कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोना उपचारमा सकियो ८३ लाख

८४ दिनको अस्पताल बसाइ, तीन महिनापछि बल्ल छोरीको न्वारन
अमृता अनमोल

बुटवल — कोरोना महामारीले धेरैको ज्यान लिएको छ । तर कोही भाग्यमानी छन्, जो चिकित्सकले आस मारे पनि मृत्युको मुखबाट फर्केका छन् । चर्चित राष्ट्रिय भलिबल खेलाडी रूपन्देहीको तिलोत्तमाका लोकेन्द्र भण्डारीको परिवार त्यसैमध्येको हो । कोरोना संक्रमणमा परेका उनी र उनको परिवारले भोगेका दुःख कहालीलाग्दा छन् ।

कोरोना उपचारमा सकियो ८३ लाख

मणिमुकुन्द भलिबल क्लब र सिद्धार्थ बोर्डिङ स्कुलका ‘कोच’ लोकेन्द्रको परिवारमा कोरोना महामारी उनको जीवनमा समस्याको पहाड बनेर आयो । उनीसहित चार जनाको परिवार कोरोनाले थला पर्‍यो । ३ महिनाजति अस्पतालमै बस्नुपर्‍यो । उपचार खर्चमात्रै ८३ लाख रुपैयाँ भएको छ । तर नयाँ जीवन पाएकामा उनी खुसीले गद्गद् छन् ।

गएको असोज ९ गते उपचारका लागि काठमाडौं गएको लोकेन्द्रको परिवार पुस १४ गते बल्ल घर फर्किएको छ । असोजमै जन्मिएकी छोरीको घर फर्किएपछि बल्ल न्वारन गरेका छन् । कोरोनासँग जुध्दै जन्मिएकी छोरीको नाम ‘आशा’ राखेका छन् । छोरी आशासहित लोकेन्द्र जीवनका बाँकी आशा बढाउँदैछन् । गत भदौ २८ गते कपिलवस्तुमा भलिबल प्रतियोगिता थियो । प्रतियोगिता सकेर लोकेन्द्र घर फर्कंदा साढे दुई वर्षका छोरालाई हनहनी ज्वरो आएको थियो ।

पत्नी शोभा पनि ज्वरोले इन्तु न चिन्तु थिइन् । उनले स्थानीय मेडिकल हलमा लगेर परीक्षण गराए । उपचारपछि छोरालाई ज्वरो केही कम भयो तर पत्नी शोभालाई खोकी बढ्दै गयो । ३४ वर्षे शोभा सात महिनाकी गर्भवती थिइन् । स्वास्थ्य बिग्रँदै गएपछि स्त्रीरोग विशेषज्ञले कोभिडको शंका गरे । नियमित गर्भ परीक्षण गराउने एक्सरे गर्दा छाती बढी नै खराब देखियो । लुम्बिनी प्रादेशिक अस्पतालमा पीसीआर परीक्षण गरे । उनमा संक्रमण देखियो । अक्सिजनको मात्रा घटेर ५० मा झरेको थियो ।

तर, लुम्बिनी प्रादेशिक अस्पतालमा आईसीयू बेड पाइएन । दुई दिन आकस्मिक कक्ष (इमर्जेन्सी) मा राखे पनि शोभालाई सुधार भएन । तेस्रो दिन क्रिमसन अस्पताल मणिग्राममा आईसीयू बेड भेटियो । बिरामीलाई त्यहाँ सारे । तर सुधार नभएपछि अस्पतालले काठमाडौं लैजान सुझाव दियो । यसबीचमा लोकेन्द्र पनि संक्रमित भए ।

शोभा बेहोस थिइन् । ४ लाख रुपैयाँ खर्चेर शोभालाई काठमाडौं पठाइयो । काठमाडौंस्थित नेपाल मेडिसिटी अस्पतालमा बेड भेटियो । उनका बुबा बलबहादुरले शोभालाई कुरिरहेका थिए । बुटवलभन्दा सुविधासम्पन्न अस्पतालमा पत्नीको राम्रो उपचार हुने र गर्भको सन्तान सकुशल जन्मने आश गर्दै थिए । चिकित्सकले गर्भको बच्चा ननिकाली शोभाको औषधि चलाउन नसक्ने बताए । बच्चा ननिकाले शोभा र बच्चा दुवैको ज्यान खतरामा पर्ने चेतावनी दिए । ७ महिनाको गर्भ शल्यक्रिया गरेर निकालियो । छोरी थिइन् । त्यसपछि आमा–छोरी दुवैलाई भेन्टिलेटरमा राखियो ।

लोकेन्द्र अत्तालिएर कोरोना संक्रमण निको नहुँदै काठमाडौं पुगे । अस्पताललाई उपचार खर्चबापत दैनिक २ लाख रुपैयाँसम्म बुझाउनु पर्थ्यो । घरबाट ऋणधन गरेर ल्याएको पैसा सकियो । एक दिन, दुई दिन गर्दै २० दिन पुग्यो । भेन्टिलेटरमा उपचार भइरहेकी शोभाको गुमेको होस फर्किएन । चिकित्सकले निको हुने सम्भावना कम छ भन्न थाले । लोकेन्द्र निराश हुँदै अस्पताल परिसरमा रोएर बसिरहे । २१औं दिनमा चमत्कारजस्तै भयो । शोभाले आँखाका परेला हल्लाएको खबर अस्पतालका डा. सञ्जिलकृष्ण श्रेष्ठले बताए । लोकेन्द्रलाई केही आशा पलायो । २४ औं दिनबाट शोभालाई घाँटीबाट ट्युब राखेर फोक्सोसम्म पाइप जडान गरी श्वासप्रश्वास दिन थालियो । तर ज्वरो घटेको थिएन ।

२६ औं दिनमा कोभिड रिपोर्ट नेगेटिभ आयो । अक्सिजन पनि सुधार हुँदै गयो । ३० औं दिनमा शोभालाई ‘भेन्टिलेटर’ बाट आईसीयूमा सारियो । ३९ औं दिनमा छोरीलाई भेन्टिलेटरबाट एनआईसीयूमा सारियो । ४० औं दिनमा बल्ल शोभाको केही होस आयो । ‘त्यो दिन साक्षात् भगवान नै आएजस्तो लाग्यो,’ लोकेन्द्रले सुनाए ।

उपचार चलिरहँदा आफ्नो मात्रै होइन, साथीभाइ, दाजुभाइ र ससुरालीबाट पठाएको सबै रकम सकियो । धन्न नेपाल नेसनल भलिबल फ्यान ग्रुपले ‘भण्डारी परिवारलाई बचाऊ’ अभियान सञ्चालन गर्‍यो । विदेशमा लक्ष्मण काफ्लेलगायतले अभियान फैलाउन सघाए । अभियान र साथीसँगीको सहयोगमा करिब ३० लाख रुपैयाँ रकम जुट्यो । भण्डारीले उपचार खर्च तिर्न सके । ‘कोरोनाले जागिर खोसिएको थियो । खेलाडी भनेर माया गर्ने सबैको सहयोगमा मात्रै बाँच्न र बचाउन सकें,’ लोकेन्द्रले सम्झे, ‘छोरीको मात्रै दैनिक भेन्टिलेटर खर्च २ लाख रुपैयाँभन्दा बढी हुन्थ्यो ।

वार्डमा दैनिक ४० हजार रुपैयाँसम्म तिर्नुपर्थ्यो । अलपत्र परेका बेला नसोचेका साथी र फ्यानबाट सहयोग पाएँ ।’ लोकेन्द्रको परिवार ८४ दिन अस्पताल बस्यो । ‘साँच्चै अप्ठ्यारो अवस्थामा वास्तविक साथी चिनिने रहेछन्,’ लोकेन्द्रले भने, ‘सहयोग गर्लान् भनेर सोचेका पछाडि हटे, चिन्दै नचिनेका सहयोगी मनहरूको सहयोगमा कोरोनाको मुखबाट बाँच्न सफल भएँ ।’

लोकेन्द्रले यो परिवार सानो मिहिनेतले जोडेका होइनन् । विवाह गरेको १७ वर्षसम्म पनि सन्तान जन्मिएनन् । १८ औं वर्षमा छोरा जन्मिए । तिनै छोरा अहिले साढे २ वर्षका भए । ‘सबा १ करोड बढीमा पाएको खुसी हो मेरो,’ लोकेन्द्रले सुनाए, ‘सन्तान प्राप्तिको उपचारमा ५० लाखभन्दा बढी खर्च भएको थियो । कोभिड उपचारमा ८३ लाख रुपैयाँ सकियो ।’ शोभालाई अझै पूरै निको भएको छैन । दैनिक थेरापी गराउनुपर्छ ।

प्रकाशित : माघ ११, २०७८ १३:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?