कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

मुख्यबाहेकका नाका बन्द गर्न सुझाव

रोल्पामा स्वास्थ्यकर्मी र जनप्रतिनिधि नै संक्रमित

बर्दिया,रोल्पा — बर्दियामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि स्वास्थ्यकर्मीले नेपाल–भारत सीमा सुरजपुरबाहेक अन्य नाका बन्द गर्न सुझाव दिएका छन् । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र र जिल्ला सुरक्षा समितिको मंगलबार बसेको बैठकमा उक्त कुरा उठाइएको हो । कोरोना संक्रमण नियन्त्रणमा
नआए भयावह स्थिति आउने भन्दै स्वास्थ्यकर्मीले मुख्यबाहेकका नाका बन्द गर्न सुझाव दिएका हुन् ।

मुख्यबाहेकका नाका बन्द गर्न सुझाव

जिल्ला स्वास्थ्य प्रमुख गोकर्ण गिरीले सुरजपुरबाहेक अरु नाकाबाट ठूलो संख्यामा मानिस आउजाउ गर्दै आएको बताए । सीमाको सुरजपुर नाकामा हेल्थ डेक्स भएका कारण यहाँबाट मानिस थोरै संख्यामा आउजाउ गर्छन् । गणेशपुर र जमुनी नाकाबाट दैनिक हजार बढी मानिस घरायसी सामान खरिद गर्न जान्छन् । मास्कसमेत नलगाएर भीडमा जाँदा कोभिडको जोखिम रहेको स्वास्थ्य प्रमुख गिरीले बताए । जिल्लामा शनिबार मात्रै १ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एक सातामा ६० प्रतिशत बढी बिरामी थपिएका छन् ।

अधिकांश भारतबाट आएका यात्रु रहेको बताइन्छ । मानिसहरू किनमेलका लागि भारततर्फ जाने गरेको बढैयाताल गाउँपालिकाका उद्योग वाणिज्य संघका अध्यक्ष बालकृष्ण लामिछानेले बताए । प्रशासनको कमजोरीले भीडभाड र भारत आउजाउमा कमी नआएको उनले गुनासो पोखे । पीसीआरको साटो अहिले एन्टिजेन विधिबाट स्वास्थ्य परीक्षण गरिँदै छ । मानिसहरूले स्वास्थ्य परीक्षण गराउनुपर्ने भन्दै सुरजपुरबाहेकका नाका प्रयोग गरिरहेका छन् । स्वास्थ्य परीक्षणको दायरा बढाउन स्थानीय प्रशासनले निर्देशन दिएको छ । कोरोना संक्रमण नियन्त्रणमा नआए सुरजपुरबाहेक सबै नाका बन्द गरिने प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले बताए ।

कोरोना संक्रमणको नयाँ भेरिएन्टबाट रोल्पामा स्वास्थ्यकर्मी र जनप्रतिनिधि संक्रमित भएका छन् । जिल्ला अस्पतालमा कार्यरत चिकित्सकसहितका आधा दर्जन बढी स्वास्थ्यकर्मीमा संक्रमण देखिएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार एक जना चिकित्सकसहित प्रयोगशाला (ल्याब) तथा नियमित जाँच कक्षका स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको हो । आपत्कालीन सेवाका स्वास्थ्यकर्मीमा भने संक्रमण देखिएको छैन । एक चिकित्सकका अनुसार संक्रमण नदेखिएका स्वास्थ्यकर्मीबाट अस्पतालको सेवा प्रवाह गर्ने व्यवस्था मिलाइएको छ ।

त्यसअघि रोल्पा नगर प्रमुखसहित कर्मचारीमा पनि कोरोना संक्रमण दखिएको थियो । नगर प्रमुख पूर्ण केसीले आफूमा संक्रमण देखिएकाले आराम गरिरहेको जानकारी सामाजिक सञ्जालमार्फत व्यक्त गरेका छन् । उनीसहित माओवादी केन्द्रका नेताहरू राजधानीमा आयोजित पार्टीको महाधिवेशनमा भाग लिन पुगेका थिए । फर्केपछि नगर प्रमुख केसीसहित केही नेतामा संक्रमण देखिएको हो । केही पत्रकार, व्यवसायी तथा कर्मचारीमा पनि संक्रमण देखिएको जिल्ला स्वास्थ्यले जनाएको छ । रोल्पा अस्पतालका सूचना अधिकारी कुलबहादुर डाँगीले रोल्पामा देखिएको संक्रमणको लक्षणका आधारमा डेल्टा भेरिएन्ट हुन सक्ने बताए । ‘संक्रमण व्यापक रूपमा फैलिँदो अवस्था भएकाले सबैले स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने अवस्था छ,’ उनले भने । जिल्ला स्वास्थ्यका अनुसार हालसम्म रोल्पामा दर्जन बढीलाई कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

प्रकाशित : माघ ३, २०७८ ११:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?