कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

घरैघरै बिरामी, सतर्कता न्यून

स्वास्थ्य मापदण्ड पालनामा अटेरी गर्दै भीडभाडयुक्त कार्यक्रम आयोजना

अर्घाखाँची, बर्दिया — रुघाखोकी, घाँटी खसखस गरेर दुख्नेजस्ता कोरोनासँग मिल्दाजुल्दा लक्षण देखिएका बिरामी अर्घाखाँचीमा अहिले घरघरमै छन् । मौसमी रुघाखोकी भन्दै घरेलु जडीबुटी र मेडिकलबाट औषधिको भरमा मानिसहरू बसेका छन् । घरमा एक जनालाई देखा परेपछि परिवारमै संक्रमण हुनेको संख्या जिल्लाभर बढ्दो छ । अहिले जिल्लामा १ सय ४४ जना संक्रमित छन् । 

घरैघरै बिरामी, सतर्कता न्यून

रुघाखोकीका बिरामीको एन्टिजेन परीक्षण गर्दा धेरैको पोजिटिभ रिपोर्ट आउने गरेको छ । ‘चिसोका बेला सधैं रुघाखोकी, नाकबाट सिँगान बग्नेजस्ता समस्या हुन्थ्यो,’ शीतगंगा नगरपालिका–३ का एक पुरुषले भने, ‘शंका लागेर स्वास्थ्य केन्द्रमा गएर एन्टिजेन परीक्षण गराएँ । रिपोर्ट पोजिटिभ आयो ।’ उनले अन्य तीन जना परिवारको परीक्षण गराएनन् ।

सबैसित सामाजिक दूरी कायम गरेर घाँस–दाउरा र घरको काम गरिरहेको उनले बताए । रुघाखोकी, सिँगान बग्ने, छाती दुख्नेलगायतका कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका बिरामी घरैपिच्छे भएको उनले बताए । गाडी चलेकै छन्, तराई र भारत जताततै आउजाउ चलेकै भएकाले एकबाट अर्कोमा सरेर फैलिएको उनले बताए । ‘कोरोना तेस्रो लहर आयो भन्ने समाचार सुनियो तर स्थानीय सरकारका जनप्रतिनिधि र कर्मचारीले केही भनेका छैनन्,’ उनले भने, ‘रुघाखोकीका बिरामी सात/दस दिनपछि निको भएका छन् ।’

अर्घाखाँची अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. राजेन्द्र जीसीले गएको चार दिनमा ४० जना कोरोना संक्रमित भएको बताए । रुघाखोकी लागेका अस्पताल आएकामध्ये धेरैले कोरोना परीक्षण गर्न नमान्ने र परीक्षण गराएकामध्ये ५० प्रतिशतको रिपोर्ट पोजिटिभ आउने गरेको उनले बताए । ‘सबै बिरामीको स्वास्थ्य सामान्य छ, सबै होम आइसोलेसनमै छन्,’ उनले भने, ‘अक्सिजन र औषधि अभाव छैन, केही बिरामीलाई घरमै अक्सिजन लगेर उपचार गरेका छौं ।’ अहिलेकाले घाँटीमा असर गर्ने भएकाले कोही बिरामीको पनि अवस्था जटिल नभएको उनले बताए ।

बर्दियामा साप्ताहिक हाटबजार निरन्तर सञ्चालनमा छन् । हाटबजारमा सयौंको संख्यामा मानिसहरू किनमेल गरिरहेका छन् । कसैले पनि स्वास्थ्य मापदण्ड पालना गरेको देखिँदैन । कोरोनाको ग्राफ जिल्लामा उकालो लागेका बेला प्रशासनले सभाकक्षमा बसेर नियन्त्रण गर्न बैठक डाक्ने र कागजमा सही गराउनेबाहेक व्यवस्थापन गर्न नसकेको स्वास्थ्यकर्मीले नै गुनासो गरेका छन् । जिल्लामा विवाह, व्रतबन्धजस्ता कार्यक्रममा मानिसहरूको भीड थामिनसक्नु छ । शनिबार मात्रै यहाँ एन्टिजेन परीक्षण गराएका ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्लामा कोरोना संक्रमण एक्कासि फैलिएको छ । गएको १५ दिनमा ३ सय ६२ जना संक्रमित हुन पुगेका छन् । शनिबार मात्रै सरकारी निकायले लिएको कर्मचारी पदपूर्ति परीक्षामा ८ सय जनाको सहभागिता थियो । प्रजिअको स्वीकृतिमा लुम्बिनी प्रदेशको कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्थापन मन्त्रालयले करारमा कर्मचारी पदपूर्तिका लागि परीक्षा सञ्चालन गरेको हो । प्रजिअ सुनारले स्वास्थ्य मापदण्ड अपनाएर परीक्षा सञ्चालन गर्न लगाएको बताए ।

प्रकाशित : माघ १०, २०७८ १२:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?