गुरुयोजनाविपरीत मूर्ति ठड्याइँदै

लुम्बिनी — लुम्बिनीमा गुरुयोजनाविपरीत निर्माण भइरहेको विशाल बुद्धको मूर्तिको काम रोकिएको छैन । महायानी सम्प्रदायको विहार गुम्बा भएको पश्चिमी क्षेत्रस्थित ड्रिगुङ काग्युद् धर्मराजा फाउन्डेसनद्वारा निर्मित द ग्रेट लोटस स्तूपाको दक्षिण र युनाइटेड टुङ्गारा विहारको उत्तरमा रहेको लुम्बिनी स्क्वायर (वेस्ट पोन्ड) मा मूर्ति निर्माण भइरहेको हो ।

गुरुयोजनाले कल्पना नै नगरेको ठाउँमा मूर्ति निर्माण भइरहेको तथ्य कान्तिपुरले प्रकाशन गरेको थियो । त्यसपछि अझ छिटो निर्माण पूरा गर्न अहिले धमाधम काम भइरहेको छ । ड्रिगुङ काग्युद् धर्मराजा फाउण्डेसनका व्यवस्थापक तारा कट्टेल दिनभरि खटेर काम गराइरहेका छन् । उपाध्यक्षस्तरीय निर्णय गरेर २४ डिसेम्बर २०२१ मा काम गर्न लुम्बिनी विकास कोषले अनुमति दिएको हो । १ सय ६० मिटर वाई १ सय ६० मिटर क्षेत्रफल रहेको लुम्बिनी स्क्वायरको हरियाली बगैंचा र प्राकृतिक मनोरम स्थल नासेर मूर्ति ठड्याइँदै छ ।
मूर्ति राख्न बनाइएको आसन २२ फिट अग्लो छ । त्यसमाथि १२ फिट अग्लो मूर्ति बनाइँदैछ । शाक्यमुनि बुद्धको अर्धकदको मूर्ति बनाइएको छ । करिब २२ वाई २२ मिटरको जग्गामा बनाइँदै गरेको मूर्ति परिक्रमा गर्न चारैतिर ६/६ मिटरको पक्की बाटो बनाइनेछ । मूर्तिसम्म पुग्न पूर्वतिरबाट बाटो खोलिनेछ । त्यसलाई पनि पक्की बनाइनेछ । सिन्धुपाल्चोकबाट कालीगढ ल्याएर मूर्ति बनाउने काम पूरा गरी अहिले आसन फिनिसिङ गरिंदै छ । आउँदो अप्रिलभित्र निर्माण काम पूरा गर्न समयसीमा दिइएको निर्माण व्यवसायीले बताए । मूर्ति १ करोड रुपैयाँ लागतमा बनाउन थालिएको हो ।
लुम्बिनीको आध्यात्मिकता बढाउन मूर्ति निर्माण गर्नु नराम्रो नभएको कोषका सदस्य सचिव सानुराजा शाक्यले बताए । स्थानीय अनिल गुप्ताले भने लुम्बिनीमा बेथितिको चाङ बढेको आरोप लगाए । ‘जो बोल्छ ऊ तारो बन्छ,’ उनले भने, ‘लुम्बिनीमा गुरुयोजनाविपरीत काम गरेर फाइदा लिन स्वार्थी समूह नै सक्रिय छ ।’ दबाब, प्रभाव र प्रलोभनले प्रश्रय पाउँदा दिनानुदिन लुम्बिनीको पवित्रता घट्दै गएको पर्यटन व्यवसायी विष्णु बस्नेतले बताए ।
