समाजसेवी पुनको निधन- लुम्बिनी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

समाजसेवी पुनको निधन

अमृता अनमोल

बुटवल — विपन्नको शिक्षा र व्यवस्थापनमा सघाउँदै आएका समाजसेवी खेम पुनको निधन भएको छ । खेम–ओमी पुन कल्याणकारी प्रतिष्ठानका संस्थापक संरक्षक ६० वर्षीय पुनको मष्तिकघातका कारण मंगलबार मृत्यु भएको हो ।

प्रतिष्ठानका उपाध्यक्ष नारायणप्रसाद पन्थले पुनको उपचारका क्रममा काठमाडौंको ग्रिनसिटी अस्पतालमा मृत्यु भएको बताए । सोमबार हेलिकप्टरमार्फत काठमाडौंस्थित ग्रिनसिटी अस्पताल पुर्‍याएका उनलाई मंगलबार मध्यान्ह १२ बजे अस्पतालले मृत घोषणा गरेको थियो । पुन शनिबार विशेष बैठकका लागि विराटनगर पुगेका थिए । बैठककै क्रममा असहज लागरे बाहिरिएका उनी बेहोस अवस्थामा भेटिएपछि उपचारका लागि अस्पताल लगिएको थियो ।

गुल्मीको भार्सेमा जन्मेर बुटवलमा औषधि व्यवसाय गर्ने पुन र उनकी पत्नी ओमीकलाले आत्मशान्ति र पुण्यका लागि भन्दै आफ्नो कमाइको एक चौथाइ रकम जम्मा गरेर खेमओमी पुन कल्याणकारी प्रतिष्ठान स्थापना गरेका थिए ।

खेमको ५१ औं जन्मदिनको अवसरमा २०७० देखि स्थापित प्रतिष्ठानमा हाल एक करोड रकम छ । त्यसको ब्याजबाट २६ जनाले छात्रवृत्तिमा एमबीबीएस र इन्जिनियरिङ पढ्दैछन् । कोषबाट उनीहरुको पढाइमा मात्रै ४५ लाख रुपैयाँ खर्च भएको छ । पढाइमा तेज भए पनि आर्थिक अभावले समस्या भएका विद्यार्थीहरु छात्रवृत्तिका कारण पढ्न पाउँदा लक्ष्यमा पुग्न नसकेकालाई उनले कोषमार्फत छात्रवृत्ति दिने गरेका थिए ।

खेमले छोराको विहेमा हुने खर्च जोगाएर १० लाखको राजु सरिता पुन भोजन सहयोग कोष खोलेर विपन्नलाई खाद्यान्न सहयोग दिएका थिए । बाबु मनबहादुर र आमा गौरीका नामबाट ७ लाखको मनगौरी पुन शैक्षिक अक्षय कोष खोलेका थिए। त्यसबाट वर्षेनी विपन्न विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री दिइन्छ ।

हजुरआमा कला पुनको स्मृतिमा २ लाख रुपैयाँ दिएर कलापुन महिला समूह बनाएका थिए । समूहमार्फत बीउ पुँजी दिएर महिलाहरुलाई आयआर्जनमा लगाएका थिए । रुपन्देहीमा ज्येष्ठ नागरिक मिलन केन्द्र, शवदाह गृह, ध्यान योगकेन्द्र बनाउनेदेखि सामाजिक भवन बनाउन उनले रकम खर्चेका थिए ।

प्रकाशित : माघ २५, २०७८ १६:३३
प्रतिक्रिया
पठाउनुहोस्

नाट्य सम्राट समको स्मरण

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली वाङ्मय क्षेत्रका विशिष्ट साधक बालकृष्ण समको स्मरण गरिएको छ । सोमबार समको १२०औं जन्मजयन्तीका अवसरमा कमलपोखरी र प्रज्ञा परिसरमा अवस्थित बालकृष्ण समको प्रतिमामा माल्यार्पण तथा पुष्पगुच्छा अर्पण गरी समप्रति श्रद्धा अर्पण गरिएको थियो । 

त्यस्तै नेपाल प्रज्ञा प्रतिष्ठान र नेपाली शिक्षा परिषद्को सहकार्यमा प्रज्ञा भवनमा ‘बालकृष्ण समको व्यक्तित्व, कृतित्व र योगदान’ विषयक कार्यक्रम गरिएको थियो । कार्यक्रममा समले साहित्य लेखनमा पुर्‍याएको योगदानको परिचर्चा गरिएको थियो ।

वि.सं. १९५९ साल माघ २४ गते काठमाडौं ज्ञानेश्वरस्थित राणा परिवारमा जन्मिएका समले नेपाली वाङ्मयका कविता, नाटक, कथा लगायत विधामा उत्कृष्ट कृति रचना गरेका छन् । नाट्य क्षेत्रमा भने समले ‘नाट्य सम्राट’को उपाधि पाएका छन् । सम चित्रकारिता र अभिनयका क्षेत्रमा समेत उत्तिकै दख्खल राख्थे ।

प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, सदस्य सचिव एवम् दर्शनशास्त्र विभाग प्रमुख प्रा. जगतप्रसाद उपाध्याय, साहित्य (पद्य/काव्य) विभाग प्रमुख प्रा.डा. हेमनाथ पौडेल, शिक्षा परिषद्की अध्यक्ष प्रतिष्ठानकी प्राज्ञ सभा सदस्य रमा शर्मालगायतले समको योगदान र उनको व्यक्तित्वको चर्चा गरे ।

नेपाली वाङ्मयका प्रायः सबै विधामा समको विशिष्ट योगदान रहे पनि विशेषतः नाटकका क्षेत्रमा उनको योगदान अतुलनीय रहेको कुलपति उप्रेतीले बताए । उनले भने, ‘नाटकमात्र नभएर उहाँद्वारा रचना गरिएका कविता, नाटक, कथा उत्तिकै उत्कृष्ट छन् ।’

पारिवारिक परिवेशकै कारण वाङ्मय क्षेत्रप्रति आकर्षित भएको सुनाउँदै सदस्य सचिव उपाध्यायले राणा वंशमा जन्मिए तापनि प्रजातन्त्र, न्याय र समानताका साथै देश र जनताप्रति सम सधैं चिन्तित रहेको धारणा राखे ।

प्राज्ञ सभा सदस्य शर्माले नेपाली साहित्यका विशिष्ट साधक बालकृष्ण समको योगदान नेपाल र नेपाली कहिल्यै भुल्न नसकिने बताइन् । कार्यक्रममा साहित्य (लोकवार्ता र बालसाहित्य) विभाग प्रमुख देवी नेपालले समका रचनागत प्रवृत्ति झल्किने प्रतिनिधिमूलक कविताका अंशहरूको वाचन गरेका थिए ।

प्रकाशित : माघ २५, २०७८ १६:३१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×