१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

जिल्ला अस्पताल रोल्पाका १७ जना स्वास्थ्यकर्मीमा कोरोना

काशीराम डाँगी

रोल्पा — जिल्ला अस्पताल रोल्पाका चिकित्सकसहित १७ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ । यति धेरै स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि अस्पतालको सेवा प्रभावित भएको छ । अस्पतालका स्वास्थ्यकर्मी नै संक्रमित भएपछि संक्रमण अझ बढ्ने त्रास फैलिएको छ । 

जिल्ला अस्पताल रोल्पाका १७ जना स्वास्थ्यकर्मीमा कोरोना

अस्पतालका सूचना अधिकारी कुलबहादुर डाँगीले बिरामी जाँच्ने क्रममा कोरोनाबाट स्वास्थ्यकर्मीसमेत संक्रमित भएको हुन सक्ने बताए । ‘ज्वरो, रुघाखोकी लगायत लक्षण भएका बिरामी उपचार गर्ने क्रममा स्वास्थ्यकर्मीमा संक्रमण देखिएको हो । कोरोनाका बिरामी पनि बढेका छन्‚’ उनले भने । कोरोना संक्रमणबाट एक जना मेडिकल अधिकृतसहित प्रयोगशाला, नियमित जाँच, आपत्कालीन लगायत सेवामा खटिएका स्वास्थ्यकर्मी प्रभावित भएका हुन् ।

अस्पतालका अनुसार ज्वरो, रुघाखोकी, टाउको दुख्ने, जिउ दुख्ने, रिंगटा लाग्ने लगायत लक्षणसहितका बिरामीहरू दिनहुँ अस्पताल आइरहेका छन् । दैनिकजसो कोरोना जाँच गर्दा अस्पतालमा आएकामध्ये ७५ प्रतिशतमा संक्रमण पुष्टि भएको पाइएको छ । करिब तीन सातायता अस्पतालमा आएका १ सय ६२ जनामा मात्रै कोरोना जाँच गर्दा ९१ जनामा संक्रमण देखिएको हो । एक दिनमा जाँच जर्दा ७५ प्रतिशतमा संक्रमण पुष्टि भएको पाइएको अस्पतालले जनाएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार घर‍घरै बिरामी भए पनि जचाउन आउनेहरटरु निकै थोरै छन् । स्वास्थ्य कार्यालयका प्रमुख नोखराज पोखरेलले कोरोनालाई सामान्य ठानेर स्वास्थ्य जचाउन नआएको अनुमान गरिएको बताए । ‘बिरामी छु भन्ने जानेर पनि कोरोना जचाउन आएको देखिँदैन । लक्षण देखिएमा स्वास्थ्य संस्थामा पुगेर जचाउन आह्वान गरेका छौं‚’ उनले भने । आफू र परिवारका केही सदस्यलाई पनि सन्चो नभएकाले आफू घरमै आइसोलेसनमा बसेको उनले बताए ।

स्वास्थ्य कार्यालयका अनुसार समुदायमा कोरोना संक्रमण व्याप्त भए पनि स्वास्थ्य मापदण्डको पालना गर्न, अस्पतालमा पुगेर स्वास्थ्य जचाउन तथा सुरक्षित भएर घरमै बस्न कमैले मानेका छन् । सकेसम्म संक्रमण लुकाएर राख्ने बानी भएकाले फैलनबाट जोगाउन नसकिने स्वास्थ्य प्रमुख पोखरेलले बताए । निकै थोरैले संक्रमणबारे चासो राख्ने गरेका बेला रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसीले भने अस्पतालमै पुगेर स्वास्थ्य परीक्षण गराएका थिए ।

रोल्पामा निकै चिसो बढेकाले मानिसहरू खासै घरबाहिर देखिएका छैनन् । स्वास्थ्य कार्यालयका अनुसार बिरामी भएकामध्ये शिक्षक, व्यापारी, पत्रकार, व्यवसायी, जनप्रतिनिधि, नेता, यातायात व्यावसायी, विद्यार्थी लगायतमा संक्रमण देखिएको हो । स्वास्थ्य संस्थामा पुगेर आफ्नो स्वास्थ्य अवस्था जाँच नगराए पनि सदरमुकाम लिबाङ लगायतका स्थानमा रहेका व्यक्तिहरूले सामाजिक सञ्जालमा बिरामी भएको खबर बाँडेका छन् । सामाजिक सञ्जालमार्फत् खबर सार्वजनिक गर्नेहरूले कोरोनासँग मिल्दोजुल्दो लक्षण सुनाइरहेका छन् ।

कोरोना संक्रमणदर वृद्धि भए पनि जिल्लास्थित सरोकारवालाले खासै चासो लिएको देखिँदैन । स्थानीयहरूले यसबारे गतिविधि बढाएका छैनन् । जिल्ला समन्वय समिति, जिल्ला प्रशासन, स्थानीय तहमा कोरोना रोकथाम गर्नेबारे निकै कममात्रै छलफल हुने गरेको छ । कोरोना संक्रमण रोक्नेबारे जनप्रतिनिधिहरू नै मौन छन् ।

मानिसहरूलाई एक ठाउबाट अर्को ठाउ पुग्ने क्रममा कमैमात्र सोधपुछ गर्ने गरिएको छ । सरकारले विद्यालय बन्द गर्न निर्देशन जारी गरे पनि केही तहले ढिलो गरी मात्रै विद्यालय बन्द गराएका थिए । अधिकांश तहमा शिक्षक समेत संक्रमित भएपछि विद्यालय बन्द गराएका थिए ।

कोरोनाबाट अघिल्लो वर्ष रोल्पामा ३४ जनाको मृत्यु भएको थियो । जिल्लामा पीसीआर मेसिन नभएकाले प्रायः बिरामीलाई एन्टिजेन किटमार्फत कोरोना जाँच गर्ने गरिएको छ । नागरिक समुदायले प्रतिनिधित्व गरी विभिन्न समुदाय, क्षेत्र, व्यवसायमा लागेकामा संक्रमण जाँच गर्न आग्रह गरेका छन् । तर सम्बन्धित पक्ष मौन छन् । जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) का संयोजक रहेका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले अघिल्लो वर्ष कोरोना संक्रमण रोक्न प्रभावकारी योजना अघि सारेका थिए । नागरिक समुदायले उनलाई पुनः प्रभावकारी योजना अघि ल्याएर जनसमुदायमा फैलिएको कोरोना संक्रमण रोक्न आग्रह गरेका छन् ।

प्रकाशित : माघ ११, २०७८ ०६:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?