कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

विद्युतीय बस सञ्चालनमा अन्योल

मनोज पौडेल

लुम्बिनी — लुम्बिनीलाई प्रदूषणरहित बनाउन १५ महिनाअघि भित्र्याइएका सवारीसाधनलाई बल्ल नम्बर प्लेट लुम्बिनीमा सञ्चालनका लागि भित्र्याइएको १५ महिनापछि वातावरण–मैत्री विद्युतीय बस र ट्याक्सीले नम्बर प्लेट पाएका छन् । लुम्बिनीलाई प्रदूषणरहित बनाउन ०७७ मंसिर ९ मा पहिलो खेप विद्युतीय बस र ट्याक्सी ल्याइएको थियो । १४ ट्याक्सी र ५ विद्युतीय बस अहिले २ नम्बर गेट अगाडि पार्किङ स्थलमा छन् । यी सवारीसाधन कसले कसरी सञ्चालन गर्ने भन्नेमा अझै अन्योल छ । 

विद्युतीय बस सञ्चालनमा अन्योल

संस्कृति, पर्यटन र नागरिक उड्डयन मन्त्रालयले टेन्डर गरेर ल्याएको हुँदा कोषका नाममा हस्तान्तरण भइसकेका छैनन् । यहाँ ल्याएपछि यी गाडी प्राविधिक रूपले ठिक छन्/छैनन् रिपोर्ट उपलब्ध गराउन एक वर्षभन्दा बढी समय लाग्यो । ‘सवारीसाधन प्राविधिक रूपमा ठिक छन्/छैनन् जाँचपास गर्नु पर्छ,’ लुम्बिनी विकास कोषका एक अधिकृतले भने, ‘जसले पायो उसले गरेर मान्य हुँदैन ।’ पर्यटन मन्त्रालय अन्तर्गत रहेको नागरिक उड्डयन प्राधिकरणका मेकानिकल र इलेक्ट्रिकल इन्जिनियर २ महिना अघि एकसाता लगाएर परीक्षण गरेका थिए ।

त्यसपछि यहाँका सडक अनुकूल छन्/छैनन् भनेर अध्ययन गर्ने काम एक महिनाअघि मात्र पूरा भएको कोषले जनाएको छ । सवारी परीक्षण कार्यालय बुटवलले सडकमा गाडी गुडाएर सडक वर्थनेस हेरेर सञ्चालन हुने अवस्था रहेको रिपोर्ट दिएको छ । सरकारी कागजी प्रक्रियालाई लामो समय लागेकाले सञ्चालन गर्न समस्या भइरहेको लुम्बिनी विकास कोषका सदस्य–सचिव सानुराजा शाक्यले बताए । सवारीसाधन नेपाल भित्रिएको १५ महिना हुन लाग्दा बल्ल पर्यटन मन्त्रालयको नाममा गाडी नामसारी भएको छ । मन्त्रालयका नाममा गाडी आएपछि सरकारी नम्बर प्लेट पाइएको उनले बताए । गाडी लुम्बिनी प्रदेशमा दर्ता भएर ब्लुबुक पनि मन्त्रालयले पाएको छ ।

‘अनौपचारिक रूपमा मन्त्रालयले कोषलाई हस्तान्तरण गरेको छ,’ उनले भने, ‘कागजी रूपमा केही दिनभित्रै काम सम्पन्न हुन्छ ।’ झन्झटिलो प्रक्रिया, संघीय र प्रदेश राजधानीबाट प्राविधिकहरू आउनु/जानु पर्ने हुँदा समय नमिल्दा दर्ता प्रक्रिया लम्बिएको हो । गाडी मन्त्रालयको नाममा आएसँगै मंगलबार त्यसमा नम्बर प्लेट लगाइने कोष योजना प्रबन्धक सरोज भट्टराईले बताए ।

कोषलाई मन्त्रालयले गाडी हस्तान्तरण गरेपछि सञ्चालनका विषयमा योजना बनाइने उनले बताए । ‘कसरी सञ्चालन गर्ने भन्ने विषय बहसमा छ,’ उनले भने, ‘निगम बनाएर गर्ने कि टेन्डर निकाल्ने भनेर छलफलमा छौं ।’ उता सवारीसाधन सञ्चालन गर्न प्रदेश सरकारले पनि चासो दिएको छ । विद्युतीय बस र ट्याक्सी समयमै सञ्चालन हुन नसक्दा बिग्रने जोखिम बढेको छ । चीनबाट आयात गरिएका बस र ट्याक्सी जहाज र लरीमा आउँदै डेढ महिना लागेको थियो । यहाँ थन्किएको पनि १५ महिना भयो । अझै कहिले चल्ने हुन्, ठेगान छैन । नचलाएर राख्दा बिग्रने, पाटपुर्जामा समस्या आउने र टुटफुट हुने जोखिम बढेको प्राविधिकहरू बताउँछन् । जति नचलायो, उति समस्या थपिंदै जाने बताइएको छ । धेरै सवारीसाधनका टायरका हावा फुस्किएका छन् । टायर दबेर बिग्रन थालेका छन् । ब्याट्रीमा समस्या देखिन थालेको छ ।

एसियाली विकास बैंकको अनुदान सहयोगमा क्लिन इनर्जी प्रोजेक्ट अन्तर्गत १३ करोडको लागतमा बस तथा ट्याक्सी भित्रिएका हुन् । सरकारले यी सवारीसाधनका लागि साढे ३ करोड भन्सार शुल्क व्यहोरेको छ । विश्वलाई लुम्बिनीसँग जोड्न भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट लुम्बिनीसम्म पर्यटक र तीर्थयात्रीलाई ल्याउन यी सवारी साधन प्रयोग गरिनेछ । त्यस्तै लुम्बिनीलाई विभिन्न बुद्धस्थल तिलौराकोट, रामग्राम र देवदहसँग जोड्न र त्यहाँ आवतजावतका लागि सजिलो बनाउन बस सञ्चालन गर्न पठाइएको हो । बस र ट्याक्सी अत्याधुनिक छन् । ठूलो बसमा १९ सिट छन् । उभिंदा ३५ जनासम्म अट्छन् । सानो भ्यान पाँचसिटे हो । पूर्ण वातानुकूलित बस अपाङ्गमैत्री छन् । स्वचालित ढोका छन् । आनन्ददायी सिट छन् । कार्डले स्टार्ट हुन्छ । आवाजरहित छ । एकपटक फुल चार्ज गरे ४ सय किमिसम्म गुड्छ । आपतकालीन ठूलठूला ढोका छन् । बस रोक्नका लागि सिटसिटमा बेल बटम छन् । थिच्नासाथ चालकनिर रहेको बत्ती बल्छ ।

सवारीसाधनका लागि लुम्बिनीमा बिजुली बस चार्जिङ स्टेसन सञ्चालनमा आइसकेको छ । स्टेसनबाट परीक्षण उत्पादन सफल भएसँगै डिसेम्बर तेस्रो साताबाट सुरु भएको हो । सोलारबाट बिजुली उत्पादन गरेर चार्जिङ स्टेसन सञ्चालन गरिएको छ ।

प्रकाशित : फाल्गुन ११, २०७८ १५:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?