२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

सुरजपुर बाहेक बर्दियाका सबै सीमा नाका बन्द 

कमल पन्थी

बर्दिया — चौतर्फी विरोधपछि जिल्ला प्रशासन कार्यालय, बर्दियाले भारतसँग जोडिएको सुरजपुर बाहेकका सबै सीमा नाका बन्द गरेको छ । उद्योग वाणिज्य संघ, बढैयाताल र गुलरियाले संयुक्तरुपमा कोभिड संक्रमण र अन्य तस्करीसमेत बढेको भन्दै प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारलाई ज्ञापनपत्र बुझाएका थिए ।

जिल्लाको गणेशपुर, कण्ठपुर, चित्तलहवा लगायत नाकाबाट दैनिक सयौँको संख्यामा मानिसहरू किनमेलका लागि सीमापारी बजारमा आउजाउ गर्ने गरेका थिए ।

स्वास्थ्य मापदण्ड पूरा नगरी आउजाउ गर्दा कोरोना संक्रमणको उच्च जोखिम बढ्दै गएको छ । बढैयाताल उद्योग वाणिज्य संघका अध्यक्ष बालकृष्ण लामिछानेले यी नाकाबाट आउने-जानेको लर्को लागेकाले कोभिड संक्रमणको डर भएको भन्दै यसलाई रोक्न सीमा नाका बन्द गर्न आफूहरूले स्थानीय प्रशासनलाई दबाब दिएको बताए ।

स्वास्थ्यकर्मीसमेतले निकै भिडभाड हुने भएकाले नाकाबाट कोरोना संक्रमण बढेको भन्दै यसलाई व्यवस्थित गर्न सुझाव दिएका थिए । जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत नारायण ढकालले कोरोना पूर्णरुपमा नियन्त्रणमा नआएसम्म सुरजपुरबाहेक सबै नाका अनिश्चितकालका लागि बन्द गरिएको बताए । नाका बन्द गरिए पनि लुकीछिपी सीमावारि किनमेल गर्न जाने गरेको स्थानीयले बताए ।

प्रकाशित : माघ ७, २०७८ ११:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?