पाडो खानै आएन बाघ

रूपा गहतराज

नेपालगन्ज — बाँकेको राप्तीपारिका बस्तीमा स्थानीयमाथि आक्रमण गर्ने बाघ अझै नियन्त्रणमा आएको छैन । फत्तेपुर जंगलमा सिकार गर्न आउला र नियन्त्रणमा लिने भनेर तयारी गरिएको थियो तर बाघ आएन । सदाबहार सामुदायिक वनका दुई ठाउँमा गत मंगलबार र बुधबार ‘पाडो’ लगेर बाँधिएको थियो ।

पाडो खानै आएन बाघ

पाडो बाँधेका ठाउँमा बाघ नआएको डिभिजन वन कार्यालय प्रमुख ददिराम कँडेलले बताए । ‘अहिले पाडो हटाएका छौं,’ उनले भने, ‘पाइला देखिएको स्थानमा बाघ देखा परेन ।’

फत्तेपुरमा गत पुस २२ मा लीला विष्ट र २४ मा चाँदनी थारूको बाघको आक्रमणबाट मृत्यु भएको थियो । घाँस–दाउरा गर्न वनमा गएका बेला दुवैमाथि बाघले आक्रमण गरेको थियो । बाघको आक्रमणबाट स्थानीयको मृत्यु भएपछि निकुञ्ज र सामुदायिक वन आसपासमा त्रास छ । पछिल्लो तीन महिनामा चार जनाको मृत्यु भएपछि बाघ नियन्त्रणमा लिन चितवनको सौराहाबाट प्रकृति संरक्षण कोषको प्राविधिक टोली यहाँ आएको छ । एक साता पुगे पनि प्राविधिकको टोलीले बाघको चाल खबर पाएको छैन । चितवनबाट आएको डा. अमीर सडौलाको टोलीले बाघको पाइला देखिएको स्थानको अवलोकन गरेको थियो । ‘दुवै ठाउँमा हेर्दा बाघको ताजा पाइला थारूलाई आक्रमण गरेको ठाउँमा देखियो,’ उनले भने, ‘पाडो पनि राखियो तर बाघको मुभमेन्ट देखिएन, चालचुल नदेखिँदा बाघ नै छैन जस्तो लाग्न थाल्यो ।’

पाडो खान आएमा बाघलाई बेहोस बनाई नियन्त्रणमा लिने प्राविधिक टोलीको योजना थियो । प्राविधिक टोली दुईवटा हात्तीको सहयोगमा त्यहाँ परिचालन हुँदै आएको छ । बाघ आयो भने पाडोलाई आक्रमण गर्छ । घिसारेर नजिकको झाडीमा लैजान्छ । त्यही बेलामा बन्दुकले हानेर बेहोस बनाई बाघ नियन्त्रण गर्ने योजना अझै सफल हुन सकेको छैन । डा. सडौलाले बाघलाई नियन्त्रणमा लिन प्रयासरत रहेको बताए । ‘हामी आएदेखि जंगलमै छौं,’ उनले भने, ‘ताजा पाइला देखिएको ठाउँमा समेत फेरि बाघ आएको छैन । आउँछ भन्ने हामीलाई विश्वास छ ।’ बाघ खोज्न राष्ट्रिय प्रकृति संरक्षण कोषका स्वास्थ्य प्राविधिक, डिभिजन वन कार्यालय, बाँके राष्ट्रिय निकुञ्ज, वन तथा वातावरण संरक्षण समन्वय समिति कम्दीका पदाधिकारी, सामुदायिक वनकर्मी, प्रहरी, नेपाली सेना, स्थानीय जनप्रतिनिधिलगायतको संयुक्त टोली फत्तेपुर जंगलमा नियमित रूपमा परिचालन हुँदै आएको छ ।

प्रकाशित : माघ ६, २०७८ ११:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?