२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

पाल्पामा चिसोले कठ्याङ्ग्रिएर २ जनाको मृत्यु

माधव अर्याल

पाल्पा — पाल्पाको तानसेन नगर क्षेत्रमा चिसोले कठ्याङग्रिएर शनिबार दुई जना पुरुषको मृत्यु भएको बताइएको छ । तानसेन नगरपालिका–२, बडीज्ञान टोलमा भाडामा बसेर ज्यामी काम गर्ने ३८ वर्षीय बसन्त गिरी र अर्घाखाँची छत्रदेव गाउँपालिका–४, रीठाको रुख घर भई हाल तानसेन बस्ने ५२ वर्षीय गोविन्द परियारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गिरीको सिल्खान टोलस्थित तानसेन–गुल्मी पक्की सडक खण्डको नजिकै भित्तामा घोप्टो परेको अवस्थामा मृत अवस्थामा भेटिएको प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले जानकारी दिए ।

परियारको शव तानसेन नगरपालिका–६, बसपार्कस्थित भित्तामा आड लगाई घोप्टो परी बसिरहेको अवस्थामा भेटिएको थियो । दुई फरक स्थानमा भेटिएका उनीहरूलाई बेहोस् अवस्थामा हो कि भनेर पाल्पा अस्पतालमा उपचारका लागि पठाउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरी निरीक्षक पचभैयाले बताए ।

पचभैयाका अनुसार चिसो मौसम र उस्तै प्रकृतिको भएर कठ्याङग्रिएर मृत्यु हुन सक्ने बताए । गिरीले तानसेनमा बसेर ज्याला मजदुरी काम गर्दे आएका थिए । उनलाई शनिबार बिहान ८ बजेको समयमा प्रहरी गस्ती टोलीले मृत अवस्थामा फेला पारेको थियो । उनको मृत्युको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अर्घाखाँचीका परियार भने तानसेन बजारमा मागेर खाँदै हिँड्ने गर्थे । पाल्पा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. जगदीश कुंवरले शवको प्रकृति हेर्दा पानी परिरहेको र चिसो मौसम भएकाले कठ्याङग्रिएर मृत्यु भएको हुन सक्ने बताए । ‘मृतक दुवैको अवस्था उस्तै भएको र पानीमा भिजेको अवस्थामा भएकाले पनि चिसोले कठ्याङग्रिएर मृत्यु भएको हुनसक्ने बढी सम्भावना छ,’ उनले भने ।

प्रकाशित : माघ २२, २०७८ २०:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?