होमस्टेबाट व्यवसायसँगै संस्कृति जगेर्ना- लुम्बिनी - कान्तिपुर समाचार

होमस्टेबाट व्यवसायसँगै संस्कृति जगेर्ना

थारु खानपिन, कला–संस्कृति, वेशभूषाको संरक्षण र प्रचारप्रसार गरी पर्यटन प्रवर्द्धन गर्ने लक्ष्य
सन्जु पौडेल

लुम्बिनी — थारू समुदायको बाक्लो बस्ती रहेको रूपन्देहीको सैनामैना–२ स्थित उचडिहवा गाउँमा अहिले चहलपहल बढेको छ । व्यवसायसँगै थारू परम्परा र संस्कृति जोगाउन उचडिहवामा थारू होमस्टे (घरबास) सञ्चालनमा आएपछि चहलपहल बढेको हो । यहाँ जंगल फँडानी गरी थारू समुदायले बस्ती बसालेका हुन् ।

बिस्तारै घर बढ्दै गएको उचडिहवामा घरबासबाट थारू खानपिन, कला–संस्कृति, भेषभूषाको संरक्षण एवं संवर्द्धन र प्रचारप्रसार गरी पर्यटन प्रवर्द्धन गर्ने लक्ष्य लिइएको छ । पहिले यहाँको थारू समुदाय खेतीकिसानीमा मात्र सीमित थियो । अब होमस्टमार्फत जागरणसहित मानिससँग घुलमिल हुने वातावरण सिर्जना हुने आशा सञ्चालकहरूको छ ।

स्थानीय सुजनी थारूले २०७६ सालमा होमस्टे सञ्चालानार्थ १४ लाख लगानी गरी घर बनाइन् । उनले होमस्टे चलाउन पाए आम्दानी र आफ्नो संस्कृति र परिकारको पहिचान गराउन सकिने उद्देश्यले लगानी गरेको बताइन् । कोरोना महामारी भित्रिएपछि सैनामैनामा थारू होमस्टे सञ्चालनको प्रक्रिया नै ठप्प भयो । दुई वर्षपछि उद्घाटन भई विधिवत रूपमा पाहुनाघर चलाउन पाएपछि खुसी लागेको उनले बताइन् । ‘नगरपालिकाको सहयोगमा अहिले अन्य भवनसमेत बनाई अघि बढ्न थालेका छौं,’ उनले भनिन्, ‘हाम्रो परम्परा र परिकारबारे सबैलाई बताउने चाहना अब पूरा हुँदैछ ।’ उनीसँगै परिवारका अन्य चार सदस्य पाहुनाघरमा आएका पाहुनाको स्वागतदेखि खानपिन र उनीहरूलाई आवश्यक जानकारी दिन खटिन्छन् ।

पाहुनालाई ढिकरी, माछाका परिकार, घोंगी र अर्गानिक साग–सब्जीसँगै भोजन गराउने सुजनीले जनाइन् । पाहुनाले चाहेअनुसार अन्य परिकारसमेत पकाइदिने र खुवाउने भन्दै उनले एक जनाको २ सय ५० रुपैयाँका दरले खानाको मूल्य समितिले निर्णय गरी तोकिएको र एक रात बास बसेको एउटा कोठामा २ जना बस्न मिल्ने भएकाले १ हजार रुपैयाँ लाग्ने उनले बताइन् । सैनामैना नगरपालिकाको १० लाख, लुम्बिनी क्षेत्र पर्यटन प्रवर्द्धन विकास समितिको पौने १ करोड रुपैयाँ सहयोगमा यहाँ होमस्टे निर्माण सम्पन्न भएको हो । साथै, लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष ०७२/७३ मा ४ लाख ७५ हजार, ०७३/७४ मा ६ लाख ६५ हजार विनियोजन गरी होमस्टे निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको होमस्टे सञ्चालन समितिका अध्यक्ष खुसीराम चौधरीले बताए ।

निर्वाचन क्षेत्र पूर्वाधार विकास विशेष कार्यक्रमअन्तर्गत १६ लाख ५७ हजार ५ सय, सैनामैना नगरपालिकाबाट १९ लाख ९० हजार तथा लुम्बिनी प्रदेश मुख्यमन्त्री ग्रामीण विकास परियोजनाबाट १२ लाख रुपैयाँ प्राप्त भएको उनले जनाए । लागत सहभागिताबाट ९ लाख ४६ हजार रुपैयाँ जुटाइएको थियो । ‘होमस्टेमा आउने पाहुनालाई स्थानीय कला–संस्कृति, नाचगान प्रदर्शन गरिनेछ,’ चौधरीले भने, ‘दुई कोठा भएको पाँच घरमा होमस्टे सञ्चालन गरिएको छ । एउटा कोठामा दुईवटा बेड छन् ।’ हाल होमस्टेमा एक पटकमा २० जनासम्म बास बस्न सकिने उनले जानकारी दिए ।

पाहुनाको बसाइ लम्ब्याउनका लागि साँझमा आयोजना गरिने मनोरञ्जनात्मक कार्यक्रमका लागि ३ हजार रुपैयाँ अतिरिक्त शुल्क तोकिएको छ । ‘अर्को बिहान आइटिनरी भ्रमण गराइनेछ,’ चौधरीले भने, ‘बोलबम धाम, चुरे पहाड, गजेडी तालमा जलविहार, कृषि अध्ययनका लागि कृषि फर्म, लुम्बिनी अवलोकनजस्ता प्याकेज बनाएर आम्दानी र आगन्तुकको बसाइ लम्ब्याउन सकिने विश्वास लिएका छौं ।’ थप १० घरमा पनि होमस्टे सञ्चालन गर्ने योजना रहेको अध्यक्ष चौधरीले बताए । थारू कला, संस्कृतिलाई संरक्षण गर्दै परिस्कृत रूपमा नयाँ पुस्तामा हस्तान्तरण गर्न सकिने उद्देश्यले होमस्टे सञ्चालनमा नगरको चासो बढेको सैनामैनाका नगरप्रमुख चित्रबहादुर कार्कीले बताए । थारू समुदाय तराईको बस्ती बसाल्ने समुदायसमेत भएकाले उनीहरूको संस्कृति झल्किने परम्परागत नृत्य, परिकार अरूलाई थाहा भए ऐतिहासिक ज्ञान समेत हुने उनले बताए ।

‘आन्तरिक पर्यटन प्रवर्द्धनको राम्रो माध्यम हो होमस्टे,’ उनले भने, ‘स्थानीयको आय आर्जन र रोजगारी नगरपालिकाको कार्यभारमै पर्ने भएकाले यस्ता कामका लागि सहयोग गर्न पालिका तयार छ ।’ सैनामैना नगरपालिकालाई चिनाउनसमेत पाहुनाघरले सघाउने कार्की बताउँछन् । बुटवलबाट १४ किलोमिटर पश्चिममा रहेको महेन्द्र राजमार्गको कालिकाचोकबाट उत्तरमा होमस्टे छन् ।

प्रकाशित : पुस २७, २०७८ १२:५९
प्रतिक्रिया
पठाउनुहोस्

किसानलाई तरुल खन्ने चटारो

ओमप्रकाश ठाकुर

सर्लाही — माघे संक्रान्तिमा फलहारका रूपमा प्रयोग हुने तरुल खन्न सर्लाहीको पश्चिमी क्षेत्रका किसानलाई चटारो छ । दुई सातायता बजारमा तरुलको माग बढेर व्यापारी खेतमै पुग्न थालेपछि किसानलाई तरुल खन्न र बिक्री गर्न भ्याइनभ्याई भएको हो । 

जिल्लाको शंकरपुर, राजघाट, हजरिया, कर्मैया, बरहथवालगायतका ठाउँमा व्यावसायिक तरुल खेती हुँदै आएको छ । यहाँको तरुल काठमाडौं, पोखरा, वीरगन्ज, इटहरी लगायतका प्रमुख सहरहरूमा पुग्ने गरेको छ । अहिले तरुलको माग बढेपछि व्यापारीहरू किसानको खेतमै पुगेर खरिद गरी पठाउन थालेका छन् । कतिपय खन्न बाँकी रहेको तरुल पनि व्यापारीले खरिद गरी आफ्नै ज्याला लगाएर खन्न थालेका छन् । माग बढेर व्यापारी खेतमै पुग्दा किसान दंग छन् । यस वर्ष तरुलको मूल्य राम्रै पाएको उनीहरू बताउँछन् ।

तरुल प्रतिकिलो ५० देखि ६० रुपैयाँसम्म बिक्री भइरहेको वाग्मती नगरपालिका–६ का किसान नागेश्वर महतोले बताए । उलने यस वर्ष बढी वर्षा भएकाले तरुलको उत्पादनमा कमी आएको जानकारी दिए । ‘यस वर्ष तरुलको मूल्य राम्रो छ, माघी पर्व जति नजिकियो त्यति मूल्य राम्रो पाउने हो,’ उनले भने, ‘यस वर्ष अत्यधिक वर्षा भएकाले उत्पादन अलि कम भएको छ, तर पनि अरू बालीभन्दा यसमा किसानलाई फाइदा नै छ ।’

व्यापारी आफैंले खनेर लाने तरुलको मूल्य भने प्रतिकट्ठा २५ हजारमा बिक्री गरेको सोल्टीका किसान जंगबहादुर महतोले बताए । उनले ज्याला मजदुर पाउन मुस्किल परेपछि व्यापारीलाई नै बिक्री गरेको बताए । महतोले १३ कट्ठामा लगाएको तरुलमध्ये १० कट्ठाको तरुल व्यापारीलाई २ लाख ५० हजारमा बिक्री गरेको सुनाए । उनले बाँकी रहेको ३ कट्ठाको तरुल बीउका लागि जोगाएर राखेको जानकारी दिए ।

महतोले दुई दशक अघिसम्म नेपालमा धेरैजसो तरुल भारतबाट आउने गरेको देखेपछि व्यावसायिक खेती थालेको बताए । ‘दुई दशक अघिसम्म काठमाडौंको कालीमाटी तरकारी बजारमा भारतबाट तरुल आउने गरेको थियो, त्यो देखेर भारतीय बजार हामी किसानले विस्थापन गर्नुपर्छ भनेर सोच बन्यो,’ उनले भने, ‘यसले किसानलाई पनि टेवा पुग्यो ।’ महतोका अनुसार सर्लाहीको रातो तरुल मुलुकभरि प्रख्यात छ । उनले सर्लाहीको तरुलका लागि बजारमा कहिल्यै समस्या नभएको सुनाए ।

स्थानीय व्यापारी शम्भु महतोले रातो तरुलको माग बढेपछि किसानलाई राम्रै मूल्य तिरेर खरिद गरिरहेको बताए । उनले बजार सुनिश्चित भएपछि मूल्य खासै समस्या नरहेको जानकारी दिए ।

‘रातो तरुलको माग बढिरहेको छ, यो अन्य तरुलभन्दा महँगो हुन्छ,’ उनले भने, ‘सर्लाहीमा पाउने अधिकांश तरुल रातो रहेकाले किसानले पनि राम्रै मूल्य पाइरहेका छन् ।’ जमिनमुनि फल्ने तरुलले बढी मूल्य पाउँछ भने जमिनभन्दा बाहिर फल्ने तरुलले कम मूल्य पाउने गरेको महतोले बताए । एक बिघाभन्दा बढी तरुल खेती गर्ने किसानले भने आफैं ट्रकमा हालेर काठमाडौं पुर्‍याइरहेका छन् ।

फागुनदेखि जेठसम्म रोपिने तरुल पुसदेखि फागुनसम्म खन्ने गरिन्छ । सर्लाहीमा २०० हेक्टरभन्दा बढी क्षेत्रफलमा झन्डै १२ हजार मेट्रिक टन तरुल उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्र मलंगवाले जनाएको छ ।

प्रकाशित : पुस २७, २०७८ १२:५९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×