पाल्पामा ५ सयभन्दा बढी कोरोनाका सक्रिय संक्रमित


पाल्पा — पाल्पामा सोमबार कोरोनाको सक्रिय संक्रमित संख्या ५ सय नाघेको छ । एकै दिन १ सय ६६ जना थपिएपछि जिल्लामा कोरोनाको सक्रिय संक्रमित ५ सय ४ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।



सोमबार ७६ जना पुरुष र ९० जना महिलामा कोरोना संक्रमण पुष्टि भएको सूचना अधिकारी कृष्ण प्रसाद पोखरेलले जानकारी दिए । एकै दिन धेरैको संख्यामा कोरोना संक्रमण देखिएपछि सक्रिय संक्रमितको संख्या ५ सय नाघेको उनले बताए । सोमबार सबैभन्दा बढी तानसेन नगरपालिका, मिसन, लुम्बिनी मेडिकल कलेज र पाल्पा अस्पतालमा गरी ७६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
रामपुरमा १४, माथागढीमा ३, पूर्वखोलामा ९, रैनादेवी छहरामा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी पोखरेलले बताए । यस्तै रम्भामा १३, बगनासकालीमा २६, तिनाउमा २ र रिब्दीकोटमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
७७ जनाको पीसीआर परीक्षण गर्दा ४७ जनामा कोरोना पुष्टि भएको छ । २ सय ३८ जनामा एन्टिजेन परीक्षण गर्दा १ सय १९ जनामा कोरोना संक्रमण देखिएको छ। जुन कुल परीक्षणको ५२ प्रतिशत बढी हो । कोरोनाका ५ सय ४ जना सक्रिय संक्रमितमध्ये ५ जनाको मात्र अस्पतालमा उपचार भएको छ । बाँकी ४ सय ९९ जना होम आइसोलेसनमै बसेको बताइएको छ ।
स्वास्थ्यकर्मी तथा नागरिक समाज लगायत अगुवाहरूले लापर्वाहीका कारण संक्रमण बढेको भन्दै सबैलाई सचेत रहन आग्रह गरेका छन् । नेपाल नागरिक समाजका पूर्वअध्यक्ष चित्रवलीराम सुवालले सरकारले नियम जारी गर्ने मात्र नभई अनुगमन पनि गर्नुपर्ने बताए ।
जिल्लामा कोरोना संक्रमण तीव्र गतिमा बढे पनि अस्पतालमा उपचार गर्ने संक्रमितको संख्या कम छ । कोरोना संक्रमण भए पनि लक्षण देखिएकाहरूको मात्र जाँच भएको छ । तानसेन नगरपालिका स्वास्थ्य शाखा प्रमुख झविन्द्र न्यौपानेका अनुसार घरघरमै बिरामी भए पनि परीक्षण गर्न भने कमैमात्र पुग्ने गरेका छन् ।
प्रकाशित : माघ १०, २०७८ १८:५१