माघी सुनसान- लुम्बिनी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

माघी सुनसान

उल्लासपूर्वक मनाइने थारु समुदायको नयाँ वर्ष (माघी) कोरोना संक्रमणको त्रासले शुभकामना साटासाटमा सीमित, मेला–महोत्सव स्थगित
लुम्बिनी प्रदेश ब्युरो

भैरहवा — रुपन्देहीको सैनामैनाकी सुजनी चौधरीलाई यो वर्ष माघी पर्व आएजस्तै भएको छैन । पहिले एक महिना अगाडिदेखि माघीको रौनक हुन्थ्यो । गाउँघरमा हर्ष उल्लास छाउँथ्यो । कोरोना संक्रमणका कारण यो माघी सुनसान बित्न लागेको उनले बताइन् ।

‘कोरोनाले चाडपर्व मनाउने उत्साह खोस्यो,’ उनले भनिन्, ‘कमाउन गएकाहरू पनि कोरोना डरले घरै आएका छन्, माघी पनि केले र कसरी मनाउनु ?’ उत्साह नभए पनि घरपरिवार मिलेर मनाउने तयारी रहेको उनले सुनाइन् ।

बुटवल–१२ की अरुणा चौधरी यस पटक माघी मनाउन नपाउँदा दुःखी छिन् । हरेक माघीमा बाँकेस्थित माइतीमा जम्मा भई मेला भर्न जाने गरेकी थिइन् । उनले भनिन्, ‘तीन वर्ष भयो माइतीमा माघी नमनाएको, अहिले पनि जानबाट कोरोनाले रोक्यो ।’ माघीमा पाक्ने खिचडी, तिलको लड्डु, बुंगोको अचार र चाकुका लागि माइती सम्झने गरेको उनले बताइन् । अन्य बेलाभन्दा माघे संक्रान्तिमा थारूहरूले छुट्टै रमाइलो गर्ने गरेको उनको भनाइ छ ।

रूपन्देहीका विभिन्न पालिकाका थारू बस्तीका स्थानीय माघी मनाउन निकै उत्साहित देखिन्थे । तर, अहिले पनि कोरोनाको असर देखिएको छ । परम्परागत रूपमा लाग्दै आएको माघी मेला–महोत्सव यस वर्ष नलाग्ने भएपछि उत्साह देखिँदैन । माघीको अवसर पारेर सैनामैनामा बर्सेनि तीनदिने महोत्सव हुन्थ्यो ।

यस पटक आयोजना नै नगरेको थारू कल्याणकारी सभाका केन्द्रीय पार्षद् खुसीराम चौधरीले बताए । ‘महोत्सवमा रक्तदान, थारू नाच, विभिन्न खानाका परिकारका साथै थारू संस्कृति जगेर्नासम्बन्धी साहित्यिक बहस गर्ने गरिन्थ्यो,’ उनले भने । कोरोना रोकथामका लागि महोत्सव रोकिएको उनले बताए । यस्ता चाडपर्वमै सबै जना भेट हुने भएकाले रोकिँदा दुःख लागेको उनले बताए ।

माघी मनाउन एक महिनादेखि तयारी गरिरहेका बर्दियाका थारू समुदायले कोरोनाबाट जोगिन परिवारभित्र मात्रै मनाउने भएका छन् । कोरोना फैलिन थालेपछि प्रशासनले मेला–महोत्सव र भेला हुन रोक लगाएको छ । त्यसैले यस पटक थारू बस्तीमा माघीको रौनक छैन । गेरुवा गाउँपालिका–४ का वासुराम थारूले विगतमा जस्तो आफन्तहरूको भेलासहितको माघी पर्व नहुने बताए । एक सातायता बर्दियामा करिब सय जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । त्रासले थारू समुदाय माघी महोत्सव, मघौता नाच पनि नगर्ने भएका छन् । अवस्था हेरेर पर्व मनाउनुपर्ने गेरुवा–६ का टीकाराम चौधरीले सुनाए ।

माघीको अवसरमा बाँकेका स्थानीय तहले मेला आयोजना गरेनन् । नरैनापुरमा औपचारिक कार्यक्रम गरी माघी मिलन कार्यक्रम गरियो । एकअर्काको संस्कारको सम्मानका लागि माघी मिलन कार्यक्रम गरिएको गाउँपालिका अध्यक्ष इस्तियाक अहमद राईले बताए । थारू कल्याणकारिणी सभा, नगर सभा नेपालगन्जको आयोजनामा नेपालगन्जमा माघी मिलन कार्यक्रम गरिएको हो । राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारूले थारू समुदायको पनि कला–संस्कृति संरक्षण हुन जरुरी रहेकाले माघी मिलन कार्यक्रमले टेवा पुग्ने बताए ।

कपिलवस्तुको बुद्धभूमि–४ का वडाध्यक्ष पवन थारूलाई पोहोरको माघी सम्झँदै छन् । दुईदिने सांस्कृतिक कार्यक्रम र विभिन्न परिकार बनाएर रमाइलो गरिएको थियो । यस वर्ष पनि त्यस्तै कार्यक्रम गर्ने योजना थियो । दुई दिनअघि प्रशासनले कोरोना संक्रमण बढ्दै गएपछि २५ जना बढी भेला हुन रोक लगाएपछि कार्यक्रम स्थगित गरे ।

‘खल्लो भयो,’ उनले भने, ‘सबै तयारी गरेर पनि अन्तिम बेला रोक्नुपर्‍यो ।’ पश्चिमका थारू समुदायको माघी सबैभन्दा ठूलो पर्व हो । माघीको रौनक ५ दिनसम्म चल्छ । पुसका अन्तिम दुई दिन र माघका तीन दिन धुमधामसँग मनाइन्छ । यस पटक संक्रमणका कारण खल्लो भएको थारू कल्याणकारिणी सभाका अध्यक्ष उमाशंकर चौधरीले बताए ।

माघीको छेको पारेर थारू समुदायमा गाउँको मुखिया छनोटको चलन रहेको थियो । मुखियाले चौकीदार र गाउँमा सामुदायिक हितका लागि कसले के गर्ने भन्ने कामको जिम्मेवारी बाँडफाँट गर्थे । बिस्तारै त्यो परम्परा पनि हटेको छ ।

छोरी–चेली पुज्ने पर्व

माघी मगर समुदायको पनि विशेष पर्व हो । रुकुम पूर्व जिल्लामा मगर समुदायको बाक्लो बसोबास छ । मगर समुदायको ठूलो पर्व भूम्या अर्थात् बल पूजापछिको ठूलो पर्व माघी मानिन्छ । माघीमा छोरी–चेली पुज्ने चलन छ । भालेको डाकसँगै उठ्यो । घरमा भएका चेलीबेटीलाई पुज्यो । त्यसपछि माघे संक्रान्तिपर्व सुरु भएको मानिन्छ ।

दाजुभाइले दिदीबहिनीलाई पुज्ने, लत्ताकपडा तथा उपहार दिने गर्छन् । घरका चेलीबेटीलाई पुजिसकेपछि छरछिमेक र गाउँका चेलीबेटीलाई पुजिन्छ । जिल्लाका पुथाउत्तरगंगा र भूमे गाउँपालिकाको मगर बस्तीमा माघे संक्रान्ति मनाउने तरिका हो यो । पुस मसान्तका दिन राँगा तथा खसी–बोका काटिन्छ, कन्दमूल पकाएर खाइन्छ ।

माघ १ गते घरकी चेलीबेटी पुज्ने काम सबभन्दा पहिला हुन्छ । घरका छोरी–चेली नपुजी यो दिन अरू कुनै काम सुरु हुँदैन । पुथाउत्तरगंगाका १४ वटै र भूमे गाउँपालिकाका धेरै वडामा माघे संक्रान्ति अर्थात् माघी पर्व यसैगरी मनाइन्छ । यो पुरानै चलन भएको पुथाउत्तरगंगा–१ मैकोटका विकास पुन मगरले बताए ।

चेलीबेटी पुजिसकेपछि गाउँमा तीर हान्ने प्रतियोगिता सुरु हुन्छ । धनुषवाणमार्फत हरेक टोलमा तारो अर्थात् तीर हान्ने प्रतियोगिता सुरु हुने पुन बताउँछन् । विजेतालाई पुरस्कृत गर्ने तथा खर्च व्यवस्थापनका लागि भनेर टोलटोलमा गएर गीत गाएर तथा नाचेर संकलन गरिएको सहयोगले तीर हान्ने प्रतियोगिता समापन गरिन्छ । तीर हान्ने भनेको स्थानीय भाषामा अस्तासिन्या हो । हरेक वर्षको माघ महिनाको पहिलो दिनदेखि सुरु हुने यो ‘अस्तासिन्या’ ७ दिनसम्म चल्छ ।

-सन्जु पौडेल (लुम्बिनी), कमल पन्थी (बर्दिया), रूपा गहतराज (नेपालगन्ज), मनोज पौडेल (कपिलवस्तु), नवीन पौडेल (परासी) र हरि गौतम (रुकुम पूर्व)

प्रकाशित : माघ १, २०७८ ०९:५४
प्रतिक्रिया
पठाउनुहोस्

जोगिएर मनाइँदै माघी

‘घरको मूली छान्नेदेखि गाउँको बडघर छान्ने सबै काम अहिले हुन्छ’
भवानी भट्ट

कञ्चनपुर — कञ्चनपुरको भीमदत्त नगरपालिका—१ राजीपुरका मानबहादुर चौधरी बिहानैदेखि व्यस्त थिए । माघीका लागि बंगुरको मासु ल्याउनेदेखि कुखुरा र माछाको व्यवस्थापन उनको जिम्मा थियो । माघीका लागि आवश्यक अन्य सामग्री जुटाउने कामका कारण माघीको अघिल्लो दिन आजमात्रै होइन एक सातादेखि दौडधुपमै थिए ।

गाउँमा माघीका लागि बंगुर खोज्ने काम एक साताअघि नै भइसकेको थियो । ‘बंगुर, कुखुरा र खसी जे पनि अघिल्लो दिन हो काटिने,’ उनले भने, ‘माघ १ गते माघीका दिन त खानपिनमात्रै हुन्छ ।’ उनका अनुसार माघीका लागि गाउँमा सामूहिक रूपमा बंगुर किनेर काट्ने गरिन्छ । त्यसैबाट सबैले आवश्यकताअनुसार मासु लैजान्छन् । महिलाहरू भने माघीमा नाचिने मघौटा नाचका लागि तयारी गरिरहेका थिए । उनीहरू परम्परागत पहिरनमा सजिएर माघी नाचको अभ्यास गरिरहेका थिए ।

मघौटासँगै छोकरा नाच गर्ने गरिएको लक्ष्मी डगौराले बताइन् । ‘माघी हाम्रो प्रमुख चाड हो, यो तीन/चार दिनसम्म मनाइन्छ,’ डगौराले भनिन्, ‘घर, गाउँ र टोलमा वर्षभरिका लागि योजना बनाउने काम पनि यही बेला हुन्छ ।’ अघिल्ला वर्षजस्तै छ राजीपुरमा माघीको तयारी गरिएको छ । तर यसपटक यही तयारीबीच कोरोना संक्रमणबाट जोगिनुपर्छ भन्ने सचेतना पनि बढेको छ ।

माघीकै बेला बडघर छान्ने काम पनि हुन्छ । गाउँका सबै जना भेला भएर सामूहिक रूपमा बडघर छानिन्छ । गाउँमा हुने विवाह, व्रतबन्धलगायत अन्य सामाजिक कार्यसँगै कुलो खन्नेदेखि अन्य सार्वजनिक काम बडघरकै निर्देशनका आधारमा हुन्छ । विगतमा कमैया बस्दा माघकै बेला पुरानो घर छाडेर नयाँघरमा जाने चलन थियो । यसलाई खोजनीभोजनी पनि भनिन्छ । ठूलो परिवार माघीकै बेला छुट्टिने गर्छ । ‘घरको मूली छान्नेदेखि गाउँको बडघर छान्ने सबै काम अहिले हुन्छ,’ थारू समुदायका अगुवा बलबहादुर डगौराले भने, ‘यतिबेला मघौटा नाचले थारू गाउँमा बेग्लै रौनक हुन्छ ।’

पछिल्लो समय नयाँ पुस्ताले मघौटादेखि छोकरा र हर्दुङ्वालगायतका नाचसमेत माघीमा नाच्ने गरेको उनले बताए । केही बस्तीमा नयाँ पुस्ताले परम्परा छाड्दै गएका छन् । माघीमा थारू समुदायका घरमा मुख्य परिकार ढिकरी, घोंगी, पुरी, अन्दी धानको भात, दाल र थरीथरीका तरकारी पाक्छ । ‘थारू समुदायमा बन्ने सबै परिकार माघीमा पाक्छन्,’ चौधरीले भने, ‘गाउँभरि सबैले एकअर्काको घरमा गएर खान्छन् ।’

परिकारहरू दुना–टपरीमा खाने गरिन्छ । जसका लागि एक साताअघिदेखि नै जंगलबाट सालका पात ल्याएर दुना–टपरी बनाइन्छ । माघे संक्रान्तिका दिन खानपिन गरेर दोस्रो दिनदेखि नै वर्षभरिका योजना बनाउने काम सुरु हुन्छ । घरमूली छान्ने होस् वा बडघर छान्ने काम माघभरि चल्छ । पछिल्लो समय कोरोना संक्रमणले समुदायका पूरै भेला हुन नसक्ने अवस्थासमेत रहेको थारू समुदायका अगुवाहरू बताउँछन् ।

प्रकाशित : माघ १, २०७८ ०९:५४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×