३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

कोरोना नियन्त्रणमा बाँके स्वास्थ्य कार्यालय भूमिकाविहीन

ठाकुरसिंह थारु

नेपालगन्ज — कोरोना संक्रमण फैलिरहँदा जिल्ला स्वास्थ्य कार्यालय बाँके भने भूमिकाविहीन बनेको छ । जिल्ला कोभिड संकट व्यवस्थापन समितिले नै स्वास्थ्य केन्द्रलाई भूमिकाविहीन बनाउँदै लगेको स्वास्थ्यका अधिकारीहरूले गुनासो गरेका छन् ।

कोरोना नियन्त्रणमा बाँके स्वास्थ्य कार्यालय भूमिकाविहीन

कोरोना संक्रमण नियन्त्रणका लागि समितिले स्वास्थ्यका अधिकारीहरूसँग सहकार्यसमेत नगरेपछि स्वास्थ्य केन्द्र भूमिका विहीन बनेको हो । यसअघि स्वास्थ्य केन्द्रले कोरोना संक्रमितहरूको सम्पर्कमा रहेकाहरूको ट्रेसिङ गरी परीक्षण गर्ने र कोभिडबाट जोगिने उपायबारे प्रचारप्रसार गर्दै आएको थियो ।

विभिन्न रोगको अवस्थाबारे अभिलेख राख्ने स्वास्थ्य केन्द्रलाई बाँके जिल्लामा कोरोनाको संक्रमण दर, संख्या, मृत्यु, प्रभावित संख्याको अभिलेखसमेत दिइएको छैन ।

त्यस्तै, जिल्लाको कोरोना संक्रमणको अवस्थाबारे जानकारी दिने स्रोत व्यक्ति (फोकल पर्सन) हुनबाट समेत स्वास्थ्य केन्द्रलाई बन्चित गराइएको छ । यसअघि फोकल पर्सनका रुपमा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख वा अधिकृत सरहको स्वास्थ्यका कर्मचारीलाई तोकिने गरेको थियो ।

स्वास्थ्य कार्यालयले सुरुमा सहायक जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठलाई फोकल पर्सन तोकिएको थियो । उनको सरुवा भएपछि सहायक जनस्वास्थ्य अधिृकत मानबहादुर नेपालीलाई फोकल पर्सन तोकिएको थियो । तर बाँकेमा भने जिल्ला कोभिड संकट व्यवस्थापन समितिले नेपालगन्ज उपमहानगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत हेल्थ असिस्टेन्ट तेज वलीलाई दुई वर्षदेखि फोकल पर्सन तोकेको हो ।

‘बाँकेबाहेक अन्य जिल्लामा हेल्थ असिस्टेन्ट फोकल पर्सन भएको सुन्नु भएको छ ?,’ जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाहले सोधे, ‘हाम्रो सिनीयर कर्मचारीलाई भूमिका नदिँदा हाम्रो मानमर्दन भएन र ?’

शाहले भनेका छन्, 'स्वास्थ्य कार्यालयलाई जिल्लाको सम्पूर्ण स्वास्थ्य अवस्थाबारे रिपोर्टिङ गर्नुपर्छ । बाँकेमा कोभिड सुरु भएपछि केन्द्रका कर्मचारीहरू रातदिन स्वास्थ्यकर्मीहरूसँगै खटिन्थे । कोरोनाको त्रास कतिसम्म थियो भने स्वास्थ्यकर्मीहरू समेत बिरामी नजिक पुग्न डराउँथे । त्यस्तो अप्ठ्यारोमा पनि स्वास्थ्यका कर्मचारीहरू ज्यानको पर्वाह नगरेर खटिएका थिए ।'

तर पछिल्लो समय भने सहकार्य नगरिएपछि कर्मचारीहरूको गुनासो बढेको जिल्ला स्वास्थ्य केन्द्र बाँकेका प्रमुख शाह बताउँछन् । 'कतिसम्म भने हामीले तोकेको फोकल पर्सनलाई काम गर्न दिइएन ।’

बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खड्काले भने कोरोना संक्रमण नियन्त्रणका लागि स्वास्थ्य कार्यालयसँग सम्पर्कमा रहेको बताए । उनले स्वास्थ्य बाहेक अन्य क्षेत्रसँग बैठकमा छलफल हुने गरेको बताए ।

‘म बाँके आएको केही महिना भएको छ । पहिले जे चलेको थियो त्यसलाई निरन्तरता मात्रै दिएका छौँ,’ उनले भने, ‘स्वास्थ्य कार्यालयको भूमिकाविहीन बनाउनु पर्ने कुनै कारण छैन । अझ उहाँहरूको सहयोग अपरिहार्य छ ।’

प्रकाशित : माघ १०, २०७८ १५:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?