फागुनभित्रमा कोरोनाविरुद्ध पूर्ण खोप : स्वास्थ्यमन्त्री थारु

अमृता अनमोल

बुटवल — लुम्बिनी प्रदेशका स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्री ईन्द्रजित थारूले फागुन महिनाभित्रमा प्रदेशका सबै नागरिकले कोरोनाविरुद्धको खोप लगाइसक्ने बताएका छन् ।

फागुनभित्रमा कोरोनाविरुद्ध पूर्ण खोप : स्वास्थ्यमन्त्री थारु

हाल चेतना अभावले सबै नागरिक कोरोनाविरुद्धको खोप अभियानमा सहभागी नभएको बताउँदै उनले नियमित खोप अभियानमा सहभागी नहुनेलाई स्थानीय तहको समन्वयमा खोजीखोजी खोप अभियान चलाउने तयारी गरेको बताए ।

सोमबार बुटवलमा रिपोटर्स क्लब लुम्बिनी प्रदेशले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री थारुले लुम्बिनी प्रदेशमा १८ वर्षमाथिका ८५ प्रतिशतले पहिलो र ७० प्रतिशतले दोस्रो खोप लगाइसकेको जानकारी दिए । उनले १२ देखि १७ वर्ष सम्मका बालबालिकालाई पनि महिना दिनभित्र पहिलो डोज दिने दाबी गरे ।

तेस्रो लहरमा प्रदेशमा ५ हजार ५ सय २८ जना प्रदेशमा संक्रमित भएको तर, ११ जनाको मृत्यु भएको छ । त्यसमध्ये पहिलो खोप लगाएकामध्ये दुई प्रतिशतको मात्र मृत्यु भएको र दुवै मात्रको खोप लगाएकामा एक प्रतिशतको मात्र मृत्यु भएको उनले जनाए । महामारी बढिरहे पनि त्यसविरुद्ध नागरिक बेवास्ता धेरै रहेको गुनासो गर्दै उनले नागरिक समाज, स्थानीय तह तथा गैरसरकारी संस्थाले पनि चेतना अभिवृद्धि र महामारी नियन्त्रणमा सघाउनुपर्ने बताए ।

पूर्वस्वास्थ्यमन्त्री तथा एमाले संसदीय दलका सचिव भोजप्रसाद श्रेष्ठले लुम्बिनी प्रदेश सरकार स्वास्थ्य जोखिमका विषयमा गम्भीर नभएको आरोप लगाए । उनले नागरिकलाई खोप लगाउने विषय, कोभिड नियन्त्रण तथा व्यवस्थापन एवं स्थानीयपालिकासँग सम्वन्य र परिचालनमा प्रदेश सरकार कमजोर देखिएको बताए ।

उनले महामारीमा बजेट जोगाउने नाममा जनताका सुविधा कटौती गर्ने र विगतको सरकारले ल्याएका राम्रा योजनाहरु कटौती गरेर सरकार अहिले महामारीविरुद्ध पनि हात फैलाउने अवस्थामा पुगेको टिप्पणी गरे ।

प्रकाशित : माघ १०, २०७८ १३:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?