विकास निर्माणका काम रोकेरै पनि नागरिकको जीवन रक्षा गर्नुपर्छ : लुम्बिनी प्रमुख शेरचन

अमृता अनमोल

बुटवल — लुम्बिनी प्रदेशका प्रमुख अमिक कुमार शेरचनले विकास निर्माणका काम स्थगित गरेर भए पनि नागरिकको जीवन रक्षा गर्नुपर्ने बताएका छन् । यसका लागि कोरोना संक्रमण नियन्त्रण र रोकथामको अभियान नै संचालन गर्नुपर्ने उनले बताए ।

विकास निर्माणका काम रोकेरै पनि नागरिकको जीवन रक्षा गर्नुपर्छ : लुम्बिनी प्रमुख शेरचन

मुख्यमन्त्री कुल प्रसाद केसीसहित सभामुख, प्रदेशका मन्त्रीहरू, स्वास्थ्य मन्त्रालयका सचिव, सुरक्षा निकायका प्रमुख तथा प्रमुख जिल्ला अधिकारीहरूलाई आइतबार आफ्नै कार्यालय बुटवलमा बोलाएर उनले यस्तो निर्देशन दिएका हुन् ।

प्रदेश प्रमुख शेरचनले प्रयाप्त मात्रामा पीसीआर परीक्षण नभएको, सिरिञ्ज अभाव र आर्थिक अभावले क्वारेन्टाइन सञ्चालन हुन नसकेकोलगायत मिडियाबाट आफूले जानकारी पाएको भन्दै उनले तत्काल तीनै तहका सरकार मिलेर कोरोना नियन्त्रण तथा बिरामीको उपचारमा लाग्न सुझाव दिए । ‘सरकारको पहिलो दायित्व नागरिकको जीवन रक्षा हो,’ उनले भने, ‘विकास निर्माणका काम स्थगित गरेर भए पनि नागरिकको जीवन सुरक्षा गर्नुपर्छ ।’

छलफलमा मुख्यमन्त्री कुलप्रसाद केसीले कोरोना संक्रमण नियन्त्रण र उपचारको लागि प्रदेशका मन्त्रीहरुको अनुगमन समिति बनाएर अनुगमन गर्ने बताए । उनले संघीय सरकार र नेपाली सेनाको प्रयासमा प्रदेशमा रुपन्देही, कपिलवस्स्तु र बाँकेमा गरी ३ वटा होल्डिङ सेन्टरको निर्माण भइरहेको जानकारी दिए । रुपन्देहीमा जग्गा प्राप्त हुन नसक्दा होल्डिङ सेन्टर नबनेको तर कपिलवस्तु र बाँकेमा निर्माणको काम अन्तिम चरणमा पुगेको मुख्यमन्त्रीले बताए ।

लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालयका सचिव विकास देवकोटाले नयाँ भेरिएन्टपछि प्रदेशमा ५ हजार ५ सय २८ जना प्रदेशमा संक्रमित भएको जानकारी दिए । ५ हजार ३६ जना होम इइसोलेसन, ५० जना संस्थागत आइसोलेसन, ३३ जना आईसीयू र १ जना भेण्टिलेटरमा रहेको उनले बताए । अहिले प्रदेशमा कोरोना परीक्षण भएका करिब ६० प्रतिशतमा कोरोना पोजिटिभ देखिने गरेको र नयाँ भेरियन्टसँगै कोरोना संक्रमण फेलिएपछि प्रदेशमा ११ जनाको मृत्यु भएको बताए ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले भारतबाट आएका यात्रुहरूको नाकामा कोरोना परीक्षण गर्दैआएको तर पोजिटिभ देखिएकाको व्यवस्थापमा समस्या रहेको बताए । नेपाली प्रहरी लुम्बिनी प्रदेश प्रमुख प्रकाश अधिकारीले नागरिकलाई मास्क वितरण गर्दै जनचेतना फैलाइरहेको जानकारी दिए ।

प्रकाशित : माघ ९, २०७८ २०:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?