कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तिलोत्तमामा एक लाखले लगाए कोरोना विरुद्धको खोप

अमृता अनमोल

बुटवल — रुपन्देहीको तिलोत्तमा नगरपालिकामा एक लाखभन्दा बढीले कोरोना विरुद्धको खोप लगाएका छन् । नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार हालसम्म ८७ हजार ४ सय ६३ जनाले खोपको पूरा मात्रा लगाइसकेका छन् । बाँकीले खोपको पहिलो मात्रा लगाएका छन् ।

तिलोत्तमामा १८ वर्षमाथिको लक्षित जनसंख्या ८० हजार रहेको अनुमान छ । जनस्वास्थ्य निरीक्षक केशव भट्टराईले बसाइसराइ गरी आएका नयाँ बासिन्दा र अध्ययन, रोजगारी लगायत विभिन्न अवसरका लागि अस्थायी रुपमा बस्ने बासिन्दाको कारण लक्षितभन्दा बढीले खोप लगाएको बताए ।

नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार कोभिसील्ड/एक्सट्राजेनिक खोपको दुवै मात्रा ८ हजार ९ सय ६० जना, जोन्सोन एन्ड जोन्सन खोप ७ हजार ६ सय १० जनाले लगाएका छन् ।

यस्तै भेरोसेलको दुवै मात्रा लगाउने संख्या ७० हजार ८ सय ९३ रहेको छ । १२ वर्षमाथि १८ वर्षसम्मका विद्यार्थीलाई लगाइएको मोडर्ना खोपको पहिलो मात्रा झण्डै १० हजार जनाले लगाएका छन् ।

रोजगारी वा अध्ययनका लागि तेस्रो मुलुक जानेहरूका लागि वडा नं. ५ को सहरी स्वास्थ्य केन्द्रमा हरेक हप्ताको सोमबार कोरोना विरुद्ध जोन्सन एन्ड जोन्सन खोप लगाउने व्यवस्था मिलाइएको जनस्वास्थ्य निरीक्षक भट्टराईले बताए । बुधबार विभिन्न सार्वजनिक स्थानहरूमा कोरोनाको नमूना संकलन तथा परीक्षण गरिएको छ ।

कोरोनाको नयाँ भेरियन्टको संक्रमण रोक्न पूर्वतयारी थालेको तिलोत्तमाले जनस्वास्थ्यका मापदण्ड अपनाउन, घरबाहिर निस्कँदा अनिवार्य रुपमा मास्कको प्रयोग गर्न, भौतिक दूरी कायम गर्न, भीडभाड नगर्न सम्पूर्ण नगरवासीमा अनुरोध गरेको छ । केही दिनअघि बसेको तिलोत्तमा नगरस्तरीय कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले कोरोनाको जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड पूर्ण रुपमा कार्यान्वयन गर्ने/गराउने निर्णय गरेको थियो।

प्रकाशित : पुस २८, २०७८ १७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?