रुपन्देहीमा पूर्वघोषित सबै मेला-महोत्सव स्थगित

सन्जु पौडेल

तिलोत्तमा — रुपन्देहीमा पूर्वघोषित सबै मेला महोत्सव स्थगित हुने भएका छन् । कोरोना संक्रमणको जोखिम पुनः बढेसँगै सरकारले भौतिक रूपमा २५ जनाभन्दा बढी उपस्थित भई हुने सबै प्रकारका सभा, जुलुस, सम्मेलन, प्रदर्शन, भेला, जात्रा, महोत्सव गर्न रोक लगाएपछि सबै तयारी पूरा भएका मेला महोत्सव पनि स्थगित हुने भएका छन् ।

रुपन्देहीमा पूर्वघोषित सबै मेला-महोत्सव स्थगित

तिलोत्तमामा माघ १४ गतेदेखि व्यापार मेला आयोजना गर्ने तयारी रहेको थियो भने सैनामैना, देवदह र भैरहवा लगायत स्थानमा पनि मेला महोत्सव सञ्चालन गर्न व्यवसायी संघ संस्थाले तयारी गर्दै थिए ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले सरकारले गरेको निर्णयको सबैले पालना गर्नुपर्ने भन्दै कोरोना संक्रमणको दर बढिरहेका बेला मेला महोत्सव आयोजना गर्दा झन् जोखिम हुने बताए ।

सरकारले भीडभाड हुने कार्यक्रम गर्न रोक लगाएकाले रुपन्देहीमा पूर्वघोषित सबै मेला महोत्सव सञ्चालन गर्नका लागि जिल्ला प्रशासनले रोक लगाउने प्रमुख जिल्ला अधिकारी तिवारीले जानकारी दिए ।

‘सरकारले कोरोना संक्रमणको दर बढिरहेकाले २५ जनाभन्दा बढी उपस्थित भई हुने सबै कार्यक्रममा रोक लगाएको छ ।’ उनले भने, ‘जिल्लामा सबै तयारी पूरा भएका मेला महोत्सव स्थगित हुन्छन् । पछिल्लो समय भारतबाट आउने नेपालीमा कोरोना संक्रमण धेरै देखिएकाले रुपन्देहीका सीमानाकामा परीक्षणको दायरा बढाउने उनले बताए ।

उनले बुधबार जिल्लास्तरीय कोभिड संक्रमण व्यवस्थापन केन्द्र (डीसीएमसी) को बैठक बस्ने र जिल्लामा कोरोना संक्रमणको दर बढ्न नदिन सबै संयन्त्र अवलम्वन गरिने बताए ।

मंगलबार रुपदेहीको बेलहियानाकामा भएको ३ सय २८ वटा एन्टिजेन परीक्षणमा ५६ जना संक्रमित भएका छन् । तीमध्ये २ जना बेलहिया हेल्थ डेस्कका कर्मचारी रहेको डेस्का ल्याब टेक्निसियन लोकनाथ कंडेलले जनाए । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार मंगलबार भएको १ सय ४९ वटा पीसीआर परीक्षणबाट जिल्लामा ४९ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रकाशित : पुस २७, २०७८ १८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?