२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

कोरोना त्रासले घटायो माघीको रौनक

महोत्सवबाट संक्रमण समुदायस्तरमा फैलन सक्ने जोखिम देखिएपछि प्रजिअले लगाए रोक
दुर्गालाल केसी

दाङ — माघी पर्वलाई केन्द्रित गरी मंगलबार र बुधबार घोराहीमा माघी सांस्कृतिक महोत्सव आयोजना गरिएको थियो । कोरोना संक्रमण बढ्न थालेपछि अन्त्यमा कार्यक्रम स्थगित भयो । गाउँगाउँमा पनि माघीसँग सम्बन्धित विभिन्न कार्यक्रम तय भएका थिए तर कोरोना संक्रमणका कारण स्थगित भइरहेका छन् ।

कोरोना त्रासले घटायो माघीको रौनक

कोरोनाका कारण यसपालिको माघीले रौनक ल्याउन नसकेको थारू कल्याणकारिणी सभाका अध्यक्ष भुवन चौधरीले बताए । ‘सबै तयारी भइसकेको बेला अन्तिम समयमा माघी महोत्सव स्थगित गर्नुपर्‍यो,’ उनले भने, ‘विभिन्न कला र संस्कृति प्रदर्शन गर्ने तयारीमा रहेका कलाकार निराश भएका छन् ।’ यसपालिको माघीले थारू गाउँहरूमा उत्साह ल्याउन नसकेको उनले बताए । यसपालि पहिलेजस्तो माघी मेलाहरू पनि नहुने भएका छन् ।

जिल्ला विपद् व्यवस्थापन समितिको मंगलबारको बैठकले मेला–महोत्सवहरू सञ्चालनमा रोक लगाएपछि सबै कार्यक्रम स्थगित भएका हुन् । माघीको अवसरमा घोराहीको बाह्रकुने र लमहीको रिहारमा ठूला मेला लाग्ने गर्थे । बाह्रकुनेमा दाङका साथै सल्यान, रोल्पालगायतका जिल्लाबाट भक्तजन आउने गर्थे । रिहारमा भारतबाट ठूलो संख्यामा भक्तजन आउने गर्थे । कोरोनाको संक्रमण फैलने अवस्था आएपछि माघी मेलाहरूमा पनि रोक लगाएको प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीले बताए ।

थारू समुदायका लागि माघी सबैभन्दा ठूलो पर्व हो । थारू समुदायमा यसलाई नयाँ वर्षका रूपमा मनाउने चलन छ । माघी पाँच दिनसम्म चल्छ । पुसका अन्तिम तीन दिन र माघका दुई दिन धुमधामसँग माघी मनाइन्छ तर यसपटक त्यस्तो कुनै तयारी छैन । पुसका अन्तिम तीन दिनमध्ये पहिलो दिन माछा मार्ने, दोस्रो दिन खसी, सुंगुर, कुखुरा मार्ने र तेस्रो दिन तरुल, गन्जी खन्ने गरिन्छ । माघ १ अर्थात् माघीको दिन नुहाउने, अग्रजसँग टीकाटाला गर्ने, नाचगान गर्ने र २ गते दिदीबहिनीको घरमा भिक्षा दिन जाने चलन छ ।

अन्त्यमा नाचेको पैसाबाट भोज गरेर समापन गर्ने चलन छ । माघीको दिन बिहानै उठेर नदीमा नुहाउन जाने, नुहाएर फर्केपछि चामल, दाल र नुन मिसाएको निसराऊ छुने र त्यसपछि गाउँका मान्यजनको घरमा गएर टीकाटाला लगाउने पुरानै चलन हो ।

यसपटक कोरोनाको त्रास भएकाले घरघरमै परिवार मिलेर मात्र पर्व मनाउने अवस्था आएको घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरीले बताए । ‘पहिलेजस्तो मेला लगाउने, भीडभाडमा नाचगान गर्ने अवस्था छैन,’ उनले भने, ‘घरघरमै परिवार मिलेर पर्व मनाउने तयारी भइरहेको छ । स्वास्थ्यलाई जोखिममा पारेर पर्व मनाउन सकिँदैन ।’

कुनै समय माघी पर्व कमैया कमलरी राख्ने पर्वका रूपमा चिनिन्थ्यो । माघीमा नै धेरै थारू बालिकाहरू कमलरी भएर अर्कार्को घरमा जान्थे । कमैयाहरू पनि माघीमै नवीकरण गरिन्थ्यो तर अहिले कमैया कमलरी प्रथा हट्दै गएको छ । सरकारले २०५७ साउन २ गते कमैया र २०७० असार १३ गते कमलरी मुक्तिको घोषणा गरेपछि खुलेआम कमैया कमलरी राख्ने चलन हटेको हो ।

थारु समुदायमा गाउँको अगुवा छान्ने, वर्षभरिका नयाँ योजना बनाउने, छोराछोरीको विवाहका लागि मुड बनाइदिने, छोरीका लागि केटा खोज्ने र विवाह गर्ने तयारी गर्ने चलन रहेको थारू संस्कृतिका जानकार बेझलाल चौधरीले बताए । यस्ता परम्परागत चलन भीडभाड नगरी घरघरमै गरिने भएकाले यसमा असर नपर्ने उनले बताए ।

बर्दियामा उस्तै

यस वर्षको माघी पर्व निकै रमाइलोसँग मनाउने तयारीमा रहेका बर्दियाका थारू समुदाय कोरोना संक्रमण तीव्र गतिमा फैलिन थालेपछि निराश भएका छन् । यस वर्ष पनि माघीको खासै चहल–पहल नभएको गेरुवा गाउँपालिकाकी उपाध्यक्ष हिमाकुमारी थारूले बताइन् ।

यस वर्षको माघी पर्वमा खासै उमंग नछाएको बारबर्दिया–४ का समाजसेवी फूलपाती चौधरीको गुनासो छ । ‘कोरोना कहरले चौपटै पार्‍यो,’ उनले भने, ‘मनमा उमंग भए पनि समयले साथ दिएन । त्यसैले निराश छौं ।’ स्वास्थ्य मापदण्ड अपनाएरै माघी पर्व मनाउने तयारी रहेको मधुवन नगरपालिका–१ का वडाध्यक्ष परशुराम चौधरीले बताए । जिल्लामा करिब ५१ प्रतिशत थारू समुदायको बसोबास छ ।

प्रकाशित : पुस ३०, २०७८ ०९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?