कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

कोरोनाको डर हटेपछि जनजीवन सामान्य

खोपको व्यवस्थित प्रयोग र नयाँ भेरिएन्टको कम असरले गम्भीर बिरामी न्यून
सन्जु पौडेल

लुम्बिनी — संक्रमण भए पनि स्वास्थ्यमा जटिल समस्या हुन छाडेपछि सर्वसाधारण कोरोनासित डराउन छाडेका छन् । महामारीको त्रास हट्दै गएपछि रूपन्देहीको जनजीवन पनि सामान्य बन्दै गएको छ ।

कोरोनाको डर हटेपछि जनजीवन सामान्य

पहिलो र दोस्रो लहरका बेला संक्रमणका कारण यहाँका अस्पताल भरिभराउ हुन्थे । धेरै जनाको स्वास्थ्य अवस्था गम्भीर हुँदा सर्वसाधारण त्रासमा थिए । अहिले अस्पतालमा गम्भीर अवस्थाका बिरामी छैनन् । संक्रमण भएका व्यक्तिलाई जटिल लक्षण देखिएका छैनन् । अहिले बजार, सरकारी कार्यालय, वित्तीय संस्था, होटललगायत मानिसका घरमा भीडभाड र रौनक देखिएको छ । मानिस न सामाजिक दूरी अपनाउँछन्, न त स्वास्थ्य मापदण्ड नै । कोरोना संक्रमणको तेस्रो लहरका कारण लुम्बिनी प्रदेशका घरघरै बिरामी छन् । कोरोनासँग मेल खाने लक्षणका बिरामी धेरै छन् । स्वास्थ्यमा जटिल समस्या नदेखिएकाले सर्वसाधारण लक्षण भए पनि अस्पताल गएका छैनन् । त्यस्तै, विद्यार्थीलाई खोप लगाउने क्रम चलेपछि बन्द रहेका विद्यालय सञ्चालन गर्ने तयारीमा छन् ।

कोरोनाका बिरामी उपचार गर्न छुट्याइएका जिल्लाका दुई सरकारी र एक निजीमा समेत बिरामीको संख्या ३ देखि २० जनासम्म मात्र छ । अघिल्ला दुई लहरमा यी अस्पतालमा संक्रमितलाई राख्ने ठाउँ खाली नभएरै कतिको ज्यान गयो भने कतिलाई जिल्लाबाहिर लैजाने अवस्था आयो । तर अहिले बिरामीको संख्या न्यून छ । भर्ना भएका बिरामी उपचारपछि घर जाने स्थितिका छन् । यसले पनि दैनिक १ हजार बढी संक्रमित भई अक्सिजन अभावमै ज्यान गुमाएको तथ्यांक केलाउँदा रूपन्देहीमा ओमिक्रोनको असर त्यति नपरेको देखाउँछ ।

खोपको व्यवस्थित प्रयोग र नयाँ भेरियन्टको कम असरले गर्दा कोरोनाको डर मानिसमा हट्दै गएको लुम्बिनी प्रादेशिक अस्पतालका वरिष्ठ फिजिसियन कन्सल्टेन्ट डा. सुदर्शन थापाले बताए । उनले डेल्टाको तुलनामा ओमिक्रोनले बिरामीलाई गम्भीर बनाइहाल्ने प्रकृति नदेखिएकाले नै अस्पतालमा संख्या कम भएको जनाए । ‘अत्ताउँदैन भनेर नियम पालना गर्न पर्दैन भन्ने होइन,’ उनले भने, ‘बलिया मानिसमा असर नपरे पनि दीर्घरोगी, मधुमेहका बिरामी र उच्च रक्तचाप हुनेहरूलाई यसको नकारात्मक असर पर्न सक्छ ।’ ओमिक्रोनले बिरामी नै बनाउँदैन भन्ने सोच नराख्न भन्दै डा. थापाले वर्षभरि समाजमा यसको उपस्थिति रहिरहने बताए । अर्को भेरियन्ट आउने/नआउने निश्चित नहुँदासम्म यसको असर समाजमा भइरहने उनी बताउँछन् । साथै डा. थापाले नयाँ भेरियन्ट आएमा गम्भीरता नभए पनि स्वास्थ्य मापदण्ड पालना नगरे संख्या ह्वारर बढ्न समय नलाग्ने सुनाए ।

पछिल्लो साता जिल्लाको संक्रमित संख्या क्रमैसँग घट्दै गएको स्वास्थ्य कार्यालय प्रमुख गौरव ढकालले बताए । उनले अझै पनि खोपको दुवै डोज लगाउन ध्यान दिनुपर्ने भन्दै जनजीवन सामान्य बनिहालेको भन्दा पनि संख्या कम हुँदै गएको बताए । ‘भाइरसको अस्तित्व त उत्तिकै छ,’ उनले भने, ‘लापरबाही गर्ने बित्तिकै स्थिति बिग्रिन समय लाग्दैन ।’ नागरिकले आफ्ना तर्फबाट अपनाउनुपर्ने स्वास्थ्यका मापदण्डलाई दैनिकीमा परिवर्तन गर्नुपर्ने उनी बताउँछन् । हाल जिल्लाको तथ्यांक हेर्दा एक साताभरि १ सयभन्दा कम नै संक्रमित रहेको भन्दै उनले बिहीवार २३ जनामा मात्र संक्रमण देखिएको जानकारी दिए ।

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले भने अझै पनि स्वास्थ्य संस्थालाई तयारी अवस्थामा रहन भनेको संयोजक प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बताए । उनले पहिलो डोज लगाउने संख्या ९५ प्रतिशत, दोस्रोसमेत लगाएका ८३ प्रतिशत र १२ देखि १७ वर्षभित्रका ९५ प्रतिशत मानिसले खोप लगाइसकेकाले मनोबल उठ्नु स्वाभाविक भएको बताए । ‘संख्यात्मक हिसाबले ओरालो लाग्नु खुसीको कुरा हो,’ उनले भने, ‘सामाजिक स्वास्थ्य सुरक्षा र सामग्री प्रयोग र पालनामा भुल भने गर्न हुँदैन ।’ कोरोनाले यसअघि पनि पटक–पटक झुक्याएर तर्साएको र मानिसको मृत्यु भइरहेकाले जोखिम छैन भन्नु मूर्खता भएको उनले जनाए । प्रमुख जिल्ला अधिकारी तिवारीका अनुसार जिल्लाका संघसंस्था, स्थानीय तह र स्वास्थ्य संस्थासँगको छलफल र निरन्तर दबाबले संक्रमण दर घटाउने अभ्यास भइरहेको छ ।

नाकामा कडाइका साथ जारी राखिएको परीक्षणले समेत संक्रमितको संख्या घटाउन मद्दत गरेको उनले बताए । रूपन्देही जिल्लाको पछिल्लो तथ्यांकमै अस्पतालका बेडमा धेरै संक्रमित नहुँदा खुसी लागेको तिवारीको भनाइ छ । उनले पछिल्लो अपडेटले सुखद अवस्थातर्फ जिल्लाको स्थिति अघि बढाएको बताए । ‘अहिले अस्पतालमा कति बिरामी, दिनहुँ कोभिड संक्रमितको संख्या कति भनेर हेर्ने काम भइरहेको छ,’ उनले भने, ‘नियन्त्रण नै गर्ने भन्नेमा लागिपरेका छौं ।’ चिकित्सकीय अध्ययनका विषयमा बुझ्दा कोरोना घातक नदेखिएकाले नियन्त्रण गर्न सकिन्छ भन्ने लागेको उनले बताए ।

शुक्रबारसम्म लुम्बिनी प्रदेशमा सक्रिय संक्रमितको संख्या ६ हजार ६० रहेको छ । जसमध्ये १ सय २३ जना मात्र अस्पतालमा उपचाररत रहेको स्वास्थ्य निर्देशनालयका कोरोना फोकल पर्सन कौशल भण्डारीले बताए । पछिल्लो २४ घण्टामा प्रदेशमा पीसीआरबाट ८९ र एन्टिजेनबाट ४ सय ९१ जनामा संक्रमण पुष्टि भएको उनले जानकारी दिए । प्रदेशमा २४ घण्टामा निको हुनेको संख्या १ हजार ९७ रहेको छ ।

प्रकाशित : माघ २२, २०७८ ०९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?