नदीको दोहन रोक्न स्थानीयको माग


भैरहवा — राष्ट्रिय गौरव र अन्य आयोजनाका नाममा कराडौंको राजश्व अपचलन हुने गरी खोला/नदीको दोहन गरेको भन्दै रुपन्देहीको तिनाउ नदी किनारका स्थानीयले रोक्न माग गरेका छन् ।



विभिन्न सरकारी कार्यालयका जिम्मेवार कर्मचारी र स्थानीय निकायका जनप्रतिनिधिको संलग्नता यस खालको दोहन हुने गरेको आरोप स्थानीयको छ । उनीहरुले नदीजन्य वस्तुको यस खालको बेथितिबारे छानबिन गरी दोषीमाथि कारवाही गर्नकालागि बुटवलस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा गत पुस २७ गते निवेदन पनि दिएका छन् ।
स्थानीय निकायले ठेक्कापट्टा नलगाइ आफू अनुकुल गर्न राष्ट्रिय गौरव र अन्य आयोजनालाई नदीजन्य पदार्थ सहज उपलब्ध गराउनु भन्ने पत्र दिने गरेको स्थानीयको आरोप छ ।
आयोजनालाई आवश्यक पर्ने भन्दा दोब्बर परिमाणमा ठेकेदारको माग बमोजिम कार्यालयबाट माग गर्ने र ती कार्यालयले स्थानीय तहका लागि पत्राचार गर्दा एउटा पत्र बनाइदिए बापत ४ लाख रुपैयाँसम्म लिने गरिएको दाबी निवेदनमा गरिएको छ ।
यिनै पत्रका आधारमा स्थानीय निकायका जनप्रतिनिधि र कर्मचारीको मिलोमतोमा सामान्य टुक्रे आयोजनालाई पनि राष्ट्रिय र प्रदेश गौरवको आयोजना भनि नदीजन्य निर्माण सामाग्री उपलब्ध गराउन सिफारिस गर्ने गरिएको कुरा उल्लेख गरिएको छ ।
प्रति क्यु फिट ५ देखि १० रुपैयाँसम्म घुस लिइ अनुगमन बिना अत्यधिक नदी उत्खनन् गर्न दिइँदा नदी दोहन भएकाले आयोजनाको नाममा नदी उत्खनन् गर्न दिने रुपन्देहीका सबै स्थानीय तहका आयोजना सम्बन्धीको सम्पूर्ण पत्र निर्णय छानबिन गरि कारवाही गर्न अख्तियारसँग माग गरिएको छ ।
बुटवलस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख योगेन्द्रप्रसाद पाण्डेले तिनाउ नदी किनारका स्थानीयबासीन्दाले दिएको उक्त निवेदन आयोगको कन्द्रीय कार्यालय छानबिनको स्वीकृतिका लागि पठाइएको र केन्द्रबाट आदेश प्राप्त हुनासाथ सबै छानबिन गरिने बताए ।
‘छानबिनको आदेश आउनासाथ एउटा टिम बनाएर प्रारम्भिक छानबिन थालिहाल्छौं,’ पाण्डेले भने, ‘प्रारम्भिक छानबिनबाट अनियमितता भएको लागेमा विस्तृत छानबिनमा लाग्छौं ।’
प्रकाशित : माघ १५, २०७८ १२:१८