बडघर चयनमा राजनीतिकरण

नेपालगन्ज,बर्दिया — समुदायले पत्याएको र जिम्मेवारी वहन गर्न सक्ने आँट भएको मानिस नै हरेक वर्ष माघी पर्व सकिएलगत्तै थारू समुदायमा बडघर छानिने परम्परा छ । समय दिन सक्ने र जिम्मेवारी बहन गर्न सक्नेले मात्र यो पद लिने गर्दै आएका छन् । तर, विगतदेखि बडघर राजनीतिक दलका सदस्यबाट चयन हुन थालेपछि यो प्रथाको मर्म हराउँदै गएको यहाँका बूढापाकाले बताउन थालेका छन् ।

मुक्त कमैया आन्दोलनका अगुवा बिन्तीराम थारूले बडघरको मर्म राजनीतिका कारण धुमिल भएको बताए । ‘बडघर कुनै पनि पार्टीको पूर्णकालीन सदस्य हुनु हुँदैन,’ उनले भने, ‘अहिले पार्टीमा आबद्ध नभएका बडघर पाउनै छाडियो ।’ बारबर्दिया–५ धोबियाका लालबहादुर चौधरीले अहिले बडघर चयन राजनीतिक दलका प्रतिनिधिबाट हुने गरेको बताए । ‘हाम्रो गाउँमा माओवादीको पकड भएकाले बडघर माओवादी केन्द्रका सदस्य नै चुनिन्छन्,’ उनले भने ।

कृषि क्षेत्रमा उत्कृष्ट काम गरेबापत २०७२ सालमा राष्ट्रपतिबाट पुरस्कृत राजापुरका शर्मा चौधरीले समाजमा राम्रो छवि बनाएको मानिस बडघर हुने गरेको बताए । ‘अहिले राजनीतिक आस्थाका आधारमा बडघर चयनले प्रतिष्ठा घटेको छ,’ उनले भने, ‘यो पद सम्मानित भएकाले राजनीतिबाट टाढै राख्नु जरुरी छ ।’ जिल्लाका केही ठाउँमा बडघरलाई राजनीतिबाट टाढै राखिएको दाबी स्थानीयको छ । समाजेवी थारू अगुवा राजापुर–२ का नरेन्द्र चौधरीले अझै पनि धेरै ठाउँमा बडघर प्रथा राजनीतिबाट टाढा राखिएको दाबी गरे । कहींकतै त्यस्ता गतिविधि भए पनि धेरै ठाउँमा सामाजिक रूपमा प्रतिष्ठित मानिस बडघर चयन हुने गरेको उनले बताए । बडघर चयन माघ मसान्तभित्रै गरिसक्नुपर्ने नियम छ ।

बडघरले स्थानीय निकायमा दलको भूमिका जस्तै अधिकार माग गर्दै आएको दुई दशकपछि बारबर्दिया नगरपालिकाले गत वर्ष कानुनी मान्यता दिएको थियो । कार्यपालिकाको बैठकले ‘बारबर्दिया बडघर सञ्चालन ऐन, ०७७’ पारित गरेको हो । कानुनी मान्यता पाए पनि जनप्रतिनिधिले सरह तलब–भत्ता वा सरकारी सुविधा भने बडघरले पाउने छैनन् । बारबर्दिया नगर प्रमुख दुर्गाबहादुर थारूले बडघरले जननिर्वाचित प्रतिनिधिसँग सहकार्य गरेर प्रचलित कानुनमा रही गाउँघरका झैंझगडा आपसी समझदारीमा समाधान गर्न पाउने व्यवस्था ऐनमा राखिएको बताए ।

मौलिकता हराउँदै

थारु समुदायले मनाउने माघीको आफ्नै मौलिकता छ । तर, त्यो मौलिकता नयाँ पुस्तासँगै बदलिएको छ । एक दिन मनाइने माघी अहिले तीन दिनसम्म मनाइन थालेको छ । आफन्त अनि इष्टमित्र भेटघाट र खानपिनमा माघीको रौनक सीमित छ । ‘खासमा एक दिन मनाइने पर्व हो । अहिलेकाले धेरै दिनसम्म मनाउँछन्,’ बैजनाथ गाउँपालिका–६ गरगईका दयाराम थारुले भने, ‘बडघर चुन्ने प्रतिस्पर्धा नै हराइसक्यो ।’

बाँकेको बैजनाथ गाउँपालिका थारू समुदायको बाक्लो बस्ती भएको क्षेत्र हो । जहाँ ८ वटा वडामा तीन जना थारू समुदायका वडाध्यक्ष छन् । ‘पहिला मेलाहरू लाग्थे, साथीभाइहरू जम्मा हुन्थ्यौं,’ दयारामले भने, ‘अहिलेको नयाँ पुस्ता एक्लै रमाउँछ । सबै मोबाइमा व्यस्त हुन्छन् ।’ मौलिकता अब सम्झनामा बाँकी रहेको थारू अगुवाले अनुभव सुनाए । आफन्तसहित थरीथरीका परिकार पकाएर खानु, आफ्नो संस्कृति झल्कने पोसाकमा सजिनु, थारू भाषाका गीतमा नाच्नु माघीको विशेषता रहेको अभियन्ता कृष्ण चौधरीले बताए । ‘यो पर्व मात्र होइन, संस्कार पनि हो । बिहानै सूर्य हेरी नुहाएर चामल, दाल आदि छोएर चेलीबेटीलाई दान दिएपछि मात्रै खाना पकाएर खाने चलन आफैंमा महत्त्वपूर्ण मानिन्छ,’ उनले भने, ‘जुन महिलाहरूलाई दिइने सम्मान पनि हो ।’ राप्तीसोनारी गाउँपालिका–३ का ५५ वर्षीय सीताराम थारुले शनिबार घरमा खिचडी खाएर परिवारसँग माघी मनाएको बताए ।

प्रकाशित : माघ ३, २०७८ १०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?