महेशपुर नाकामा ‘हेल्थ डेस्क’ स्थापना

नवीन पौडेल

परासी — कोरोना संक्रमण बढेपछि पश्चिम नवलपरासीको भारतीय सीमा नाका महेशपुरमा ‘हेल्थ डेस्क’स्थापना गरिएको छ ।

भारतमा संक्रमण दर उच्च हुँदै जाँदा सीमा नाकामा भिडभाड र बिनारोकतोक आवात-जावतले संक्रमण फैलन सक्ने भन्दै डेस्क स्थापना गरिएको हो । डेस्कमा तापक्रम परीक्षण गरी शंकास्पदको एन्टिजेन परीक्षण गर्न सुरु गरिएको स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीका प्रमुख ओमप्रकाश पन्थीले बताए । उनका अनुसार ‘हेल्थ डेस्क’मा पाल्हीनन्दन गाउँपालिकाका स्वास्थ्यकर्मी खटिएका छन् ।

भारतबाट आउने मालबहाक सवारीका चालक र सहचालकबाट बढी मात्रामा नेपालमा संक्रमण फैलिएको भन्दै उनीहरुलाई विशेष निगरानीसहित एन्टिजेन परीक्षण गरेर मात्र प्रवेश दिइएको छ । अन्य मानिसका लागि तापक्रम नाप्ने र लक्षण देखिएको भएमा मात्र एन्टिजेन परीक्षण गर्ने गरिएको छ ।

विगतमा हेल्थ डेस्क त्रिपालमुनि राखिँदै आएकोमा यस वर्ष ईन्देणी सामाजिक विकास मञ्चले टहरो निर्माण गरिदिएको छ । जिल्लामा दैनिक १५ देखि २० जना कोरोना संक्रमित भेटिन थालेका छन् ।


प्रकाशित : पुस ३०, २०७८ १६:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?