कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

७ महिनाअघि बेपत्ता व्यक्तिको हुलियासँग मिल्दोजुल्दो कंकाल र सामग्री फेला

काशीराम डाँगी

रोल्पा — पश्चिमी रोल्पास्थित त्रिवेणी गाउँपालिका-६ जुगारमा मानव कंकाल फेला परेको छ । प्रहरीले स्थानीयले निम्टीखोलास्थित लौटे भीरमुनिको पाखोमा स्थानीयबासीले मानव कंकाल भेटेको जनाएको छ । 

घाँसदाउरा गर्न गएका स्थानीयले माघ २ गते बिहान ७ बजेतिर रुखमुनि मानव कंकाल र केही लत्ता कपडा भेट्टाएपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी अनुसन्धान गर्न पुगेपछि कंकालको साथबाट लाभा कम्पनीको मोबाइल, टर्च, कट्टु, टी-सर्टसमेत भेटिएको थियो । होलेरीस्थित इलाका प्रहरी कार्यालयबाट इन्चार्ज प्रहरी निरीक्षक जिवराज थापाको नेतृत्वमा खटिएको प्रहरीले सम्पूर्ण सामग्री संकलन गरेर अनुसन्धान थालेको छ ।

जिल्ला प्रहरी कार्यालयले कंकाल र त्यसका साथ फेला पारिएका सामग्री थप जाँच र अनुसन्धानका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पठाइएको प्रहरी नायव उपरीक्षक विनोद घिमिरेले बताए ।

कंकाल र अन्य सामग्री फेला पारेपछि स्थानीय एक महिलाले ती सामान आफ्नो पतिको भएको दाबी गरेकी छन् । जुगार निवासी श्रीमती हीमा नेपालीले मोबाइल, टी-सर्ट र कपडाहरू बेपत्ता भएका आफ्नो पति ठाकुर नेपालीको भएको दाबी गरेकी हुन् । प्रहरीले यसबारे अनुसन्धान थालेको छ ।

प्रहरीका अनुसार गतअसार २३ गते बेलुकी ६ बजेतिर त्रिवेणी-६ स्थित आफ्नो घरबाट ४५ वर्षीय ठाकुर नेपाली बेपत्ता भएका थिए । यसबारे परिवारले प्रहरी समक्ष उजुरी समेत गरेको थियो । परिवारका अनुसार छिमेकी लोकेन्द्र खड्काको घरमा गएका बेला ठाकुर बेपत्ता भएका थिए । ठाकुर फर्केर नआएपछि परिवारले खड्काविरुद्ध प्रहरीमा उजुरी दिएको थियो । बेपत्ता भएको ५ दिनपछि हीमाले प्रहरी चौकी जुगारमा हुलियासहित खोजी गरिदिन उजुरी दिएकी थिइन् ।

उक्त उजुरीपछि प्रहरीले निकै लामो समयसम्म ठाकुरको खोजी गरेको थियो । अनुसन्धानका क्रममा प्रदेश प्रहरी कार्यालयबाट विशेषज्ञ झिकाई अनुसन्धान गरिएको थियो । प्रहरीले हीमाको उजुरीका आधारमा लाकेन्द्र खड्का र उनकी पत्नी ३४ वर्षीया गौमाया घर्तीमगर (खड्का) लाई नियन्त्रणमा समेत लिएको थियो । अन्त्यमा प्रहरीले दुवैविरुद्ध व्यक्ति बेपत्तासम्बन्धी कसूरमा मुद्दा चलाएको थियो ।

ठाकुरको अवस्था पत्ता लगाउने क्रममा प्रहरीले स्थानीय बासिन्दा, आफन्त र तालिमप्राप्त कुकुर झिकाई खोजतलाससमेत गरेको थियो । खड्काको बयानअनुसार जंगलमा खाल्डो खन्दै शव खोजी गरे पनि पत्ता लगाउन नसकिएको प्रहरी निरीक्षक थापाले बताए ।

रोल्पा जिल्ला अदालतले साउन २९ गते मुद्दाको फैसला गर्दै लोकेन्द्रलाई पुर्पक्षका लागि कारागारमा पठाउने निर्णय सुनायो भने उनकी पत्नी गौमाया ७५ हजार रुपैयाँ धरौटीमा हिरासतमुक्त भइन् । प्रहरीले घटनाबारे गम्भीर अनुसन्धान थालेको जनाएको छ । प्राप्त कंकाल, सामान र उजुरीबारे प्रमाणिक अनुसन्धान गरेर सत्य बाहिर ल्याउन प्रहरी खटिएको प्रहरी नायव उपरीक्षक घिमिरेले बताए ।

प्रकाशित : माघ ६, २०७८ १९:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?