तरलता अभावको समस्या समाधन गर्न माग

अमृता अनमोल

बुटवल — बैंकिङ क्षेत्रमा देखिएको तरलता अभावको समस्या तत्काल समाधन गर्न रुपन्देहीका व्यवसायीहरुले आग्रह गरेका छन् । कोभिड–१९ को महामारीबाट थला परेको अर्थतन्त्र उठ्दै गरेका बेला तरलता अभावले अर्को समस्या देखिएको वक्ताहरुले बताएका छन् ।

तरलता अभावको समस्या समाधन गर्न माग

सोमबार बुटवलमा आयोजित रुपन्देही व्यापार संघको २० औं साधारण सभा तथा ११ औं अधिवेशनमा बोल्ने वक्ताहरुले बैंकिङ क्षेत्रको तरलताले उद्योग व्यवसायको गतिविधि बढाउन, सामान आयात गर्न र रोजगारी बढाउन नसकेको उनीहरुले दुखेसो पोखे ।

नेपाल चेम्बर अफ कमर्स लुम्बिनीका अध्यक्ष टंकप्रसाद पोखरेलले दलहरु राजनीतक खिचातानीमा लाग्दा सरकारी खर्च कम भएकोले बजारमा तरलता अभाव देखिएको भन्दै अब सरकारी खर्च गर्न ढिलाइ नगर्न आग्रह गरे । ‘तरलता अभावले नीजी क्षेत्रलाई हातखुट्टा बाँधेजस्तै भएको छ,’ उनले भने, ‘ तिनै तहका सरकार अब हेरेर मात्रै बस्न भएन । बजेट खर्चन र समस्या समाधानमा लाग्नुपर्यो ।’

व्यवसायीहरुले स्वदेशी बजार र व्यवसाय बढाउन सिमा क्षेत्रबाट विना भन्सारका सामान भित्रन र सिमापारी व्यापार गर्न जाने उपभोक्तालाई रोक्न पनि सरकासँग आग्रह गरे । बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्वलकुमार कसजुले सिमामा कडाइ नहुदा पछिले समय सिमावर्ती क्षेत्रको व्यापार ठप्प हुने अवस्थामा पुगेको जनाए । ‘हामीसंग सरकारले पेलेर कर लिएको छ । तर घरखर्चका नाममा सिमाबाट जतिसुकै सामान ल्याउन दिएको छ । यसलाई रोक्नुपर्छ,’ उनले भने ।

रुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहनीले स्वदेशी वस्तुको मूल्य निर्धारणदेखि व्यापारमा सरकारले लचकता देखाउनु पर्ने बताए ।

संघले साधारण सभा तथा अधिवेशनको अवसरमा उत्कृष्ट व्यापारिक पत्रकारिता पुरस्कारबाट बुटवलका रामप्रसाद आचार्यलाई पुरस्कृत गरेको छ । उनले नगद २५ हजार र प्रमाणपत्र पाए । यस्तै, स्वास्थ्य क्षेत्रबाट योगदान गरेको भन्दै लुम्बिनी प्रादेशिक अस्पतालका डा. नन्दु पाठक, शिक्षा क्षेत्रबाट खेमराज पुन र पर्यटन प्रवद्धनमा माधव नेपाललाई सम्मान गरेको थियो ।

प्रकाशित : पुस १९, २०७८ १९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?