कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

चुनढुंगा दोहन गर्नेलाई कारबाही माग

पाल्पा — एमाले पाल्पाले जथाभावी चुनढुंगा दोहन गर्नेलाई नियमानुसार कारबाही गर्न माग गरेको छ । जिल्लाभित्रका डाँडापाखामा रहेका चुनढुंगा र प्राकृतिक सम्पदाको प्रयोग र उपभोगमा अनियमितता र अपारदर्शी ढंगबाट दोहन भइरहेकामा एमालेले ध्यानाकृष्ट भएको जनाएको हो ।

चुनढुंगा दोहन गर्नेलाई कारबाही माग

तानसेनमा समसायिक विषयमा बुधबार आयोजित पत्रकार भेटघाटमा एमालेले सम्बन्धित निकायले आवश्यक छानबिन र नियमन गरी दोषीउपर कारबाहीको माग गरेको छ । एमाले अध्यक्ष धनेन्द्रराज घिमिरेले जारी गरेको विज्ञप्तिमा चुनढुंगा उद्योग सञ्चालन गर्दा दीर्घकालीन रूपमा पर्न सक्ने असर र प्रभावलाई ध्यानमा राख्दै व्यवस्थित र पारदर्शी रूपमा सञ्चालन गर्नुपर्नेमा जोड दिइएको छ ।

पछिल्लो समयमा सञ्चारमाध्यमले उठान गरेको चुनढुंगा खानी सञ्चालकले गरेको दोहन, अनियमितता, अपारदर्शिताका विषयमा आवश्यक छानबिन र दोषीलाई कारबाही गर्नुपर्ने एमाले पोलिटब्युरो सदस्य तथा जिल्ला इन्चार्ज ठाकुर गैरेले बताए ।

‘चुनढुंगा खानीबाट एमाले पाल्पाको खातामा कुनै पनि सहयोग आएको छैन,’ उनले भने, ‘पार्टीले रकम लिएर जथाभावी दोहन गर्न दिएको भन्ने भनाइप्रति हाम्रो सहमति छैन ।’

केन्द्रीय महाधिवेशन र जिल्ला अधिवेशनमा कुनै पनि चुनढुंगा खानीबाट सहयोग नलिइएको समेत उनले दाबी गरे । चुनढुंगा खानीको नाममा अमुक व्यक्तिले फाइदा लिएकामा उनले आपत्ति जनाए ।

नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य अनिलकिशोर घिमिरेले पनि निस्दीको ज्यामिरे, माथागढीको रहवास, हात्तीलुङ, तिनाउको मस्याम, मरेश, श्रीडाँडा, कचल, सिद्देश्वर, कोलडाँडालगायतका स्थानमा रहेको सबै चुनढुंगा खानीले मापदण्डविपरीत उत्खनन गरेको बताएका छन् । उ

नले पाल्पा क्षेत्रबाट दैनिक २ हजार टिपर बढी चुनढुंगा निकासी भए पनि नापजाँच केही नभएको बताए । चुनढुंगा खानी उत्खनन गरेको १३ वर्षसम्म पनि धर्मकाँटा प्रयोग नगरेको उनले सुनाए । ‘प्राविधिकको रेखदेखबिना जथाभावी उत्खनन गर्ने र टिपरमा तराईका विभिन्न जिल्ला झार्ने गरिएको छ,’ उनले भने, ‘खानी सञ्चालन गर्दा ध्वनि, वायु, जमिन र जल प्रदूषण भइरहेको छ ।’

उनले उपल्लो र तल्लो तटीय क्षेत्रमा प्रतिकूल प्रभाव परिरहेको बताए । मानवीय क्षति गराउने, मानवीय स्वास्थ्यमा खेलवाड गर्ने, पर्यावरणमा प्रतिकूल प्रभाव पार्ने, राज्यलाई ठग्ने चुनढुंगा खानी उत्खनन रोक लगाएर कारबाहीको दायरामा ल्याउन उनले माग गरे ।

प्रकाशित : माघ १३, २०७८ ११:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?