कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोना परीक्षणको दायरा बढाइने

परासी — भारतसँग जोडिएकोले पश्चिम नवलपरासी क्षेत्रमा कोरोना संक्रमणको जोखिम बढेको छ । नाकामा कडाइ नगर्दा संक्रमण फैलने भन्दै स्थानीय चिन्तित छन् ।

कोरोना परीक्षणको दायरा बढाइने

नेपाल–भारत सीमानाका महेशपुरमा राखिएको हेल्थ डेस्क प्रभावकारी हुन सकेको छैन । ज्वरो तथा अन्य स्वास्थ्य जाँच नगरी मानिस आवातजावत गर्दा समस्या बढेको महेशपुरका रवीन्द्र गुप्ताले बताए ।

‘नाम मात्रको हेल्थ डेस्क छ, यहाँ कसैको जाँच हुँदैन । यति ठूलो नाकामा होल्डिङ सेन्टर छैन,’ उनले भने, ‘समयमा नै सजग नभए संक्रमण दर पहिलाको जस्तै हुने निश्चित छ । यसका लागि पूर्वतयारी केही देखिएको छैन ।’

मंगलबार जिल्लामा नौ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीले परीक्षणको दायरा बढाउने र आइसोलेसनलाई पुनः सञ्चालनमा ल्याउने तयारी गरेको कार्यायल प्रमुख ओमप्रकाश पन्थीले बताए ।

‘जोखिम बढ्दो छ । स्थानीय तहसँगको सहकार्यमा परीक्षणको दायरा बढाउने र थप सतर्कता अपनाउनेतर्फ अघि बढेका छौं,’ उनले भने, ‘तीनै तहको सरकारको समन्वयमा कोरोना रोकथामका लागि तयारी अवस्थामा छौं ।’

जिल्लामा मेला–महोत्सव र विद्यालय बन्द गरिएको छ । जिल्ला प्रशासनले २५ जनाभन्दा बढी भेला नहुन भनेको छ । प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रका अनुसार माघ ७ देखि कोरोना खोप कार्डले मात्र सरकारी कार्यालय, होटल र रेस्टुरेन्टमा प्रवेश पाइने छ । जिल्लामा हालसम्म ३१ प्रतिशतले मात्र पूर्ण मात्रा खोप लगाएका छन् ।

प्रकाशित : पुस ३०, २०७८ ०९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?