त्रिवेणी गाउँपालिका बालश्रम मुक्त घोषणा, विपद्‍मा परेका बालबालिका उद्वारमा २८ लाख

काशीराम डाँगी

रोल्पा — रोल्पाको त्रिवेणी गाउँपालिकालाई बाल श्रममुक्त गाउँपालिका घोषणणा गरिएको छ । एक कार्यक्रम आयोजना गरी जिल्ला समन्वय समितिका प्रमुख राजबहादुर बुढामगरले गाउँपालिकालाई बाल श्रममुक्त घोषणणा गरेका हुन् ।

त्रिवेणी गाउँपालिका बालश्रम मुक्त घोषणा, विपद्‍मा परेका बालबालिका उद्वारमा २८ लाख

अब गाउँपालिकाभित्र कुनै पनि बालबालिकालाई श्रममा लगाउन रोक लगाउनुका साथै त्यसका लागि अभिभावकलाई रोजगारयुक्त बनाइएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकालाई बाल श्रममुक्त घोषणा गर्नुअघि ७ वटै वडालाई समेत बाल श्रममुक्त घोषणणा गरिएको थियो ।

लुम्बिनी प्रदेशमा बाल श्रममुक्त गाउँपालिका घोषणणा गरिएको यो पहिलो हो । बाल श्रममुक्त घोषणा कार्यक्रममा जनप्रतिनिधि, विद्यार्थी, अभिभावक लगायत उपस्थित थिए । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) ले भेला आयोजना गर्न रोक लगाए पनि पूर्व निर्धारित कार्यक्रम भन्दै गाउँपालिकाले घोषणा कार्यक्रम आयोजना गरेको थियो ।

‘असल अभिभावक, सुरक्षित बालबालिका : सुखी र समृद्ध त्रिवेणी गाउँपालिका’ मूल नारासहित सबै वडाहरूलाई बाल श्रममुक्त घोषणणा गरिएको थियो । कार्यक्रमपछि गाउँपालिकाका अध्यक्ष शान्तकुमार वलीले बालबालिकामैत्री गाउँपालिका बनाउने क्रममा बालबालिकालाई श्रमबाट मुक्त गर्ने अभियान सफल पारिएको बताए ।

‘अब हाम्रो गाउँपालिकामा कोही बालबालिका श्रममा खट्ने छैनन् । सबैलाई शिक्षा र सिर्जनात्मक कार्यमा लगाउन सुनिश्चित गरिएको छ,’ अध्यक्ष वलीले भने । गाउँपालिकाले यसअघि नै बाल श्रम निवारण सम्बन्धी योजना २०७५-२०७७ नीति पारित गरेको थियो ।

विपद्‍मा परेका बालबालिकाको उद्वारका लागि कोष :

यस्तै त्रिवेणी गाउँपालिकालाले बाल श्रम निवारणका लागि विशेष योजना ल्याएको छ। गाउँपालिकालाई बालश्रम मुक्त घोषणासँगै अभिभावकलाई आत्मनिर्भर बनाउने योजना बनाइएको गाउँपालिकाका अध्यक्ष वलीले बताए ।

अभिभावकलाई कृषि, पशुपालन, व्यवसाय तथा पर्यटन क्षेत्रमा आवद्ध गराउन गाउँपालिकाले आर्थिक प्याकेजसहितका कार्यक्रम संचालन गरेको अध्यक्ष वलीले बताए । तथ्यांक अनुसार अघिल्लो वर्षसम्म त्रिवेणीमा मात्रै २ सय २७ जना श्रममा लगाइएका बालबालिका भेटिएका थिए । यस्तै ६८ जोडीले बालविवाह गरेको पाइएको थियो । विद्यालय जाने उमेर भएर पनि यहाँका २ सय ५ जना विद्यालय बाहिरै थिए ।

अपांगता भएका १ सय ८९ जना र ६ सय ५ एकल अभिभावक भएका बालबालिका फेला पारिएकाले नीति बनाउनु परेको गाउँपालिका उपाध्यक्ष सावित्रीकुमारी बुढा घर्तीमगरले बताइन् । विद्यालय जानबाट बञ्चित भएका ४ सय २ जना अति विपन्न अवस्थाकालाई विद्यालय पठाउने व्यवस्था गाउँपालिकाले गरेको थियो । अहिले सबै बालबालिकालाई विद्यालयमा पठाइएको उपाध्यक्ष घर्तीमगरले बताइन् ।

अघिल्लो वर्षसम्म विद्यालय छाडेर श्रममा लागेकामध्ये १ सय ४४ लाई घर फर्काइएको थियो । बालविवाह गरेका ६८ जोडीमध्ये ३५ जोडीको बाल विवाह बदर गरिएको थियो । उनीहरूलाई पुनः विद्यालय पठाउन अभिभावकसँग सहमति गरिएको थियो । गाउँपालिकाले विद्यालय छाडेकामध्ये १ सय ९३ जनालाई पुनः विद्यालय भर्ना गर्न तथा वैकल्पिक कक्षा चलाएर पढ्ने व्यवस्था मिलाएको थियो ।

यस्तै विभिन्न कारणले विद्यालय शिक्षाबाट बञ्चित रहेका बालबालिकालाई सघाउन बाल अक्षय कोष स्थापना गरिएको छ । बाल अक्षय कोषमा २८ लाखभन्दा बढी रकम जम्मा गरिएको बताइएको छ ।

गाउँपालिकाभित्रका ७ वटै वडामा बाल संरक्षण समिति गठन गरिएको छ । शैक्षिक, आर्थिक र अभिभावकीय अवसरबाट बञ्चित रहँदै आएका बालबालिकालाई सहयोग पुर्‍याउने उद्देश्यले उक्त कोष स्थापना गरिएको प्रमुख प्रशासकीय अधिकृत निमबहादुर केसीले बताए । उक्त कोषबाट अहिलेसम्म ४ सय बालिबालिकाले सहयोग पाइसकेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाभर ४३ वटा बाल क्लब छन् ।

प्रकाशित : माघ १, २०७८ १६:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?