कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

खोपमा पहुँच बढाउन पालिकाको घरदैलो

खोप लगाउन नमान्ने र छुटेकाको घरघरै पुगेर धमाधम विवरण संकलन हुँदै ‚ पर्याप्त खोप उपलब्ध नहुँदा सेवाग्राही खोप केन्द्र पुगेर रित्तै फर्किन बाध्य
सन्जु पौडेल

लुम्बिनी — रूपन्देहीको सैनामैना–२ की निर्मला बेलबासे आइतबार दिनभर व्यस्त थिइन् । बिहान ७ बजे उठेर गाडीमा ब्यानर टाँगिन् । टोलका केही सदस्यले गाडीमा बसेर माइकिङ गर्न थाले । बाँकी सदस्य टोलका घरघर पुगेर सबैलाई खोप लगाउन आग्रह गरे । खोप लगाउन छुटेकाको जानकारी बटुले ।

खोपमा पहुँच बढाउन पालिकाको घरदैलो

सैनामैना नगरपालिकालाई कोरोनाविरुद्धको पूर्ण खोप लगाउन सफल नगर घोषणा गर्न अहिले घरदैलो कार्यक्रम थालिएको हो । ‘नगरभरि यसरी नै घरघर पुगिरहेका छौं,’ खकनपुर टोल विकास संस्थाकी अध्यक्ष बेलबासेले भनिन्, ‘सबै सदस्यलाई खोप लगाउनुपर्छ भन्ने प्रचार गर्दै घरदैलोमा पुगिरहेका छौं ।’ घरदैलो गर्दा अधिकांश स्थानीयले खोप लगाइसकेको बताउने गरेका उनले सुनाइन् । खोप लगाउन छुटेकालाई यस्तो अभियानले खोप केन्द्रसम्म पुर्‍याइरहेको उनको भनाइ छ । टोलको तथ्यांक केलाउँदा विभिन्न रोगको औषधि खाइरहेका, खोप लगाउने उमेर समूहबारे जानकारी नपाएका र नगरबाहिर मजदुरी गर्न जानेले मात्र खोप नलगाएको पाएको उनले बताइन् ।

सैनामैना नगरक्षेत्रमा ७० हजार ७ सय ८६ जनाले खोपको पहिलो मात्रा लगाइसकेको स्वास्थ्य शाखा प्रमुख हेमराज पन्थीले बताए । दोस्रो मात्रा लगाउने ७९ प्रतिशत पुगेको उनले जनाए । पालिकाभरि टोलटोल र घरघर पुगेर छुटेकाको विवरण संकलन गर्न थालिएको उनले बताए । ‘सूचना पाएनौं, नलगाए पनि हुन्छ भन्ने २१ प्रतिशतलाई अहिले खोप लगाउनुपर्छ भनेर आश्वस्त पारिरहेका छौं,’ उनले भने, ‘मजदुरी गर्न आएका, भाडामा बस्नेहरूलाई समेत खोजीखोजी लगाउन पठाइएको छ ।’ भर्खरै पूर्ण खोपयुक्त पालिका नबने पनि अभियान जारी राखिएको उनको भनाइ छ । पालिकामा १२ वर्षमाथिका सबैलाई खोप लगाउने अभियान जारी छ ।

तिलोत्तमा नगरपालिकाले हरेक नागरिकलाई खोप लगाउन दोस्रो पटक टोल अभियान थालेको छ । कोही पनि खोपबाट वञ्चित नहुन् भन्ने उद्देश्यले कर्मचारी घरदैलोमा पठाएर खोपबारे पूर्ण जानकारी गराइरहेको नगरपालिकाका कोरोना फोकल पर्सन केशवराज भट्टराईले बताए । आफूहरूको आकलनमा अघिल्लो अभियानमा ३ हजार जनसंख्या छुटेको देखिए पनि तेस्रो लहरयता ५ हजारभन्दा बढीले खोप लगाइसकेका उनले जनाए । ‘मजदुर, अन्य स्थानका विद्यार्थी र बिरामी मानिसले नलगाएका रहेछन्,’ उनले भने, ‘खोपको प्रभावकारिता बताउँदै लगाइदिँदै गरिरहेका छौं ।’ अभियानमा टोल विकास संस्थाहरूले समन्वय र सहयोग गरिरहेका उनले बताए । यो अभियानपछि बालबालिका र दोस्रो मात्राका लागि समय नपुगी रोकिएकाहरूलाई खोप लगाइसक्ने उनको भनाइ छ । पालिकामा आउँदो सोमबारसम्म जानसेन खोप लगाउने कार्यक्रम जारी राखिने उनले बताए ।

कपिलवस्तुको विजयनगर गाउँपालिकामा माइकिङ र स्वास्थ्य स्वयंसेविका घरघर पठाई छुटेका व्यक्तिको तथ्यांक संकलन गरिएको छ । खोप लगाउने क्रम चल्दाचल्दै सिरिन्ज सकिएपछि ३ दिनसम्म खोप कार्यक्रम अभियान रोकिएको थियो । पालिकाभरिका जनता खोप केन्द्रसम्म आई फर्किने अवस्थाले निराश बनाएको पालिकाका स्वास्थ्य संयोजक यज्ञप्रसाद अधिकारीले गुनासो गरे । खोप आइसकेपछि पुनः पालिकामा रहेका ६७ स्वयंसेविकालाई श्रमबापतको पारिश्रमिक दिई घरघरमा खोपबारे जानकारी गराउन खटाइएको उनले बताए । ‘सुरुमा खोप नै नआउँदा हामी सुरक्षित मात्र हुन पाए हुन्थ्यो भन्ने स्थिति आयो,’ उनले भने, ‘खोप सबैको पहुँचमा पुर्‍याउने विषयमा खोप आउने स्थानबाट आवश्यकता पूरा हुने गरी आउनुपर्छ ।’ हालसम्म २० हजार ८ सय ८८ जनाले पहिलो मात्रा लगाएको यस पालिकामा ११ हजारभन्दा बढीले पूर्ण खोप लगाएको उनी बताउँछन् ।

सार्वजनिक स्थान र कार्यालयमा खोप कार्ड अनिवार्य गरिएपछि पनि खोप केन्द्र खोज्दै आउनेहरूको भीड बढेको अर्घाखाँचीको छत्रदेव गाउँपालिकाका सूचना अधिकारी बुद्धिराम न्यौपानेले बताए । पालिकाका ३ सय ५० जना खोप लगाउन छुटेकोमा अहिले लगाउने काम अघि बढाएको उनले बताए । बुधबारदेखि खोप लगाउन थालिए पनि आवश्यकताअनुसार खोप नहुँदा रोकिनुपरेको उनले गुनासो गरे । ‘चाहिएको समयमा खोप उपलब्ध हुने हो भने पूर्ण खोप पालिका हुन चाहेका छौं,’ उनले भने, ‘सरकारले तोकेको मितिअगावै हुन पाए अन्तिममा हतार हुँदैन ।’

बाँकेको नरैनापुर गाउँपालिकाका ५७ प्रतिशतले मात्र खोप लगाएका छन् । उक्त पालिकामा रहेका अधिकांश मानिस खोप लगाउन नआउँदा समस्या परेको जनस्वास्थ्यक अधिकृत नागेन्द्रकुमार साहले बताए । उनले माइकिङ, सामाजिक सन्जालजस्ता माध्यमका सूचनाले पालिकाका मानिस नआउने भएकाले टोलटोलमा स्वयंसेविका खटाएको बताए । ‘एक लटको अभियान सक्यौं, मानिस आउने छाँट देखिएन,’ उनले भने, ‘शुक्रबारदेखि पुनः तीनदिने अभियान राख्दै छौं ।’ सार्वजनिक स्थलमा खोपकार्ड अनिवार्य हुँदा समेत घरको एक सदस्यले सुविधा लिनका लागि लगाउने र अन्य घरमै बस्ने गरेको उनले सुनाए ।

पहिले खोपको मात्रा पाउनै हारालुछ भएको र अहिले सुनिश्चित भएकाले खोप अभियान राम्रो भएको डा. सुदर्शन थापा बताउँछन् । उनले संक्रमण दर घटाउन र बिरामीमा अप्ठ्यारो स्थिति आउन नदिन खोप नै एक मात्र उपयोगी माध्यम बनेको बताए । ‘टोल र घरघरको अभियान जारी नै राख्नुपर्छ,’ उनले भने, ‘जतिसक्दो छिटो खोपको मात्रा पूरा गर्न सके भाइरसको जोखिमबाट हरेक नागरिकलाई जोगाउन सकिन्छ ।’

प्रदेशको स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालयका सचिव डा. विकास देवकोटा पालिकाहरूको यो अभियान सही रहेको बताउँछन् । उनले प्रदेश सरकारले स्वास्थ्य केन्द्रमार्फत पालिकासँग नै समन्वय गरी खोप अभियानलाई अघि बढाइरहेको जनाए । ‘जनसंख्याका आधारमा कम प्रतिशतले लगाएको देखिने, खोप केन्द्रमा मानिस खाली हुने स्थानमा यस्ता प्रचार आवश्यक छन्,’ उनले भने, ‘६० प्रतिशत बढीले पहिलो डोज लगाइसकेको तथ्यांक हामीसँग रहँदा बाँकीलाई खोप लगाइदिने अभिभारा पूरा गर्न पनि लागिपरेका छौं ।’

प्रकाशित : माघ १४, २०७८ १३:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?