इन्टरनेट नचल्दा मालपोतमा सास्ती

१ दिनमा हुने काम अहिले ३–४ दिनसम्म नहुने समस्या

प्यूठान — इन्टरनेट नचल्दा मालपोतका सेवाग्राहीले सास्ती बेहोर्नुपरेको छ । मालपोत कार्यालय प्यूठानमा इन्टरनेट नचलेकै कारण पहिले १ दिनमा हुने काम अहिले ३–४ दिनसम्म लाग्न थालेको सेवाग्राहीले गुनासो गरेका हुन् ।

गौमुखी गाउँपालिका–४ पुँजाका रेकम सुनारले अनलाइन सुरु भएपछि काम छिटोछरितो हुन्छ भन्ने लागेकोमा झन् झन्झट व्यहोर्नुपरेको बताए । गएको वर्षदेखि मालपोतमा अनलाइनमार्फत काम हुन थालेको हो । तर, त्यसयता विभिन्न बहानामा सेवाग्राहीले बारम्बार सास्ती खेप्दै आएका छन् । ‘अंशबण्डाको काम लिएर आएको चार दिन भइसक्यो, इन्टरनेट चलेको छैन भन्दै कर्मचारीले फर्काउँछन्,’ सोमबार कार्यालय परिसरमा भेटिएका उनले भने, ‘एक दिनका लागि आएको यहीं बसेकै चार दिनभयो । अब कतिदिन बस्नुपर्ने हो, थाहा छैन ।’ सुनारको तीन जनाको परिवार अहिले खलंगामा बसिरहेको छ । दैनिक बिहान–साँझको खाना र बास बसेकै २ हजार रुपैयाँभन्दा बढी खर्च भइरहेको उनले सुनाए ।

गएको शुक्रबारदेखि नै कार्यालयमा राम्रोसँग इन्टरनेट नचलेको एक कर्मचारीले बताए । सुस्त इन्टरनेटका कारण सेवाग्राही र कर्मचारी सबैले सास्ती खेपिरहेको उनको भनाइ छ । ‘एकछिन चल्यो भने घण्टौंसम्म चल्दैन,’ उनले भने, ‘केही दिनदेखि सबै काम प्रभावित भइरहेको छ ।’

इन्टरनेट सुस्त गतिमा चलेपछि समस्या भएको सम्बन्धित निकायमा जानकारी गराइएको मालपोत कार्यालयका प्रमुख भोजबहादुर भण्डारीले बताए । ‘नेट स्लो हुँदा समस्या भएको छ,’ उनले भने, ‘यस विषयमा केन्द्रसम्म कुरा पठाएका छौं ।’

प्रदेश स्तरको मालपोत तथा भूमिसुधार कार्यालयबीचको बैठकमा इन्टरनेट समस्याका कारण काममा बाधा पुगेको विषय उठेको र यस विषयमा विभागले चाँडै समाधान गर्ने वचन दिएको उनले बताए । अनलाइनमार्फत कार्यालयले जग्गा रजिस्ट्रेसन, जग्गा पास, नामसारी, अंशबण्डालगायतको काम गर्छ । यी सबै कामका लागि इन्टरनेट अनिवार्य छ । फोटो राख्नेदेखि ल्याप्चे लगाउने काम पनि अनलाइनबाटै हुन्छ ।

नामसारी, अंशवण्डामा साक्षीको समेत फोटो राखिन्छ । समयमै काम नहुँदा साक्षी र परिवारसहित आएका सेवाग्राहीको आर्थिक भारसमेत बढेको छ ।

प्रकाशित : पुस २८, २०७८ १०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?