घोराही कारागारबाट भागेका कैदी एक महिनापछि पक्राउ

दुर्गालाल केसी

दाङ — घोराही कारागारबाट भागेका कैदी एक महिनापछि सोमबार पक्राउ परेका छन् । उनलाई भारतको पञ्जाब, लुधियानाबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

घोराही कारागारबाट भागेका कैदी एक महिनापछि पक्राउ

गर्भवती प्रेमिकालाई हत्या गरी कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय पाएका गढवा गाउँपालिका- ३ करङ्गाका २९ वर्षीय यमराज परियार पुस ८ गते प्रहरीकै मोटरसाइकल लिएर भागेका थिए ।

उपचारको बहानामा कारागारबाट निस्केका परियार उनलाई अस्पताल लैजान खटिएका प्रहरी जवान धनबहादुर चौधरीको लु ३१ प १५० नम्बरको मोटरसाइल लिई भागेका थिए ।

उक्त घटनापछि जिल्ला प्रहरी कार्यालयका डीएसपी मुकुन्दप्रसाद रिजालको नेतृत्वमा अपरेशन याङ्की थालिएको थियो । प्रहरी टोलीले प्रहरी प्रधान कार्यालयको इन्टरपोल शाखा र भारतीय प्रहरीको सहयोगमा भारतबाट उनलाई पक्राउ गरेको हो । उनलाई हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले बताए ।

प्रहरी जवान धनबहादुर चौधरी हाल पुर्पक्षका लागि कारागारमा रहेको उनले जानकारी दिए ।

कैदी परियार २०७२ भदौ १६ देखि घोराही कारागारमा थिए । पुस ८ गते प्रहरी जवान चौधरी र परियार अस्पताल नगई होटलमा पुगेका थिए । उनीहरूले सुरुमा घोराहीको प्याराडाइज होटेलमा पुगेर कफी खाएका थिए । त्यसपछि प्रहरीको मोटरसाइकल कैदी परियारले चलाएर सब्जीमन्डी हुँदै बीपी चोकस्थित थकाली भान्सा घर एण्ड लजमा पुर्‍याएका थिए । होटेलमा पुगेपछि परियारले दुई केटीलाई बोलाएका थिए । तीमध्ये एक परियारकी प्रेमिका थिइन् ।

परियारले आफ्नो प्रेमिकालाई प्रहरी जवान चौधरीको साथमा छुट्टै कोठामा पठाएका थिए भने आफू अर्को महिलाको साथमा छुट्टै कोठामा गएका थिए । त्यही मौकामा चौधरी बसेको कोठाको बाहिरबाट चुकुल लगाएर परियार प्रहरीकै मोटरसाइकल लिएर भागेका थिए । यस घटनामा कारागारका जेलर युवराज परियार, सुरक्षामा खटेका प्रहरी, परियारकी प्रेमिका, होटेलमा सँगै रहेकी अर्की महिला र होटेल सञ्चालकलाई पनि प्रहरीले पक्राउ गरेको थियो ।

उनीहरू सबै धरौटीमा छुटेको एसपी काफ्लेले बताए । कारागार ऐन २०१९ को दफा २४ को ३ मा कैदम्याद तोकिएको कैदी भागेमा बाँकी कैदको डेढी बढाई कैद सजायको व्यवस्था रहेको काफ्लेले बताए ।

कारागारबाट भागेका कैदी पक्राउ परेपछि सुरक्षा निकायलाई निकै हौसला मिलेको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताए । यसबाट कोही पनि भागेर बच्न सक्दैन भन्ने सन्देश मिलेको उनले बताए ।

प्रकाशित : माघ १०, २०७८ १७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?