चिसो र हुस्सुले रूपन्देहीको जनजीवन कष्टकर

सन्जु पौडेल

तिलोत्तमा — पछिल्लो केही दिनयता रूपन्देहीमा चिसो बढ्दैगएको छ । चिसो र बाक्लो हुस्सुले जिल्लाको जनजीवन कष्टकर बनेको छ । सडकमा पनि यातायताका साधान न्यून संख्यामा गुडेका छन् ।

चिसो र हुस्सुले रूपन्देहीको जनजीवन कष्टकर

चिसोका कारण अत्यावश्यक काम बाहेक मानिसहरू घर बाहिर निस्किएका छैनन् । बजार, सार्वजनिक स्थल, सरकारी कार्यालय लगायतमा मान्छेहरूको चहलपहल न्यून रहेको छ ।

चिसोका कारण बालबालिका, महिला तथा वृद्धवृद्धा बढी प्रभावित भएका छन् । कतिपय स्थानमा सर्वसाधारणहरू आगो बालेर चिसो भगाउने प्रयास गरिरहेका देखिन्छन् ।

स्कुले बालबालिकालाई समस्या हुने भन्दै उनीहरूको स्वास्थ्यलाई ध्यानमा राखेर स्थानीय सरकारले विद्यालय बन्द गर्न निर्देशन दिएको छ । वर्षासँगै चिसो बढेको भन्दै बुटवल उपमहानगरपालिकाले गत बिहीबार र शुक्रबार दुई दिन उपमहानगरभित्रका विद्यालय बन्द गर्न निर्देशन दिएको थियो ।

विद्यालयले बर्खे र हिउँदे बिदाबाट मिलान गर्ने गरी पुस १५ र १६ गते बिदा दिएको थियो । त्यस्तै, चिसो बढेपछि रोहिणी गाउँपालिकाले पनि आइतबार र सोमबार दुई दिन विद्यालय बिदा दिन निर्देशन दिएको छ ।

सोमबारपछि पनि मौसममा सुधार नदेखिएर बिदा लम्ब्याउने विषयमा गाउँपालिकाले थप निर्णय गर्ने गरी दुई दिन विद्यालय बिदा दिइएको प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेले जानकारी दिए ।

बाक्लो हुस्सुका कारण घाम नदेखिएपछि भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान पनि प्रभवित भएका छन् । यहाँदेखि काठमाडौं, पोखरा र चितवन गरी दैनिक २७ वटासम्म उडान हुने गरेका छन् ।

जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूवार्नुमान महाशाखाका अनुसार आइतबार रूपन्देहीको न्यूनतम तापक्रम ११.२ डिग्री सेल्सियस रहेको छ भने अधिकतम तापक्रम १७. ९ डिग्री सेल्सियस रहेको थियो ।

प्रकाशित : पुस १८, २०७८ २०:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?