक्न सक्ने क्षमता राख्ने बताउँछिन् । पार्टीले अघि सारेमा उम्मेदवार बन्ने उनको इच्छा छ । हाल स्थानीय तहको निर्वाचनलाई केन्द्रित गरेर राजनीतिक गतिविधि तीव्र पारेका छन् ।

प्रकाशित : फाल्गुन २९, २०७८ ०८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?