कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हुलाकी सडक निर्माणले चहलपहल

बजार विस्तार भएपछि प्रतिधुर २ लाखदेखि १० लाख रूपैयाँसम्म बिक्री

बर्दिया — १० वर्षअघि हुलाकी राजमार्ग आसपासका जग्गा १ देखि २ लाख रुपैयाँ प्रतिकट्ठामा बिक्री हुन्थे । अहिले ३० लाखदेखि १ करोड रुपैयाँ प्रतिकट्ठा पुगेको छ । सडकसित जोडिएका खेत अहिले घडेरीका रूपमा बिक्री भइरहेका छन् । पाँच वर्षयता सडक निर्माणले गति लिएपछि जग्गाको भाउ अकासिएको हो । ग्रामीण क्षेत्र बजार बन्न थालेका छन् ।

हुलाकी सडक निर्माणले फुसका घर पक्की बनाउने होड छ । गुलरिया, राजापुर र भुरीगाउँमा तीव्र गतिमा घर निर्माण भइरहेका छन् । यामाहा, बजाजलगायत मोटरसाइकलका सोरुम खुलेका छन् । हुलाकी राजमार्गसँग ग्रामीण सडक जोडिएपछि सवारी साधनको बिक्री बढेको यामाहाका आधिकारिक बिक्रेता सुरेन्द्र गौतमले बताए । उत्तर–दक्षिण जोड्ने हुलाकी सडक निर्माण भइरहेकाले सदरमुकाम आउजाउ निकै छोटिएको उनले बताए । साना उद्योग खुल्ने क्रमसँगै ठूला उद्योगीले पनि जग्गा खोज्दै उद्योग खोल्ने तयारीमा रहेको गुलरिया नगरपालिकाका प्रमुख मुक्तिनाथ यादवले बताए ।

मधुवन नगरपालिकास्थित बेलवा चोक हुलाकी सडक निर्माणपछि फेरिएको स्थानीय राजेन्द्र थारुले बताए । केही वर्षअघिसम्म झाडी भएको ठाउँमा अहिले बजार विस्तार भएको छ । हुलाकी सडक कालोपत्र नहुँदासम्म कसैले त्यहाँ जग्गा किन्न चाहँदैनथे । अहिले यहाँको जग्गा किन्न प्रतिस्पर्धा नै चलेको स्थानीय रमेश खत्रीले बताए । नेपालगन्जदेखि राजापुर र भुरीगाउँ जोड्ने मैनापोखर, शीतलाबजार र गणेशपुर बजार पनि फेरिएको छ । गाउँ र बजार सहरीकरण भएका छन् । हुलाकी सडक निर्माणपछि उल्लेख्य मात्रामा विकास भएको गणेशपुरका चेतराम अहिरले बताए । ‘खेती मात्र हुने जग्गामा अहिले बजार विस्तार भएपछि प्रतिधुर २ लाखदेखि १० लाख रुपैयाँसम्म पुगेको छ,’ उनले भने, ‘यति मात्र होइन, हुलाकी सडक विस्तारपछि सयौं मानिस व्यवसाय गरेर आत्मनिर्भर बनेका छन् ।’

२०६७/०६८ देखि सुरु भएको हुलाकी सडक निर्माणको काम अहिले पूरा भएको हुलाकी आयोजना प्रमुख गगल भण्डारीले बताए । सडक निर्माणले जिल्लामा परिवर्तन आएको उनले जनाए । सुरजपुरदेखि भुरीगाउँ र बेलवादेखि राजापुर जोड्ने सडक ६२ किमि लामो छ । करिब १ अर्ब रुपैयाँ लागतमा उक्त हुलाकी सडक निर्माण भएको आयोजनाले जनाएको छ ।

प्रकाशित : पुस १४, २०७८ १०:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?