नाकामा भीड रोक्न सकस- लुम्बिनी - कान्तिपुर समाचार

नाकामा भीड रोक्न सकस

शक्ति प्रयोगभन्दा पनि सम्झाइबुझाइबाट आउजाउ रोक्न खोज्दै प्रहरी र प्रशासन
जे पाण्डे

नेपालगन्ज — सदाझैं सीमानाकामा हतियारसहितका सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी देखिन्छन् । आइपर्न सक्ने जोखिमबाट जोगाउनु र सुरक्षा दिनु उनीहरूको जिम्मेवारी हो । तर, नाकामा अनियन्त्रित भीड रोक्न उनीहरूलाई पनि हम्मेहम्मे पर्ने गरेको छ । सीमा वारपार गर्नेको ठूलै लस्कर देखिन्छ । रोक्न खोज्दा कसैले टेर्दैनन् ।

मानिसको लस्कर कसरी कम गर्ने भनेर चिन्तित प्रहरी प्रशासनका अधिकारी शक्ति प्रयोगबाट भन्दा पनि मन जितेर आउजाउ रोक्ने र संक्रमण नियन्त्रण गर्ने प्रयासमा छन् ।

‘अरू त कुनै उपाय नै देखिएन,’ जिल्लाका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले भने, ‘बोली–बचनले रोक्नुबाहेक विकल्प रहेन ।’ अधिकारीले आफ्नो टोलीलाई राम्रो र नम्र बचनले आममानिसलाई सम्झाउन अह्राए । ‘सीमापारि जाँदा संक्रमित भएर अकालमा ज्यान जान सक्ने खतरा हुन्छ,’ उनले भने, ‘त्यसैले यो महामारीबाट जोगिऔं । बाँचे फेरि किनमेल गरौंला भनेर सम्झाउनुपर्छ ।’ उनको भनाइलाई चेक पोस्टमा खटिएका जवानले पालना गरेका छन् ।

‘तपाईंले लगाएको मास्कले मेरो ज्यान जोगाउँछ । मैले लगाएको मास्कले तपाईंको प्राण रक्षा गर्छ’ भन्दै सीमावरपर माइकिङ गरिएको सुनिन्छ । सीमापारि जाने हतारमा रहेकी सानु थापा त्यही आवाज सुनेपछि एकछिन उभिइन् । त्यतिबेलै जिल्ला कोरोना फोकल पर्सन तेज वली र नेपालगन्ज उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतले अवसर छोपे । मास्क दिँदै विनम्रतापूर्वक लगाउन आग्रह गरे । ‘माइकबाट गरिएको अपिल भावुक थियो,’ सानुले भनिन्, ‘मेरा पनि आँखा खुले । अब संक्रमण नरोकिँदासम्म म पनि भारत जान्नँ ।’

सीमानाका हुँदै भारत आउजाउ गर्नेलाई कसरी कम गर्ने भन्ने सुरक्षा अधिकारी र स्वास्थ्यकर्मीका लागि अहिले प्रमुख समस्या र चुनौती बनेको छ । पश्चिमको प्रमुख नाका जमुनाह हुँदै दैनिक हजारौं मानिस ओहोरदोहोर गर्छन् । जबकि, नेपालमा भन्दा भारतमा संक्रमण व्यापक छ । यो अवस्थामा अत्यावश्यक कामबाहेक सीमावर्ती बजार नजान सुरक्षाकर्मी, स्थानीय प्रशासन र स्वास्थ्यकर्मीले आमनागरिकलाई सुझाव दिएका छन् । सामान्य किनमेलका लागि सीमापारिको बजार जाने क्रम नरोकिँदा यहाँ संक्रमण बढेको निष्कर्ष जिल्ला कोरोना व्यवस्थापन केन्द्रको छ ।

सरकारले सीमानाकामा स्वास्थ्य परीक्षण बढाउन निर्देशन दिएको छ । तर त्यसका लागि चाहिने जनशक्ति अभाव छ । नाकाबाट हुँदै आएको आउजाउ र भीड नियन्त्रण गर्न ठोस प्रयास भएको छैन । खुकुलो र भद्रगोलको अवस्थाले संक्रमण नियन्त्रण चुनौतीपूर्ण बनेको हो । प्रहरीले ट्याम्पो र रिक्सालाई सीमापारि जान र आउन रोकेको छ । सवारीसाधन नियन्त्रण गर्दा पनि नाकामा मानिसको घुइँचो कम नहुँदा संक्रमणको ग्राफ उकालो लाग्दै गरेकाले सीमापारिको आउजाउमा कमी ल्याउन बचन र व्यवहारले मन जितेर नियन्त्रण गर्ने प्रयास थालिएको हो । ‘बोली र व्यवहारले मानिसको मन जित्न र परिवर्तन गर्न सकिन्छ जस्तो लाग्छ,’ प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले भने, ‘अहिले हाम्रो प्रयास त्यतै केन्द्रित छ ।’

सीमापारिको बजार जाने क्रम नरोकिँदा ८० देखि ९० प्रतिशत मानिस संक्रमणको चपेटामा परिसकेको परीक्षणले देखाएको छ । ‘घरघरै संक्रमित छन्,’ कोरोना फोकल पर्सन वलीले भने, ‘जसमध्ये धेरै भारतबाट आएकाहरू छन् । त्यसैले सकेसम्म सीमापारि नजाऔं भन्दै आएका हौं ।’ बाँकेमा तीन सातायता तीन संक्रमितको उपचारकै क्रममा मृत्यु भएको छ ।

प्रकाशित : माघ १५, २०७८ ११:५८
प्रतिक्रिया
पठाउनुहोस्

खेत मासेर बजार

छिन्खेत अहिले बाँफिकोट गाउँपालिकाको मुख्य व्यापारिक केन्द्र बनेको छ 
हरि गौतम

रुकुम पश्चिम — ५ वर्षअघिसम्म सबैभन्दा बढी अन्न बाली उत्पादन हुने बाँफिकोट गाउँपालिका–४ छिन्खेतमा खेत मासेर धमाधम घर बनाउने क्रम बढेको छ । छिन्खेत अहिले बाँफिकोट गाउँपालिकाको मुख्य व्यापारिक केन्द्र बनेको छ । 

मान्छेको भीडभाड र क्षणक्षणमै गाडीको ओहोरदोहोरले अहिले छिन्खेतमा दैनिक चहलपहल हुने गरेको छ । अहिले छिन्खेतमा धमाधम घर बनाउने र व्यवसाय गर्नेहरूको संख्या बढिरहेको छ । पछिल्लो ३ वर्षकै अवधिमा छिन्खेतमा बजार बसेको हो । त्यसअघि खेतकै बीचबाट सडक बनेको भए पनि खासै चहलपहल थिएन ।

यसअघि नै सडक सञ्जालले जोडेको छिन्खेत स्थानीय तहको निर्वाचनपछि थप व्यवस्थित र विस्तार हुँदै गएको स्थानीय बालकृष्ण रिजालले बताए । उनका अनुसार अहिले छिन्खेतमा खेत हुनेहरूले खेत मासेर घर र भवनहरू बनाइरहेका छन् । ‘पहिला छिन्खेत मात्रै भनिने यो ठाउँ अब छिन्खेत बजारमा परिचित भइसकेको छ,’ उनले भने, ‘महिनैपिच्छे यहाँ नयाँ घर बनाउने प्रतिस्पर्धा चलिरहेको छ ।’ बजारलाई लक्षित गरी सेन्चुरी बैंकले शाखा राख्ने अन्तिम तयारी गरेको छ । स्थानीय ७४ वर्षीय

जोखबहादुर मल्लका अनुसार सुरुमा यो ठाउँको नाम छिङखेत थियो । किंवदन्तीअनुसार छिङ गाउँका किसानका खेत यहाँ रहेका कारण छिङखेत भनिन्थ्यो । पहिलाको छिङखेत अप्रभंश भई छिन्खेत बन्न पुगेको उनले बताए । ‘हाम्रा पुर्खाले हामीलाई छिङका खेत भएकाले यसको नाम छिङखेत भएको हो भनेर भन्नुहुन्थ्यो,’ उनले भने, ‘खोलाका कारण यी खेत कटान भएर अर्को क्षेत्रमा परेको पनि किंवदन्ती छ ।’

अहिले छिङ गाउँ सानीभेरी नदीवारि पर्छ भने छिन्खेत पारि । स्थानीय युवा खुवीराज शाहीले पनि छिङखेतबाट छिन्खेत भएको बताए । उनका अनुसार खोलाले छिङगाउँ र छिङखेतलाई वारपार बनाइदिएपछि छिङवासी यी खेतलाई दाबी गर्न नआएको किंवदन्ती छ । त्यसपछि मग्माका बासिन्दाले ती खेतहरू हकभोग गरी नापी गरेको थाहा पाएको शाहीले जानकारी दिए ।

छोटै समयमा छिन्खेत बजारका रूपमा विस्तार भएको स्थानीय व्यवसायी डिलबहादुर कुसारीले बताए । ‘३ वर्षमै छिन्खेतले बजारको आकार लियो,’ उनले भने, ‘चारैतिरबाट सडक जोडिएपछि अहिले अन्य ठाउँका मानिसहरू पनि यहाँ व्यापार गर्न आएका छन् ।’ गाउँपालिकाको केन्द्र भाग मानिने हुनाले पनि यहाँ बजार विस्तार हुन समय नलागेको अर्का व्यवसायी हिमसिङ ठकुरीले बताए । छिन्खेत बजार बनेपछि आफू गाउँको व्यवसाय छाडेर यहाँ झरेको उनको भनाइ छ । अहिले छिन्खेतमा साना/ठूला गरी झन्डै १ सय व्यापार व्यवसाय रहेको उनले जानकारी दिए ।

गाउँपालिकाले केही विषयगत कार्यालय छिन्खेत बजारबाट सञ्चालन गर्दै आएको छ । कृषि, शिक्षा, युवा तथा खेलकुद शाखा, वनलगायतका शाखाको सेवा छिन्खेतबाट प्रवाह भइरहेको छ । गाउँपालिका अस्पताल बनाउने तयारी पनि छिन्खेतमै छ । छिन्खेत बजारदेखि गाउँपालिकाको केन्द्र झन्डै ४ किलोमिटर टाढा छ । छिन्खेत बजारलाई थप व्यवस्थित बनाउने योजना रहेको गाउँपालिका अध्यक्ष धर्मबहादुर केसीले बताए । उनका अनुसार सडक र बजारलाई व्यवस्थित गर्न थालिएको छ ।

प्रकाशित : माघ १५, २०७८ ११:५५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×