जिल्ला अस्पताल रोल्पाका १७ जना स्वास्थ्यकर्मीमा कोरोना- लुम्बिनी - कान्तिपुर समाचार

जिल्ला अस्पताल रोल्पाका १७ जना स्वास्थ्यकर्मीमा कोरोना

काशीराम डाँगी

रोल्पा — जिल्ला अस्पताल रोल्पाका चिकित्सकसहित १७ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ । यति धेरै स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि अस्पतालको सेवा प्रभावित भएको छ । अस्पतालका स्वास्थ्यकर्मी नै संक्रमित भएपछि संक्रमण अझ बढ्ने त्रास फैलिएको छ । 


अस्पतालका सूचना अधिकारी कुलबहादुर डाँगीले बिरामी जाँच्ने क्रममा कोरोनाबाट स्वास्थ्यकर्मीसमेत संक्रमित भएको हुन सक्ने बताए । ‘ज्वरो, रुघाखोकी लगायत लक्षण भएका बिरामी उपचार गर्ने क्रममा स्वास्थ्यकर्मीमा संक्रमण देखिएको हो । कोरोनाका बिरामी पनि बढेका छन्‚’ उनले भने । कोरोना संक्रमणबाट एक जना मेडिकल अधिकृतसहित प्रयोगशाला, नियमित जाँच, आपत्कालीन लगायत सेवामा खटिएका स्वास्थ्यकर्मी प्रभावित भएका हुन् ।

अस्पतालका अनुसार ज्वरो, रुघाखोकी, टाउको दुख्ने, जिउ दुख्ने, रिंगटा लाग्ने लगायत लक्षणसहितका बिरामीहरू दिनहुँ अस्पताल आइरहेका छन् । दैनिकजसो कोरोना जाँच गर्दा अस्पतालमा आएकामध्ये ७५ प्रतिशतमा संक्रमण पुष्टि भएको पाइएको छ । करिब तीन सातायता अस्पतालमा आएका १ सय ६२ जनामा मात्रै कोरोना जाँच गर्दा ९१ जनामा संक्रमण देखिएको हो । एक दिनमा जाँच जर्दा ७५ प्रतिशतमा संक्रमण पुष्टि भएको पाइएको अस्पतालले जनाएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार घर‍घरै बिरामी भए पनि जचाउन आउनेहरटरु निकै थोरै छन् । स्वास्थ्य कार्यालयका प्रमुख नोखराज पोखरेलले कोरोनालाई सामान्य ठानेर स्वास्थ्य जचाउन नआएको अनुमान गरिएको बताए । ‘बिरामी छु भन्ने जानेर पनि कोरोना जचाउन आएको देखिँदैन । लक्षण देखिएमा स्वास्थ्य संस्थामा पुगेर जचाउन आह्वान गरेका छौं‚’ उनले भने । आफू र परिवारका केही सदस्यलाई पनि सन्चो नभएकाले आफू घरमै आइसोलेसनमा बसेको उनले बताए ।

स्वास्थ्य कार्यालयका अनुसार समुदायमा कोरोना संक्रमण व्याप्त भए पनि स्वास्थ्य मापदण्डको पालना गर्न, अस्पतालमा पुगेर स्वास्थ्य जचाउन तथा सुरक्षित भएर घरमै बस्न कमैले मानेका छन् । सकेसम्म संक्रमण लुकाएर राख्ने बानी भएकाले फैलनबाट जोगाउन नसकिने स्वास्थ्य प्रमुख पोखरेलले बताए । निकै थोरैले संक्रमणबारे चासो राख्ने गरेका बेला रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसीले भने अस्पतालमै पुगेर स्वास्थ्य परीक्षण गराएका थिए ।

रोल्पामा निकै चिसो बढेकाले मानिसहरू खासै घरबाहिर देखिएका छैनन् । स्वास्थ्य कार्यालयका अनुसार बिरामी भएकामध्ये शिक्षक, व्यापारी, पत्रकार, व्यवसायी, जनप्रतिनिधि, नेता, यातायात व्यावसायी, विद्यार्थी लगायतमा संक्रमण देखिएको हो । स्वास्थ्य संस्थामा पुगेर आफ्नो स्वास्थ्य अवस्था जाँच नगराए पनि सदरमुकाम लिबाङ लगायतका स्थानमा रहेका व्यक्तिहरूले सामाजिक सञ्जालमा बिरामी भएको खबर बाँडेका छन् । सामाजिक सञ्जालमार्फत् खबर सार्वजनिक गर्नेहरूले कोरोनासँग मिल्दोजुल्दो लक्षण सुनाइरहेका छन् ।

कोरोना संक्रमणदर वृद्धि भए पनि जिल्लास्थित सरोकारवालाले खासै चासो लिएको देखिँदैन । स्थानीयहरूले यसबारे गतिविधि बढाएका छैनन् । जिल्ला समन्वय समिति, जिल्ला प्रशासन, स्थानीय तहमा कोरोना रोकथाम गर्नेबारे निकै कममात्रै छलफल हुने गरेको छ । कोरोना संक्रमण रोक्नेबारे जनप्रतिनिधिहरू नै मौन छन् ।

मानिसहरूलाई एक ठाउबाट अर्को ठाउ पुग्ने क्रममा कमैमात्र सोधपुछ गर्ने गरिएको छ । सरकारले विद्यालय बन्द गर्न निर्देशन जारी गरे पनि केही तहले ढिलो गरी मात्रै विद्यालय बन्द गराएका थिए । अधिकांश तहमा शिक्षक समेत संक्रमित भएपछि विद्यालय बन्द गराएका थिए ।

कोरोनाबाट अघिल्लो वर्ष रोल्पामा ३४ जनाको मृत्यु भएको थियो । जिल्लामा पीसीआर मेसिन नभएकाले प्रायः बिरामीलाई एन्टिजेन किटमार्फत कोरोना जाँच गर्ने गरिएको छ । नागरिक समुदायले प्रतिनिधित्व गरी विभिन्न समुदाय, क्षेत्र, व्यवसायमा लागेकामा संक्रमण जाँच गर्न आग्रह गरेका छन् । तर सम्बन्धित पक्ष मौन छन् । जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) का संयोजक रहेका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले अघिल्लो वर्ष कोरोना संक्रमण रोक्न प्रभावकारी योजना अघि सारेका थिए । नागरिक समुदायले उनलाई पुनः प्रभावकारी योजना अघि ल्याएर जनसमुदायमा फैलिएको कोरोना संक्रमण रोक्न आग्रह गरेका छन् ।

प्रकाशित : माघ ११, २०७८ ०६:२९
प्रतिक्रिया
पठाउनुहोस्

‘तीन सातापछि संक्रमण मत्थर’

कोभिड परीक्षण गराउनेमध्ये करिब आधामा संक्रमण, तेस्रो लहरमा सोमबारसम्ममा सक्रिय संक्रमितको संख्या ८२ हजार नाघ्यो
अतुल मिश्र

काठमाडौँ — कोभिडको नयाँ भेरिएन्ट ओमिक्रोनका कारण सुरु भएको महामारीको तेस्रो लहर तीन सातापछि क्रमश: मत्थर हुँदै जाने सरकारी अधिकारीले आकलन गरेका छन् । उनीहरूको मुख्य चिन्ता भने तीव्र संक्रमणका कारण अस्पताल भर्ना दर अस्वाभविक ढंगले उकालो लाग्ने र त्यसले बिरामीको स्वास्थ्य उपचार र स्याहारमा आउन सक्ने जटिलतातर्फ छ ।

‘अबको तीन सातापछि अवस्था सामान्यतिर फर्कन थाल्ने हाम्रो आकलन छ,’ स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का निर्देशक डा. कृष्णप्रसाद पौडेलले भने, ‘बढ्दो संक्रमणले अस्पताल भर्ना हुनेको संख्यामा अप्रत्याशित वृद्धि नभए हाम्रो स्वास्थ्य सेवा संरचना, पूर्वाधारले धान्न सक्छ ।’ तीन सातापछि भने धेरै जटिलता नदेखिएको खण्डमा अवस्था सामान्य हुँदै जाने उनको अपेक्षा छ । तर, अस्पताल भर्ना हुने संक्रमितको संख्या ह्वात्तै बढ्न सक्नेतर्फ चनाखो रहँदै त्यसैअनुरूपको तयारी भने गर्नुपर्ने उनी बताउँछन् ।

तेस्रो लहरमा सोमबारसम्म सक्रिय संक्रमितको संख्या ८२ हजार ५ सय ५० पुगेको छ । आईसीयूमा २ सय ३८ र भेन्टिलेटरमा ४३ जना छन् । जबकि दोस्रो लहरमा जेठ ७ गते सक्रिय संक्रमितको संख्या १ लाख १६ हजार १ सय ९२ पुगेको थियो । सोही दिन १ सय ७७ जनाको मृत्यु हुनुका साथै आईसीयूमा १ हजार ७ सय १६ र भेन्टिलेटरमा ५ सय ११ जना थिए ।

महामारीको यो अवस्थामा सरकार पनि ‘पर्ख र हेर’ अवस्थामा छ । ‘ओमिक्रोन यसरी नै उच्च संक्रामक, मध्यम र न्यून गतिका साथ अगाडि बढ्दै जाने आकलन छ,’ स्वास्थ्य मन्त्रालयका एक अधिकारीले भने । संक्रमण तीव्र भए पनि अस्पतालमा चाप कम भएकाले लकडाउनलगायत कडा कदम चाल्ने मनस्थितिमा नदेखिएको उनको भनाइ छ ।

दोस्रो लहरको जेठ ७ को दाँजोमा हाल आईसीयू र भेन्टिलेटरमा धेरै कम व्यक्ति छन् भने मृत्युसमेत नगण्य जस्तै देखिएको छ । मृत्यु हुनेहरू पनि खोप नलगाएका, खोप लगाए पनि दीर्घरोगी, रोग प्रतिरोधक क्षमता कम भएका र ज्येष्ठ नागरिक छन् । ‘हामीकहाँ युवाको जनसंख्या बढी छ, त्यसैले अन्त देखिने अवस्थाभन्दा नेपालमा पार्ने प्रभाव फरक हो,’ डा. पौडेलले भने, ‘संक्रमितको संख्या अत्यधिक बढे अस्पतालमा पनि चाप थपिन्छ, त्यसैले आगामी तीन–चार साता सबैले स्वास्थ्य सुरक्षा उपायमा थप कडाइ गर्न आवश्यक छ ।’

परीक्षणको आधामा संक्रमण

कोभिड परीक्षण गराउनेमध्ये करिब आधामा संक्रमण देखिएको छ । सोमबार पीसीआरबाट १६ हजार ६ सय ५४ नमुना परीक्षण गर्दा ४८.३६ प्रतिशत अर्थात् ८ हजार ५४ जनामा संक्रमण देखियो भने एन्टिजेनबाट ४ हजार ५ सय ४७ नमुना परीक्षण गर्दा ४९.८१ प्रतिशत अर्थात् २ हजार २ सय ६५ जनामा संक्रमण पुष्टि भयो । दुवै प्रविधिबाट २१ हजार २ सय १ नमुना परीक्षण गर्दा ४८.६७ प्रतिशत अर्थात् १० हजार ३ सय १९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

सोमबारसम्म १५ जिल्लामा ५ सयभन्दा बढी सक्रिय संक्रमित छन् । ती जिल्लामा मोरङ, सुनसरी, झापा, धनुषा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, नवलपरासी पूर्व, बाँके, रूपन्देही र कैलाली रहेका छन् । त्यस्तै, १७ जिल्लामा २ सयभन्दा माथि सक्रिय संक्रमित छन् ।

सक्रिय संक्रमितको झन्डै दुई तिहाइ उपत्यकामै छन् । देशभर रहेका सक्रिय संक्रमितको ६४.०१ प्रतिशत अर्थात् ५२ हजार ८ सय ४२ जना उपत्यकामै रहेको मन्त्रालयको तथ्यांक छ । सबैभन्दा बढी संक्रमित भएको जिल्ला काठमाडौं हो । काठमाडौंमा मात्र मुलुकभरका कुल सक्रिय संक्रमितमध्ये ४६.७३ प्रतिशत अर्थात् ३८ हजार ५ सय ८१ जना छन् । उपत्यकाका बाँकी दुई जिल्ला ललितपुरमा १०.९६ प्रतिशत र भक्तपुरमा ६.३१ प्रतिशत छन् ।

४२.७ प्रतिशतलाई पूर्ण खोप

सोमबारसम्म कुल जनसंख्याको ४२.७ प्रतिशत अर्थात् १ करोड २९ लाख ६६ हजार ३ सय ६२ जनाले पूर्ण मात्रा खोप लगाएका छन् । एक मात्रा लगाउने ५३.६ प्रतिशत अर्थात् १ करोड ६२ लाख ८९ हजार ४ सय २५ जना छन् । हालसम्म १ लाख ६८ हजार ९ सय ६९ जनाले बुस्टर डोज लगाएका छन् ।

खोप कार्यक्रम सुरु भएयता हालसम्म २ करोड ९४ लाख २४ हजार ७ सय ५६ मात्रा खोप लगाइएको छ । खरिद र अनुदान सहयोगबाट ४ करोड ३ लाख ८८ हजार ८ सय ४० मात्रा खोप भित्रिएको छ ।

प्रकाशित : माघ ११, २०७८ ०६:२५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×