तानसेनमा सडकमै कोरोना परीक्षण - लुम्बिनी - कान्तिपुर समाचार

तानसेनमा सडकमै कोरोना परीक्षण 

माधव अर्याल

पाल्पा — कोरोना संक्रमण उकालो लागेको पाल्पामा परीक्षणको दायरा बढाउन सडकमै एन्टिजेनको व्यवस्था मिलाइएको छ ।  जिल्ला प्रशासन कार्यालयको समन्वयमा स्वास्थ्य कार्यालय, तानसेन नगरपालिका, पाल्पा अस्पतालले  प्रशासन कार्यालय अगाडि सडकमा कोरोना परीक्षण गरेको हो ।

कोरोना परीक्षणमा बैंक तथा वित्तीय संस्थामा काम गर्ने कर्मचारी, सर्वसाधारण नागरिक, निजामती सेवाका कर्मचारी, सेना, प्रहरीको सहभागिता रहेको थियो ।

सडकमा एन्टिजेन गर्दा ४५ प्रतिशत बढीमा कोरोना संक्रमण देखिएको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले जानकारी दिए । परीक्षणको क्रममा कोरोना संक्रमण देखिएका तर स्वास्थ्य अवस्था समान्य भएका नागरिकलाई तत्काल होम आइसोलेसनमा बस्न पठाइएको छ ।

सडकमा परीक्षण गर्ने अभियानलाई सदरमुकाम तानसेनको विभिन्न स्थानमा निरन्तरता दिइने स्वास्थ्य कार्यालयले जनाएको छ । खोप नलगाउने, मास्क नलगाई हिडेका, लापर्बाही गर्नेहरुलाई नै कोरोना संक्रमण देखिएको छ । पाल्पामा ६ सय ४६ सक्रिय संक्रमित रहेका छन् ।

स्थानीय तहले भने अझै पनि परीक्षणको दायरा बढाउन सकेका छैनन् । स्थानीयस्तरमा बिरामी भए पनि परीक्षण गर्नै नमान्ने समस्या रहेको रिब्दीकोट गाउँपालिका स्वास्थ्य शाखा प्रमुख सुनील अधिकारीले बताए । कोरोना संक्रमण समुदायमा फैलिइसकेको उनले बताए । तानसेनमा ३ सय ५ सक्रिय संक्रमित रहेका छन् भने सबैभन्दा कम निस्दीमा ८ जना रहेका छन् ।

प्रकाशित : माघ १५, २०७८ ११:३९
प्रतिक्रिया
पठाउनुहोस्

भेरोसेल खोप लगाएकालाई कोभिसिल्डको 'बुस्टर डोज'

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले भेरोसेल खोप लगाएकाहरूलाई बुस्टरको रुपमा कोभिसिल्ड खोप दिने निर्णय गरेको छ । भेरोसेल खोप अभाव भएपछि सरकारले कोभिसिल्डलाई नै बुस्टरका रूपमा दिन लागेको हो ।

विश्व स्वास्थ्य संगठन तथा राष्ट्रिय खोप सल्लाहकार समितिको सिफारिस तथा मन्त्रीस्तरीय निर्णयले ६० वर्षभन्दा माथिका व्यक्तिहरुलाई कोभिडविरुद्धको बुस्टर प्रदान गर्दा पहिला ( दोस्रो र पहिलो मात्रा) अन्तर्गत कोभिसिल्ड/एस्ट्राजेनेका/मोडर्ना/फाइजर /वा भेरोसेल खोप लगाएकाहरुलाई कोभिसिल्ड वा एस्ट्राजेनेका खोप दिने निर्णय गरेको हो ।

विश्व स्वास्थ्य संगठनको (स्ट्राटेजिक एडभाइजरी ग्रुप अफ एक्सपर्टस् अन इम्युनाइजेसन)ले १ महिना अघि एकथरी खोप लगाएकोले अर्को थरी खोप लगाउँदा रोगप्रतिरोधी क्षमताले राम्रो प्रतिक्रिया दिने बताएको थियो ।

यसअघि खोप सल्लाहकार समितिले पहिलो र दोस्रो मात्रा जुन खोप लगाएको हो त्यही खोप बुस्टरमा पनि लगाउन सिफारिस गरेको थियो ।

त्यसैगरी पहिलो मात्रा खोप लगाएकाहरुलाई दोश्रो मात्रा दिन सोही खोप नभएमा कोभिसिल्ड वा एस्ट्राजेनेका दिने स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले जनाएको छ ।

साथै विदेशमा पहिलो मात्रा कोभिसिल्ड/एस्ट्राजेनेका/मोडर्ना/फाइजर /भेरोसेल खोप लगाएकाहरुको हकमा दोस्रो मात्राको रुपमा कोभिसिल्ड/एस्ट्राजेनेका खोप प्रदान गर्ने निर्णय गरेको छ ।

खोप नभएपछि पहिले भेरोसेल लगाएकाले बुस्टर डोज पाएका थिएनन् । सरकारले माघ २ देखि अग्रपंक्तिमा खटिने, माघ १४ देखि ६० वर्षमाथि र पूर्ण मात्रा लगाएको ६ महिना पूरा भएकालाई बुस्टर डोज दिने भनी २०७८ पुस ९ गते निर्णय गरेको थियो ।


प्रकाशित : माघ १५, २०७८ १०:२४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×