रोल्पामा हत्याका अभियुक्त २७ वर्षपछि पक्राउ

काशीराम डाँगी

रोल्पा — रोल्पामा हत्यामा संलग्न एक अभियुक्तलाई प्रहरीले २७ वर्षपछि पक्राउ गरेको छ । घटनापछि फरार रहेर लुकीछिपी बसेको अवस्थामा परिवर्तन गाउँपालिका–६ का गणबहादुर कामीलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

बुधबार पक्राउ गरिएका गणबहादुर कामीलाई कारागार चलान गरिसकेको प्रहरीले जनाएको छ । कामीमाथि २०५१ भदौ २१ गते जग्गा साँधसिमाना सम्बन्धी विवादमा साविक तालावाङ गाविस–७ हाल माडी गाउँपालिका–३ खारावाङ ल्वाँतेका चुनबहादुर घर्तीमगरको हत्या गरेको अभियोग थियो।

उक्त घटनापछि र अदालतको फैसलापछि पनि उनी फरार थिए । प्रहरीका अनुसार जग्गा साँध सिमाना सम्बन्धी विवादमा रिसइवीको आधारमा कामीले घर्तीको हत्या गरेका थिए । उक्त घटनाका संलग्न भएका दुई जनामध्ये अर्का अभियुक्तलाई भने पहिले नै पक्राउ गरी कानुनी कारबाही गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक कृष्ण रानाले बताए ।

अभियुक्त गणबहादुर लामो समयदेखि फरार रहेकाले रोल्पा जिल्ला अदालतले उनीबारेको मुद्दा मुलतवी (स्थगन) मा राखेको थियो । उनी विरुद्ध २०७० वैशाख ९ गतेको रोल्पा जिल्ला अदालतको फैसलाले जन्म कैद (२० वर्ष कैद) सुनाएको थियो ।

तर छिमेकी मुलुक भारतमा पुगी लुकिछिपी बस्ने गरेकाले पक्राउ गर्न असहज भएको प्रहरीले जनाएको छ । पछिल्लो पटक भारतबाट लुकिछिपी घर आएको ६ दिनमै प्रहरीले कामीलाई पक्राउ गरेको हो । घटना हुँदा कामी २१ वर्षका थिए । अदालतको फैसलापछि उनी फरार रहेकाले उनको खोजीका लागि प्रहरी खटिँदैआएको जनाएको छ।

प्रकाशित : माघ ७, २०७८ १९:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?