बुटवलको पहिरो व्यवस्थापन गर्न २ करोड ४५ लाख बजेट

अमृता अनमोल

बुटवल — बुटवलमा चुरे क्षेत्रबाट खसेको पहिरो व्यवस्थापन गर्न चुरे तिनाउ संरक्षण समितिले क्षेत्रगत बजेट बाँडफाँट गरेको छ ।

चुरे तिनाउ संरक्षण समितिले चालु आर्थिक वर्षमा पहिरो व्यवस्थापनका लागि दुई करोड ४५ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । उक्त बजेट ज्योतिनगर, लक्ष्मीनगर र पाखापानीकार लागि क्षेत्रगत रुपमा बाँडफाँट गरिएको हो । ज्योतिनगरका लागि एक करोड २५ लाख, लक्ष्मीनगरको लागि एक करोड पाँच लाख र पाखापानीको लागि १५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

यस्तै प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीको अध्यक्षतामा बसेको सरोकारवालाको बैठकले यस वर्ष थप ४ करोड बजेट पठाइदिन आग्रह गरेको छ । तिनाउ चुरे संरक्षक समितिका अध्यक्ष कमल गौतमले जोखिमबाट बस्ती बचाउन तत्काल गर्नुपर्ने कामका लागि उक्त रकम मागिएको बताए ।

उनका अनुसार हाल विनियोजित बजेटबाट काम थाल्न उपभोक्ता समिति गठन गर्ने प्रक्रिया अघि बढेको छ । बुटवल उपमहानगरपालिकाले यस वर्ष पहिरो प्रभावित क्षेत्रको माटो सफाइ गर्न र बस्तीभित्रको कलभर्ट निर्माणका लागि ८५ लाख लगानी गरिसकेको छ । हाल १५ लाख रुपैयाँ थप विनियोजन गरी खोल्सी सुधारका लागि काम गरिरहेको छ ।

गतवर्ष वर्षायाममा गएको पहिरोले बुटवल ३ ज्योतिनगर क्षेत्रका एक दर्जन घर बगाएको थियो । करिब २४ घर विस्थापित भएका छन् भने ३ सयभन्दा बढी घर जोखिममा छन् । यस्तै लक्ष्मीनगर र पाखापानी क्षेत्रमा पनि पहिरो खसेर बस्तीमा जोखिम देखिएको छ ।

प्रकाशित : माघ १०, २०७८ १९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?