लुम्बिनी प्रदेशका कोरोना विशेष अस्पतालमा ४ सय ९१ शय्या- लुम्बिनी - कान्तिपुर समाचार

लुम्बिनी प्रदेशका कोरोना विशेष अस्पतालमा ४ सय ९१ शय्या

४ सय ८३ जना स्वास्थ्यकर्मी करारमा
अमृता अनमोल

बुटवल — पश्चिम क्षेत्रको लुम्बिनी प्रदेश कोभिड संक्रमणको हटस्पट बन्दैछ । कोरोना संक्रमण फेरि बढ्ने र महामारी देखा‍पर्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै लुम्बिनी प्रदेशमा कोरोना तेस्रो लहरको तयारी तीव्र पारिएको छ । 

कोभिड संक्रमण बढ्न थालेपछि लुम्बिनी प्रादेशिक अस्पतालले कोभिड आपत्कालीन सेवा सुरु गरेको छ । कोभिड बिरामीका लागि छुट्टै भवनमा आपत्कालीन सेवा संचालन गरी त्यहाँ २२ शय्या राखिएको छ । कोभिडका लागि ६० शय्या छुट्याइएको अस्पतालमा २० शय्या आईसीयू कोभिडका बिरामीका लागि छ । हाल अस्पतालमा दैनिक ८ देखि १० जना कोभिड संक्रमितहरू उपचारका लागि भर्ना भएका छन् । तर, परीक्षणका लागि दैनिक १ सयभन्दा बढी बिरामी आउने गरेको र बिरामी बढ्न सक्ने अनुमानमा चिकित्सकीय टोली तयारी अवस्थामा राखिएको मेसु डा. इन्द्र ढकालले बताए ।

‘दोस्रो लहरमा अक्सिजन अभावले उपचारमा निकै सास्ती भोग्यौं । अक्सिजन अभावले बचाउन सक्ने बिरामीको छट्पटिएरै मृत्यु भयो,’ डा. ढकालले भने, ‘यसपाली त्यस्तो नहोस् भनेर अस्पतालमै दुईवटा अक्सिजन प्लान्ट जडान गरेका छौं ।’

कारोना संक्रमण बढे पनि अहिले खोप कार्डका आधारमा गाडीका गाडी भारतीय पर्यटक तीर्थस्थल र पर्यटकीय स्थल घुम्न आएका छन् । लामो समय भारतबाट आएकाहरूलाई नाकामा गरिएको एन्टीजेन परीक्षणको भरमा प्रवेश गर्न दिँदा कोरोना संक्रमण बढेको हुन सक्ने भन्दै प्रदेशका अस्पतालहरूको तयारी थालिएको स्वास्थ्य निर्देशक डा. विनोदकुमार गिरीले बताए ।

‘संक्रमित बढ्ने र अस्पताल भरिन सक्ने आकलनसहित उपचारका लागि अस्पतालहरूलाई तयारी अवस्थामा राखेका हौं,’ उनले भने, ‘एचडीयू र अक्सिजनसहितका उपचारमा अझ बढी संवेदनशील छौं ।’

लुम्बिनी प्रदेशका चारवटा कोरोना विशेष अस्पताल छन् । तिनमा ४ सय ९१ शय्या छन्‚ जसमा १ सय १० वटा जनरल शय्या, २ सय १९ एचडीयू, १ सय ३० आईसीयू र ३२ वटा भेन्टिलेटर रहेका छन् । पालिकास्तरीय ३ सय २५ आइसोलेसन अस्पतालहरूमा एचडीयू ४ सय ५, आईसीयू १ सय २३ र भेन्टिलेटर ३० वटा छन् । प्रदेशका अस्पतालमा १४ वटा अक्सिजन प्लान्ट छन् ।

प्रदेश सरकारले चिकित्सकसहित ४ सय ८३ जना स्वास्थ्यकर्मीको व्यवस्था गरेको छ । उनीहरूलाई चैत मसान्तसम्म करारमा राखिएको छ भने अस्पतालका करिब ५ सय स्वास्थ्यकर्मीलाई मेडिकल केयर तालिम दिइएको स्वास्थ्य निर्देशनालयका प्रवक्ता रोशनलाल चौधरीले बताए । ‘प्रदेशका सबै नागरिकले खोप लगाइसकेका छैनन् । खोप नलगाएकालाई कोरोना संक्रमणका जटिल लक्षण देखिन सक्छन्,’ चौधरीले भने, ‘त्यस्ता संक्रमितको पनि सहज उपचार होस् । संक्रमणकै कारण ज्यान गुमाउनु नपरोस् भनेर सचेतना अपनाएका छौं ।’

लुम्बिनी प्रदेशमा हालसम्म १२ वर्षमाथिका कुल जनसंख्याको ५६ प्रतिशतले खोपको पूर्ण मात्रा लगाएका छन् । संख्याका हिसाबले १८ लाख ९८ हजार २ सय ४३ जनाले खोप लगाएका छन् । धेरै जनसंख्या खोप लगाउनबाटै छुटेकाले जटिल बिरामी हुनसक्ने अनुमानमा अस्पताल व्यवस्थापन र उपचारमा ध्यान दिएको स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री विमलाकुमारी खत्रीले बताइन् ।

स्वास्थ्य निर्देशनालयका अनुसार बालबालिका लक्षित बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पतालमा २५ शैय्याको एनआईसीयूसहितको कोभिड कक्ष निर्माण गरिएको छ । १३ वटा प्रदेश मातहतका अस्पतालमा कम्तीमा पाँचवटा आईसीयू शैय्या र २५ शैय्याका एचडीयू बन्ने प्रक्रियामा छन् । हरेक अस्पतालमा आफ्नै अक्सिजन प्लान्ट जडान भएका छन् । यद्यपि संक्रमणबाट जोगिनेबारे नागरिकलाई सचेत पार्ने, कोभिड प्रोटोकल मान्ने र आधारभूत विषयमा अनुशासन अपनाउनेबारे प्रतिबद्ध बनाएको पाइँदैन ।

लुम्बिनी प्रादेशिक अस्पतालका कोरोना फोकल पर्सन डा. नन्दुप्रसाद पाठकले नागरिकस्तरबाट सचेतना नअपनाउँदासम्म कोरोना संक्रमण रोकथाम गर्न नसकिने बताए । ‘सरकारले उपचारका लागि भर्ना भएकालाई उपचार गरेर मात्र पुग्दैन । सर्वसाधारणलाई कोभिडबाट बच्न अपनाउने मापदण्डबारे पनि सिकाउने र त्यसलाई व्यवहारमा लागू गर्ने बनाउनुपर्छ,’ उनले भने, ‘तर‚ सर्वसाधारण मास्क पनि नलगाई निस्फिक्री हिँडेका छन् । जुन गलत छ ।’

कोरोनाको पहिलो र दोस्रो लहरबाट लुम्बिनी प्रदेश अतिप्रभावित बन्यो । बेलाबेलामा अस्पतालमा जनशक्ति, उपकरण र स्थान अभावले उपचार सेवामा कठिनाइ देखापरे । त्यसबाट पाठ सिक्दै अस्पतालले यसपाली संक्रमित बिरामीको व्यवस्थापनमा अस्पतालको भौतिक अवस्था सुधारेको छ । तर, प्रदेश सरकारले हालै आफू मातहतका अस्पतलामा अध्यक्षसहितका व्यवस्थापन समिति खारेज गरेको छ ।

यसले अस्पतालमा संक्रमितहरूको उपचार र व्यवस्थापनमा समस्या पो देखिने हो कि भन्ने आशंका छ । ‘प्रभावकारी उपचारका लागि अस्पतालमा चिकित्सक र उपकरणले मात्रै पुग्दैन । व्यवस्थापन पनि ठूलो कुरा हो,’ पारदर्शी सरोकार समूह बुटवलका उपाध्यक्ष लालहरि पाण्डेले भने, ‘कोरोना संक्रमण घरघरै पुगेका र अस्पताल भरिन लागेका बेला अस्पताललाई व्यवस्थापन समितिविहीन बनाउनु दुःखद हो ।’

प्रकाशित : माघ ४, २०७८ ११:१४
प्रतिक्रिया
पठाउनुहोस्

आत्तिन थाले साना व्यवसायी

सीमा तामाङ

काठमाडौँ — देशभर एक सातायता कोरोना संक्रमण (ओमिक्रोन भेरिएन्ट) दर तीव्र गतिमा बढिरहेको छ । संक्रमण दर बढेकै कारण सरकारले सोमबारदेखि सिनेमा हल तथा रात्रिकालीन व्यवसायलाई माघ १५ सम्म बन्द गर्ने निर्णय गरिसकेको छ । यससँगै व्यवसायी पनि आत्तिन थालिसकेका छन् ।

दिनदिनैजसो होलसेलबाट सामान उठाउने शंखमूलकी कपडा व्यवसायी मनीषा थापाले गएको साता एक पटक मात्र सामान हालिन् । ‘कोरोनाको दर बढ्दै छ, लकडाउन हुने हो कि भन्ने डर छ,’ उनले भनिन्, ‘यता सामान हाल्यो, उता लकडाउन भयो भने के गर्ने ?’ अबको लकडाउनलाई कसरी व्यवस्थापन गर्ने भन्नेमा अन्योल रहेको उनले सुनाइन् ।

पहिले ल्याइरहेको पसलबाट कोरोनाका कारण मौसमअनुसारका समान ल्याउन नपाउँदा अर्कैतिरबाट महँगोमा ल्याएर बेच्नुपरेको उनको भनाइ छ । अहिले सामान्य पसल मात्र होइन, होलसेल पसल पनि सुनसान हुन थालिसकेका छन् । उपत्यकाका खुद्रा पसलेले सामान लिने न्युरोडको रञ्जना कम्प्लेक्स पनि अन्य समयको तुलनामा सोमबार खालीखाली थियो ।

रन्जनामै कपडाको होलसेल पसल चलाइरहेका सीताराम भट्टराई पनि १० दिनदेखि व्यापार घट्दै गएको बताउँछन् । ‘कोरोनाको त्रास बढ्दै गएकाले व्यापार घटेको छ,’ उनले भने, ‘यस्तै पारा हो भने लकडाउन हुन्छ होला, पहिला नि ऋण तिरेर चलाइयो, अब पनि अवस्था त्यस्तै आउला ।’ प्रतिदिन एक लाखभन्दा बढीको व्यापार हुने पसलमा हिजोआज १० देखि ५० हजार रुपैयाँ पुग्न पनि मुस्किल हुने परेको उनले सुनाए । कोरोना बढ्दै गयो भने त पसल खोल्ने र बन्द गर्ने मात्र हुने उनको बुझाइ छ । सरकारले विभिन्न निर्णय गर्न थालिसकेपछि व्यवसायी चिन्तित छन् । दुई वर्षदेखि कोरोनाका कारण राम्ररी सामान बेच्न नपाएको उनीहरू सुनाउँछन् ।

व्यवसायले आफ्नो बाटो लिन लागेका बेला लकडाउन हुँदा आफूहरू मारमा पर्ने गरेको उनीहरूको भनाइ छ । अहिले रिटेल पसलका व्यापारी आउनै छाडेकोको रञ्जना गल्लीकै नेफा भवनमा कपडाको नै होलसेल पसल सञ्चालन गरिरहेको सत्यनारायण मानन्धरले बताए । कपडाको मात्र नभई अरू सबै खाले पसलमा ग्राहकको कमी हुन थालिसकेको छ । न्युरोडस्थित पाको रोडको ताम्राकार कम्प्लेक्समा पनि पहिलाको तुलनामा ५० प्रतिशतभन्दा बढी मानिसको आगमन घटेको छ । ‘पहिला दिनमै १० हजार मानिस कम्प्लेक्स आउँथे, आजकाल मुस्किलले ३/४ हजार आउँछन्,’ कम्प्लेक्समा मोबाइल पसल गरिरहेका विवेक शर्माले भने, ‘ओमिक्रोनका बिरामी बढ्न थालेपछि मान्छे घट्न थाले । मान्छे नै नभएपछि के व्यापार हुन्थ्यो ?’

थापाथलीस्थित वाग्मती किनारामा चटपटे बेच्ने मिठु मगर अब लकडाउन भयो भने बाँच्ने आधार नै नरहने बताउँछिन् । उनलाई लकडाउन भयो भने कसरी थेग्ने भन्ने चिन्ताले सताउन थालेको छ । ‘आफ्नो मात्र ज्यान होइन, बूढा बाउआमा पाल्नु छ, के पो गर्ने हो,’ उनले भनिन् ।

प्रकाशित : माघ ४, २०७८ ११:१०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×