१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

लापरबाही नरोकिँदा जोखिम बढ्यो

सीमापारि किनमेल गर्न जानेको लर्को, परीक्षाका नाममा विद्यालय बन्द गर्न आनाकानी

भैरहवा, पाल्पा र परासी — कोरोना संक्रमण तीव्र भए पनि लुम्बिनी प्रदेशका जिल्लामा लापरबाही रोकिएको छैन । जिल्ला प्रशासन कार्यालयहरूले संक्रमण रोकथामका लागि विभिन्न आदेश जारी गरेका छन् । तर आदेशको कतै पालना भएको छैन । जसले गर्दा यहाँका घरघरै संक्रमणका बिरामी बढेका छन् ।

लापरबाही नरोकिँदा जोखिम बढ्यो

कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोन फैलिनेबित्तिकै सरकारले मूल नाकामा हेल्थ डेस्क स्थापना गरेर एन्टिजेन परीक्षण थालेको थियो । जसअनुसार नाकाबाट भित्रिने नेपाली तथा भारतीयमा कोरोना संक्रमण पुष्टि हुने क्रम बढेको छ । पहिलो र दोस्रो लहरमा हटस्पट बनेको रूपन्देहीलगायत जिल्लाबाट सीमावर्ती भारतीय बजार सुनौलीमा किनमेल गर्न जाने क्रम रोकिएको छैन ।

अहिले दैनिक सयौं नेपाली भारतीय बजारमा घरायसी सामान खरिद गर्न जान्छन् । उनीहरूको कोरोना परीक्षण गरिँदैन । न त स्वास्थ्य मापदण्ड पालनामै ध्यान दिएको पाइन्छ । सर्वसाधारणले स्वास्थ्य मापदण्ड पालना गरे/नगरेको निगरानीसमेत हुँदैन । महामारी रोकथामका लागि स्थानीय प्रशासनले जारी गरेको आदेश नाकामा कार्यान्वयन भएको पाइँदैन ।

अहिले पर्यटक र भारतबाट रोजगारी गरेर फर्किनेको मात्र कोरोना परीक्षण हुँदै आएको छ । सामान खरिद गर्न जानेको परीक्षण नहुँदा संक्रमण फैलने जोखिम बढेको बेलहियास्थित हेल्थ डेस्कका स्वास्थ्य संयोजक लालमोहन चौधरीले बताए । ‘किनमेल गर्न जानेलाई कोरोना लाग्दैन भन्ने छैन,’ उनले भने, ‘त्यसैले सबैले सावधानी अपनाउन जरुरी छ ।’

भारतमा कोरोना महामारी फैलिएपछि स्वदेश फर्किनेको संख्या बढ्दै छ । यहाँबाट भारत जाने कामकाजीको संख्या पनि धेरै छ । नाकामा स्वास्थ्य मन्त्रालय, सिद्धार्थनगर नगरपालिका र विभिन्न संघसंस्थाले हेल्थ डेस्क राखेका छन् । ४० जनाको हाराहारीमा स्वास्थ्यकर्मी खटिएका छन् । सुरक्षाकर्मी पनि उत्तिकै तैनाथ छन् । यसले पनि अनावश्यक भीड नियन्त्रण हुन सकेको छैन । महामारीको हटस्पट बनिरहेको भारतीय बजार र नाकाबाट आउजाउ खुलमखुला छ । प्र्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले नागरिक आफैं सचेत हुनुपर्नेमा किनमेल गर्न नाकाबाट आउजाउ गर्नु गलत भएको बताए । ‘स्वास्थ्य मापदण्ड सबैलाई अनिवार्य हो,’ उनले भने, ‘हामीले सुरक्षाकर्मीलाई निगरानी गर्न भनेका छौं । अटेर गरे कारबाही गर्छौं । महामारीमा कसैलाई लापरबाही गर्ने छुट हुँदैन ।’

निजी विद्यालयमा परीक्षा चल्दै

कोरोना भाइरस संक्रमितको संख्या पाल्पामा उकालो लागेको छ । लापरबाही घटेको छैन । कोभिड संक्रमणको जोखिम बढेसँगै सरकारले देशभरका विद्यालय माघ १५ सम्म बन्द गर्ने निर्णय गरेको थियो । तर, यहाँका निजी विद्यालयमा भने परीक्षा सञ्चालन भइरहेको छ । सरकारको निर्देशनसँगै सामुदायिक विद्यालय भने बन्द भएका छन् ।

स्थानीय प्रशासनले पुस २८ यता स्मार्ट लकडाउन गरेको छ । सेवा प्रदायक कार्यालय, सार्वजनिक स्थल र स्थानीय तहमा लापरबाही घटेको छैन । ‘जुनसुकै कार्यालयमा पनि भीडभाड उस्तै छ,’ तानसेनका स्थानीय लक्ष्मण पछाईले भने, ‘सरकारी तवरबाट निर्णय गरेर मात्र हुँदैन । निगरानी पनि गर्नुपर्छ । अनुगमन पटक्कै छैन ।’

स्थानीय तहका गोष्ठी, सेमिनार, सार्वजनिक स्थल, सेवा प्रदायक कार्यालयमा भीडभाड उस्तै छ । स्थानीय तहका जनप्रतिनिधि मात्र होइन, स्वास्थ्य कार्यालयले पनि तालिम, गोष्ठी, भेला निरन्तर चलाइरहेको छ । पहिलो र दोस्रो लहरको कोरोना संक्रमणका बेला जिल्ला भित्रिने नाकामा स्थापना भएका हेल्थ डेक्स अहिले सञ्चालनमा छैनन् । दोभान, राम्दी, केलादीलगायतका स्थानमा स्थानीय तहले राखेका हेल्थ डेस्क पनि सञ्चालनमा छैनन् । अघिल्ला वर्ष स्थापना भएका आइसोलेसन र क्वारेन्टिन सञ्चालनलाई निरन्तरता दिन स्थानीय तह अग्रसर छैनन् ।

प्रशासनको निर्देशन अटेरी गर्दै कुनै पनि सतर्कता नअपनाउँदा नागरिकलाई आफू सुरक्षित छु भन्ने महसुस नभएको नेपाल नागरिक समाजका चित्रवलीराम सुवालले बताए । नागरिकले परीक्षणको दायरा बढाउनुपर्ने माग गर्दै आए पनि बढ्न सकेको छैन । स्थानीय तहमा हेल्थ डेस्क स्थापना गर्ने, एन्टिजेन गर्ने बुथ राख्ने निर्णय कार्यान्वयन भएको छैन । संक्रमितसमेत खुलमखुला हिँड्दा जोखिम झनै बढेको छ । ‘लापरबाहीलाई घटाउन सर्वसाधारणमा चेतना नै बढाउन सकेको छैन,’ उनले भने । परीक्षण गर्न नमान्ने संक्रमितले सतर्कता अपनाएका छैनन् । परीक्षण गरेपछि पनि रिपोर्ट नआउँदासम्म खुलमखुला हिँडेका छन् ।

अस्पतालसम्म जानै मान्दैनन् स्थानीय

पश्चिम नवलपरासीमा कोरोनासँग मिल्दाजुल्दा लक्षण भएका मानिस घरघरमा छन् । तर, अधिकांशले स्वास्थ्य सतर्कता अपनाएका छैनन् । रुघाखोकी र ज्वरो नै आए पनि जाडोको कारण र मौसम परिवर्तनको समयमा यस्तो समस्या आउने भन्दै स्वास्थ्य जाँच नगराई घरमै बस्ने गरेका छन् ।

रामग्राम–७ का रुकमती चौधरीको परिवारलाई नै रुघाखोकी लागेको ४ दिन भइसकेको छ । उनीहरूले घरमै बेसारपानी खाने तथा घरेलु औषधि गर्नेबाहेक अस्पतालमा गएर जाँच गराएका छैनन् । कोरोना जाँचका लागि चिकित्सकको परामर्शमा निःशुल्क पीसीआर गरिने भए पनि उनीहरू नजिकैको अस्पतालसम्म गएका छैनन् । ‘बिस्तरामा सुत्नु नै पर्ने गरी कोही बिरामी भएको छैन । रुघाखोकी र ज्वरो त यो जाडो मौसममा आइहाल्छ नि ∕,’ चौधरीले भनिन्, ‘श्वास फेर्न अप्ठ्यारो भएको छैन । कोरोना भएको भए त श्वास फेर्न अप्ठ्यारो हुनुपर्ने ∕ अप्ठ्यारो भए अस्पताल जानुपर्ला ।’ चौधरीको परिवार मात्र होइन, अहिले रुघाखोकी लागेकाले नजिकैको फार्मेसीबाट औषधि किनेर खाने तर चिकित्सककोमा गएर जाँच गराउने संख्या निकै कम छ ।

प्रकाशित : माघ ७, २०७८ १०:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?