पश्चिम नवलपरासीमा १७ दिनमा १०२ जना फरार अपराधी पक्राउ

नवीन पौडेल

परासी — जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले १७ दिनमा १०२ जना फरार अपराधी पक्राउ गरेको छ । फरार अपराधी पक्राउ गर्ने मिसन नै बनाएर प्रहरी परिचालन भएपछि २७ देखि २ वर्षसम्म फरार रहेका अपराधी पक्राउ गरिएको हो । पक्राउ परेकाहरु अदालतबाट सजाय तोकिएपछि फरार थिए । 

पश्चिम नवलपरासीमा १७ दिनमा १०२ जना फरार अपराधी पक्राउ

यसैगरी पश्चिम नवलपरासी प्रहरीले ६ महिनाको अवधिमा ५ करोड १८ लाख रुपैयाँ बराबरको राजस्व दाखिला गरेको छ । जिल्ला प्रहरी कार्यालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक मनोजकुमार यादवले सबैभन्दा बढी भारतबाट अवैध रुपमा भित्र्याइएका समान र भारततर्फ तस्करी गरिने मटर बरामद गरेबापत ४ करोड ७० लाख रुपैयाँ बराबरको राजस्व दाखिला गरेको बताए ।

त्यस्तै अवैध नदीजन्य पदार्थ उत्खनन् कारबाहीबापत ६ लाख ९८ हजार रुपैयाँ राजस्व संकलन भएको छ । प्रहरीले उक्त कार्यमा संलग्न २ वटा जेसीबी र ३९ वटा ट्र्याक्टर कारबाहीका लागि सम्बन्धित स्थानीय तहमा बुझाएको थियो । यसैगरी अवैध वन पैदावर ढुवानीको क्रममा ५ लाख ५५ हजार बराबरको राजस्व संकलन भएको छ ।

प्रहरीले असार १३ देखि हालसम्म ३५ लाख ९० हजार स्रोत नखुलेको रकम बरामद गरेको जनाएको छ । रकमसहित पक्राउ परेका ४ जनालाई कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइएको छ ।

प्रहरीले ६ महिनाको अवधिमा १४ वटा मुद्दा दर्ता गरेको छ भने २९ जनालाई पक्राउ गरेको छ । तीमध्ये २७ जना नेपाली र दुई जना भारतीय नागरिक छन् । उनीहरुको साथबाट प्रहरीले ६ महिनाको अवधिमा १० किलो चरेश, २०० ग्राम गााजा, ४ सय ७० ग्राम ब्राउन सुगर, ६ सय २७ एम्पुल डाईजेपाम, फेनरागन ६ सय ३८ एम्पुल, नाईट्राभेट १२ सय ५३ ट्याब्लेट, स्पास्मो ७ सय २८ ट्याब्लेट, कोरेक्स ११ बोतल, ओनरक्स ५ बोतल र अल्फाजोल ८ बोतल बरामद गरेको जनाएको छ ।

प्रकाशित : पुस १५, २०७८ १७:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?