

नेपालगन्ज — भारतबाट फर्केका यात्रुको कोरोना जाँचमा खटिएका स्वास्थ्यकर्मी नै संक्रमित हुन पुगेका छन् । नाकामै कोरोना भाइरसको परीक्षणका लागि खटिएका १७ जना स्वास्थ्यकर्मीमा ९ जना संक्रमित भएका छन् । हेल्थ डेस्कमै खटिएका कर्मचारी कोरोना भाइरसबाट संक्रमित हुन थालेपछि नाकामा स्वास्थ्य जाँच गर्न स्वास्थ्यकर्मीको अभाव हुन थालेको छ ।



नाकाको हेल्थ डेस्कका खटिएका चिरिञ्जवी ज्ञवालीले सेवा प्रदान गर्न समस्या भएको बताए । 'जनशक्ति थप गर्नका लागि ताकेता गरीरहेका छौं,' उनले भने , 'थोरै जनशक्तिमा सबैको परीक्षण सम्भव हुँदैन ।'
पछिल्लो केही दिनयता नेपालगन्जको जमुनाह नाकाबाट घर फर्किने नेपालीको संख्या ह्वात्तै बढेको छ । उनीहरु फर्किएसFगै नेपालमा कोरोना संक्रमणको जोखिम समेत बढेको छ । नाकामा पुस १९ गते देखि ३० गते सम्म ३३६ जना कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले हेल्थ डेस्कमा कार्यरत ल्याबका कर्मचारी र पारामेडिक्सलाई कोरोना पुष्टि भएको बताए । संक्रमित सबै जना स्वास्थ्यकर्मीमा सामान्य रुघाखोकी देखिएको छ ।
नाकामा १७ जना स्वास्थ्यकर्मी परिचालन गरिएको थियो । जो दुई सिफ्टमा ड्युटी गर्छन् । मास्क, एम्प्रोन लगाएर काम गरिरहेका स्वास्थ्यकर्मी समेत कोरोनाको जोखिम छ । भीड व्यवस्थापनलाई सहज बनाउन स्वास्थ्यकर्मीलाई नै सकस छ ।
भारतमा कोरोनामा भाइरसको संक्रमण तीव्र बनेसँगै रोजगारीका लागि भारत पुगेका नेपालीहरु घर फर्किन थालेका हुन् । भारतको दिल्ली, महाराष्ट्र, चण्डीगढ, हैदराबाद, चेन्नईबाट आएका व्यक्तिमा कोरोना देखिएको छ ।
बाँकेमा शनिबार मात्र एकैदिन ८५ जना नयाँ संक्रमित फेला परेका छन् । जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेले शनिबार सार्वजनिक गरेको रिपोर्ट अनुसार भेरी अस्पतालको पीसीआर ल्याबमा ४४ जनाको पीसीआर परीक्षण गर्दा २८ जना व्यक्तिमा कोरोना पुष्टि भएको हो ।
यस्तै, मेडिकल कलेजको ल्याबमा ३४ जनाको परीक्षण गर्दा १६ जनामा संक्रमण देखिएको छ । यसैगरी बागेश्वरी ल्याबमा २५ जनाको परीक्षण गर्दा ९ जनामा संक्रमण देखिएको केन्द्रका फोकल पर्सन तेज ओलीले बताए । उनका अनुसार १ सय ३ जनाको पीसीआर परीक्षण गर्दा ५३ जनामा संक्रमण देखिएको छ । यसमध्ये बाँकेका मात्रै २५ जना पुरुष र १४ जना महिला गरी ३९ जना संक्रमित रहेका छन् ।
प्रकाशित : माघ २, २०७८ १३:०१